न्युजिल्यान्डले पाकिस्तानविरुद्धको पाँच खेलको टी-२० क्रिकेट शृंखला ४-१ ले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा बुधबार ८ विकेटको जित निकाल्दै घरेलु टोलीले शृंखला आफ्नो पक्षमा पारेको हो ।
पाकिस्तानले दिएको १२९ रनको मध्यम लक्ष्य न्युजिल्यान्डले मात्र १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा टिम सेफर्टले मात्र ३८ बलमा १० छक्का र ६ चौकाको मद्दतमा नटआउट ९७ रन बनाए । फिन एलनले २७ रनको योगदान गरे ।
पाकिस्तानका लागि दुवै विकेट सुफियन मुकिमले लिए । यसअघि विलिङटनमा पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२८ रनको मध्ययम योगफल तयार पारेको थियो । पाकिस्तानका लागि क्याप्टेन सल्मान आघाले ५१, सदाब खानले २८ र मोहमद हेरिसले ११ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
किविज टोलीका लागि जेम्स निसामले ५ विकेट लिए । आफ्नो स्पेलमा मात्र २२ रन खर्चेर उनले ५ विकेट आफ्नो नाम लेखाएका हुन्। जाकोब डुफीको नाममा २ विकेट रह्यो ।
न्युजिल्यान्डले पहिलो खेल ९ विकेटले, दोस्रो ५ विकेटले र चौथो ११५ रनले जितेको थियो । तेस्रो खेलमा भने पाकिस्तान ९ विकेटले विजयी भएको थियो ।
पाकिस्तानले अब तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । पहिलो खेल शनिबार हुनेछ ।
प्रकाशित: १३ चैत्र २०८१ १५:२३ बुधबार