११ वैशाख २०८२ बिहीबार
image/svg+xml १६:१३ अपराह्न
अर्थ

सुनकोसी मरिण डाइभर्सन आयोजनाको बाध निर्माण सुस्त

४२ प्रतिशत समय सकियो, ७ प्रतिशत मात्रै भौतिक प्रगति

सिन्धुलीको सुनकोसी गाउँपालिका ७ स्थित सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माण स्थल । तस्बिर: अनिल भण्डारी/ नागरिक

सुनकोसी मरिण डाइभर्सन आयोजनाको ड्याम निर्माण कार्य निकै सुस्त भएको छ । ठेक्का लागेर निर्माणको समय ४२ प्रतिशत बढी बितिसक्दा पनि दश प्रतिशत पनि काम भएको छैन।

गत असोजमा आएको बाढीले क्षति गरेको भन्दै निर्माण कम्पनीले निर्माणको कार्यलाई अगाडी बढाउन सकेको छैन । बाढीको कारण देखाउँदै आयोजनाले प्रगति गर्न नसकिएको जनाएको छ । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको सुरुङ निर्माण तर्फको कार्य अन्तिम चरणमा भएपनि  सुनकोसी नदीमा बाँध निर्माण कार्य निकै सुस्त गतिमा भएको छ ।

चार बर्ष सात महिनामा सक्ने लक्ष्य सहित  पटेल–रमण जेभीले सुनकोसी नदीमा बाँध निर्माण कार्य गर्न २०७९ साल माघ ११ गते ठेक्का सम्झौता गरी २०८४ साल साउन १६ गते काम सम्पन्न गर्ने गरी निर्माणको काम अघि बढाएको भएपनि हालसम्म  करिब सात प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निमित्त निर्देशक बद्रि कार्कीका अनुसार ठेक्का सम्झौताको ४२ प्रतिशत समय पुरा भइसकेको छ । यो अवधिसम्म करिब ३० देखि ३५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने भएपनि हालसम्म ७ प्रतिशत मात्रै काम भएको छ । हालसम्म भएको काम पनि अस्थायी संरचना बनाइएको र स्थायी संरचनाको काम सुचारु नै नभएको आयोजनाले जनाएको छ । 

पटेल–रमण जेभीले बाध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको छ । जेभीमा ठेक्का भएपनि हाल निर्माण स्थलमा रमण कन्ट्रक्सनले मात्रै काम गरिरहेको स्थानीयले जनाएका छन् ।  सुनकोसी नदीमा करिब ३० मिटर अग्लो र एक सय ५८ मिटर लामो बाँध निर्माण गरी त्यहाँबाट १३ दशमलव तीन किलो मिटर लम्बाइको सुरुङमार्फत कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा सुनकोसीको पानी खसाल्ने सरकारको लक्ष्य अनुसार ठेक्का सम्झौता भएको हो । सुरुङमार्फत ६६ दशमलव २९ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिने छ ।

गत असोजमा आएको बाढी पछि केही प्रगति भएको छैन, त्यही सरसफाइको काम मात्रै भइरहेको छ, आयोजनाका निमित्त निर्देशक कार्कीले नागरिकसँग भने, सुनकोसी नदीमा बाँध निर्माणको स्थायी संरचनाको काम अहिलेसम्म सुरु नै भएको छैन । सकिएको सात प्रतिशत कार्य प्रगति पनि अस्थायी नै हो ।सुनकोसी नदीको पानी मरिण खोलामा खसाल्न १३ दशमलव तीन किलो मिटर लामो सुरुङ चाइना ओभरसिज इन्जिनियर कम्पनी कोभेकले निर्माण सम्पन्न गरी ‘ब्रेक थ्र’ भई ९७ प्रतिशत कार्य प्रगति भइसकेको छ ।

यता बाध निर्माणको जिम्मा लिएको रमण कन्ट्रक्सनले भने बाढीका कारण कम्पनीमा ठुलो क्षति भएकाले प्रगति गर्न नसकिएको जनाएको छ । रमण कन्ट्रक्सनका डाइरेन्टर पवन महतोले बाढीले कबर ड्याम जोगिए पनि भौतिक संरचना क्रसर,प्लान्ट गिट्टी बालुवा जेनेरेटर बाढीले बगाएकाले शून्यबाटै काम गर्नुपर्ने अवस्था रहेकाले ढिलाइ भएको बताए । ४२ प्रतिशत समय सकिदा जति काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन, उनले भने करिब ९ प्रतिशत काम गरेका छौ अरु थप प्रगति भएको छैन ।

सुनकोसी मरिण डाइभर्सन आयोजना अन्तर्गत पहिलो चरणको काम सुरुङ निर्माण रहेको र उक्त सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने इन्टेक लगायतका संरचना निर्माण रहेको छ । जसमा बाध निर्माण नै सुस्त गतिमा भएपनि तोकिएको समयमा निर्माण सम्पन्न हुनेमा स्थानीय ढुक्क छैनन् । तेस्रो चरणको काम विद्युत् उत्पादन गर्नुपर्ने संरचना बनाउनु पर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत् सर्लाहीको नवलपुर पु¥याएर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाले लक्ष्य राखेको छ । यी सबै काम गर्नका लागि  आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपैयाँ रहेकोमा पछि लागत बढेर  ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजनाले जनाएको छ ।

सुनकोसी गाउँपालिका वडा नम्बर ७ को कानढुङग्री भन्ने स्थानमा निर्माण धिन रहेको बाध निर्माण सम्पन्न भएपछि सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने र  विद्युत् उत्पादनसँगै मरिण नदी हुँदै बागमती नदीमा सुनकोसीको पानी पु¥याई  बारा, पर्सा रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने सरकारले मुख्य उद्देश्य राखी आर्थिक वर्ष ०७७–०७८ बाट आयोजनाको निर्माण सुरु गरी  ०८४–०८५ सम्ममा सक्ने लक्ष्य राखेको छ । 

प्रकाशित: १४ फाल्गुन २०८१ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App