१३ चैत्र २०८१ बुधबार
image/svg+xml १५:२९ अपराह्न
अर्थ

चीनमा पोखरा प्रर्वद्धन, चिनियाँ पाहुना बढ्ने अपेक्षा

‘योगा र हाईकिङ’ पर्यटनमा चिनियाँ चाँसो

चीनको छोङसिङ सहरमा पोखरा प्रर्वद्धनका क्रममा नेपाली संस्कृति पस्कँदै । तस्बिरः नागरिक

यतिबेला पोखराका पर्यटन व्यावसायी चीनका विभिन्न सहरमा पर्यटन प्रर्वद्धनात्मक अभियानमा व्यस्त छन्। चीनका विभिन्न सहरमा पोखरा प्रर्वद्धन गरिरहेका व्यवासायीले यो प्रर्वद्धनले आगामि दिनमा पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छन्। पोखरादेखि चीनको छेन्दुसम्मको व्यावसायिक चार्टर उडानको निरन्तरता दिन सकेमा पर्यटन क्षेत्रमा चिनियाँ पाहुनाको हिस्सा थपिने उनीहरुको भनाई छ।  

पर्यटन बोर्डका पोखरा प्रमुख मणिराज लामिछानेका अनुसार यो पटक चीनको छेन्दु र छोङसिङ सहरमा पोखराको प्रर्वद्धनात्मक अभियान चलाइएको छ। बेइजिङ, संघाई लगायतका ठुला सहरमा यसअघि पनि बारम्बार प्रर्वद्धनात्मक अभियान चलाएको भएपनि छेन्दु र छोङसिङमा भने पहिलो पटक व्यावसायिक भेटघाट आयोजना गरिएको उनले बताए। पर्यटन बोर्ड र निजी क्षेत्रले यसअघि चीनका विभिन्न सहरमा नेपाल प्रर्वद्धन गरेको भएपनि पोखराले मात्र छेन्दुमा भने पहिलो पटक प्रर्वद्धन गरेको उनले बताए।  

‘पहिलोपटक छेन्दु र छोङसिङमा पहिलोपटक प्रर्वद्धनात्मक अभियान चलाइएको हो। यसले पोखरामा चिनियाँ पर्यटकको आगमन बढाउने अपेक्षा गरिएको छ,’ लामिछानेले भने, ‘चिनियाँ पाहुनाका लागि प्रर्वद्धनको खाँचो जरुरी छ। यसअघि पनि यस्तै प्रर्वद्धन अभियान संचालन भएपनि छेन्दु र छोङसिङमा भएको थिएन। पोखराले यो पटक चीनभित्रै नयाँ गन्तव्यमा प्रर्वद्धन गर्ने अवसर पाएको छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुसम्म व्यावसायिक चार्टर उडान भएको र अझै केही उडान पक्का भएकोले पोखरामा पर्यटक आगमन बढ्न सघाउने उनले बताए। ‘बढी भन्दा बढी चिनियाँ पाहुनाले बल्ल पोखरालाई चिन्ने मौका पाएका छन्। पोखरा क्षेत्र र घुमघामका गन्तव्यबारे पनि उनीहरुले बुझ्ने मौका पाएका छन,’ चिनियाँ र पोखराका पर्यटन व्यावसायीबीचको भेटको प्रभावबारे लामिछानेले भने, ‘कतिपय चिनियाँ पर्यटन व्यावसायीका लागि पोखरा र सिंगो नेपाल नै नयाँ गन्तव्य पनि बनेको छ।’

लामिछानेका अनुसार छेन्दु र छोङसिङ सहरमा गरिएको प्रवद्र्धन अभियानका क्रममा त्यहाँका पर्यटन व्यावसायीको उत्साहजनक सहभागिता थियो। चिनियाँ र पोखरेली पर्यटन व्यावसायीबीचको भेटघाटको क्रममा पोखरेली व्यावसायीले पोखरा घुमफिरको प्याकेज पनि चिनियाँ पाहुनाका लागि पस्केका थिए।  

चीन सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाईरहेको छ। चीनमा नेपाल भ्रमण वर्ष मनाउँदै चिनियाँ सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गरेको र त्यही क्रममा योपटक पोखराले पनि प्रर्वद्धन गर्न पाउँदा चिनियँँ पाहुनाको आगमनमा सुधार हुने अनुमान रहेको उनले बताए।  

