१४ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

‘बैंकिङ क्षेत्र धेरै चिन्ताजनक छैन’

<br>

नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने अवस्थामा नरहेको वित्तीय क्षेत्रका जानकारले बताएका छन्। पोखरामा चलिरहेको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर?’ सत्रको कुराकानीमा नेपालको बैंकिङ क्षेत्रको अवस्था चिन्ता लिनुपर्ने नरहेको जानकारहरूको भनाइ छ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बैंकको अवस्था बजारमा सुनिएजस्तो गम्भीर नरहेको बताए। ‘बैंकको अवस्था सिटामोलसम्म दिन परेको अवस्था हो, त्यहाँभन्दा माथि जान भने परेको छैन। सडकमा सुनिएजस्तो बैंकको अवस्था नराम्रो होइन,’ उनले थपे, ‘हाम्रो बैंकिङ प्रणाली बलियो छ किनभने केन्द्रीय बैंकको मनिटरिङ र बैंकभित्रको जुन किसिमको बलियो नीति, रणनीति र आवश्यकता अनुसारको काम भइरहेको छ त्यसले डराउनुपर्ने अवस्था आइसकेको छैन।’

अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ‘ग्रे लिष्ट’ ले बैंक र व्यवसायीलाई असर गर्ने सम्भावना रहेको भने उनले औंल्याए। ‘हामीले आयात–निर्यात गर्ने क्रममा विभिन्न देशका बैंक, व्यावसायिक घरानासँग कारोबार गर्छौ, ग्रे लिष्टमा परेका कारण हेर्ने नजर फरक हुन सक्छ,’ शेरचनले थपे, ‘त्यसबापत थप शुल्क लगाउन सक्ने सम्भावना छ। कतिपय देशले हामीलाई पन्छाउने सम्भावना छ। कति देशले आउने जाने कुरा हो भन्न सक्छन्।’

नेपालले ग्रे लिष्टमा पर्दा आइपर्ने असर हेरेर त्यसलाई समाधान गर्न अहिल्यै लाग्नुपर्ने उनले बताए। ‘हाम्रो ग्रे लिष्टबाट बाहिर निस्कन गरिरहेको प्रगति हेर्ने हुनाले ठूलो असर नपर्ने पनि हुनसक्छ तर यसले केही न केही व्यवसाय, बैंक, अनुदान र सहयोगमा असर पर्न सक्छ भनेर पूर्व तयारी गर्नुपर्छ,’ शेरचनले भने।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले लगानीयोग्य पैसा थुप्रनु र खराब कर्जा बढ्नु बैंकिङ क्षेत्रको वर्तमान चुनौती रहेको सुनाए। नीति नियम वा रणनीति बनाएर सदुपयोग गर्न सके लगानीयोग्य पैसा थुप्रिएको विषयलाई सकारात्मक ढंगले नै लिनुपर्ने उनको भनाइ थियो।

‘अहिलेको समयमा आठसय अर्ब रूपैयाँ लगानीयोग्य पैसा बैंकसँग छ । यसलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ, जिडिपीमा योगदान गर्ने क्षेत्र पहिचान गरेर कसरी व्यवसायीलाई लगानी गर्न सकिन्छ भन्ने चुनौती छ,’ उनले भने।

खराब कर्जा ५ प्रतिशतभन्दा बढी नरहेकाले धराशायी नभएको सिइओ गुरुङले जिकिर गरे। खराब कर्जा बर्सेनि बढ्दै गएकाले त्यसलाई सुधार गर्न आवश्यक भने रहेको उनको भनाइ थियो। ‘५ प्रतिशत तलको खराब कर्जा मान्य नै देखिन्छ। बैंकिङ उद्योग अहिले ५ प्रतिशतभन्दा तल छ,’ सिइओ गुरुङले भने, ‘३/४ वर्षअघि १.५ देखि बढ्दै गएर साढे ४ प्रतिशत पुगेको छ। आजको चुनौती भनेको खराब कर्जा कसरी घटाउने भन्ने हो।’

बजारमा हल्ला भएजस्तो नेपालको वित्तीय अवस्था नरहेको जिकिर पनि उनले गरे। सामाजिक धारणा र सामाजिक सञ्जालमा बनाइने धारणाले केही असर परेको तर समग्रमा सकारात्मक रहेको उनको भनाइ थियो।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले कर्जा प्रवाह बढाउन लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए। ‘उत्पादन भइसकेपछि त्यसलाई बजारसम्म लैजान सक्ने संयन्त्रको विकास भएको छैन। किसानले उत्पादन गर्नुपर्ने, किसानले नै बिक्री गर्नुपर्ने अनि घाटा पनि किसानले खेप्नुपर्ने भएको छ,’ पौडेलले भने, ‘राज्यबाट प्रत्याभूतिको वातावरण गर्न सक्यौं कि सकेनौं भन्ने कुरा पनि छ।’

कर्जा लिएपछि तिर्नुपर्दैन भन्ने भाष्य बनाउने र बैंक कर्मचारीलाई अभद्र व्यवहार गर्नु अर्थतन्त्रका लागि राम्रो नभएको पौडेलको भनाइ थियो।

नेपाली व्यावसायिक क्षेत्रमा लगानी नहुनुको एउटा कारण खुला सीमाना पनि रहेको उनले औंल्याए। ‘खुला सीमा छ, आयात निर्वाध गर्न सक्छौं। छिमेकी देशमा जुन अनुदान दिएर किसान र उत्पादन क्षेत्रलाई न्यून लागतमा उत्पादित वस्तु बजार आउँछ,’ उनले थपे, ‘यहाँ चर्को मूल्यमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न सके कि सकेनन् भन्ने लेखाजोखा गर्न आवश्यक छ।’ अर्थतन्त्रका सबै पक्ष मिले मात्र उत्पादन, वितरण र बजारीकरण, आयात, निर्यातलाई व्यवस्थित गर्न सकिने पौडेलले बताए।

छलफलमा गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले वित्तीय सेवा अपांगमैत्री हुन नसकेको गुनासो गरिन्। अपांगता भएकाहरूले मोबाइल बैंकिङको प्रयोग गर्न नपाएको उनले बताइन् । कार्यकारी निर्देशक पौडेलले वित्तीय सेवा प्रविधिमैत्री हुने क्रममा रहेको जवाफ दिए।

आफूहरूले देशभरका पाँच हजार एक सय एटिएम मेसिन र बैंकिङ सेवा अपांगमैत्री बनाउन परिपत्र गरेको उनले जानकारी दिए। ‘अबका पूर्वाधार अपांगतामैत्री बनाउन भनेका छौं। सुविधाबाट बञ्चित गराएको भनेर नलिनुहोला,’ पौडेलले थपे।

प्रकाशित: १९ फाल्गुन २०८१ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App