पोखरा महानगरपालिकाद्वारा घोषित पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोगक गोपि भट्टराईले पोखराका एकसय भन्दा बढी पर्यटन व्यावसायी यो बेला चीनको छेन्दु र आसपासका सहरमा प्रर्वद्धन अभियान संचालन गरिरहँदा त्यसको प्रभावस्वरुप आगामि दिनमा चिनियाँ पाहुना आगमनमा सुधार हुने अपेक्षा रहेको बताउँछन। भट्टराई स्वयं पनि चीनको यो प्रवद्र्धन अभियानमा सहभागि छन।  

‘छेन्दुको मात्र जनसंख्या ३ करोड भन्दा बढी रहेछ। चीनको सिचुवान प्रान्तको जनसंख्या नै नौ करोड भन्दा बढी भएकोले पोखरामा चिनियाँ पाहुना भित्र्याउन सकिने आधार देखेका छौं,’ उनले भने, ‘त्यहाँका पर्यटक पोखरामा भित्र्याउन सफल हुँदा त्यसले पोखरालाई मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रमा राहत मिल्नेछ।’ 

उनका अनुसार छेन्दुलाई ट्रान्जिट बनाएर अरु मुलुकका पर्यटक पनि आउजाउ गर्न सक्ने भएकोले नेपालको पर्यटन क्षेत्रलाई यो प्रवद्र्धनले थप बलियो बनाउने उनको अपेक्षा छ।  

भट्टराईका अनुसार अहिले पनि व्यापारिक हिसाबले छेन्दुबाट काठमाडौंसम्म हवाई उडान भईरहेको छ। ती उडान हुँदै चिनियाँ पाहुना नेपाल आउने गरेका छन। त्यसबाहेक छेन्दुलाई ट्रान्जिट बनाएर अस्ट्रेलिया, अमेरिका, हङकङ, जापान लगायतका मुलुकबाट पनि पर्यटक नेपाल भित्रिने गरेका छन। ‘छेन्दुलाई ट्रान्जिट बनाएर विभिन्न मुलुकका पर्यटकलाई सहजै नेपालसम्मको आउजाउको बाटो रहेकोले छेन्दुसँग नेपालको हवाई सम्बन्ध बिस्तारले पर्यटनमा राहत मिल्छ,’ उनले भने, ‘यो प्रवद्र्धनले चिनियाँ मात्र नभई अन्य मुलुकका पाहुना भित्र्याउन पनि साथ मिल्नेछ।’  

उनका अनुसार प्रर्वद्धन अभियानमा भेटिएका चिनियाँ पर्यटन व्यावसायीका अनुसार छेन्दु–पोखराको यो चार्टर उडान बाहेक सेड्यूअल उडान भएमा थप संख्यामा पाहुना भित्रिनेछन। ‘कतिपयले त पोखराबारेमा बल्ल थाहा पाए। पोखराको कुरा सुन्दा त्यहाँका व्यावसायीहरु पाहुनालाई पोखरा पठाउन आतुर छन्,’ उनले भने। उनका अनुसार चिनियाँ पाहुनाको चाँसो यो बेला योगा र मेडिटेसनमा देखिएको छ। त्यसबाहेक हाइकिङ, वन्यजन्तु अवलोकन पनि उनीहरुको प्राथमिकतामा थियो। यतिसम्मका सिचुवान प्रान्तले त्यहाँका पाको उमेरका र कम आम्दानी भएका पर्यटकलाई विभिन्न प्याकेज बनाएर नेपालमा घुम्न पठाउनेसम्मको योजना बनाउने तयारी गरेका छन।  

‘चीनको छेन्दुसँगको यो सहकार्यले पोखरालाई बढीभन्दा बढी लाभ मिल्नेछ। छेन्दु–पोखरा सिधा हवाई उडानले दूरीलाई नजिक पनि बनाएको छ,’ उनले भने, ‘अहिले व्यावसायिक चार्टर उडानमा मात्र सीमित भएपनि आगामि दिनमा नियमित र सेड्यूअल उडान हुने योजना पनि हवाई कम्पनिले बनाएका छन्।’ यो फेब्र्रुअरीमा नेपालमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। गत जनवरीमा नेपाल भित्रिएका चिनियाँको संख्या ८ हजार १ सय ९१ थियो। छेन्दु र आसपासका क्षेत्रमा गरिएको यो प्रर्वद्धनमार्फत पोखराको पहिचान अझ फराकिलो बनेको पनि भट्टराईले बताए।  

प्रकाशित: १० चैत्र २०८१ १८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App