३० पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

बाँझो जमिनमा हराभरा बेमौसमी मकै

गुलाम रसुल कबडियाले नेपालगन्ज–१५, जयसपुरमा गरेको व्यावसायिक बेमौसमी मकै खेती । तस्बिरः गणेश विशु/नागरिक

आजभन्दा झन्डै ५÷७ वर्ष पहिला नेपालगन्ज–१६, जयसपुरस्थित गुलाम रसुल कबडियाको जग्गा बाँझोअर्थात् खाली थियो । उनको मात्र होइन, यहाँ अन्य व्यक्तिको जग्गा पनि बाँझो थियो । जो गाउँकै गाईबस्तु चरिचरण गर्ने ठाउँ थियो । तर, अहिले यी जमिन उस्तै सुख्खा र खडेरी परेका छैनन् । गाईबस्तु चरिचरण गर्ने यी खेत अहिले हरिया छन् । यहाँका किसानले तरकारी खेती तथा अन्य बाली लगाएर उब्जनी गर्ने थालेका छन् ।

यसबाट उनीहरुलाई मनग्ये आम्दानीसमेत हुने गरेको छ । ५ वर्ष अघिको बाँझो खेत सम्झँदै कबडिया भन्छन्, ‘त्यतिबेला तरकारी तथा अन्य बाली लगाउनुपर्छ भन्ने कसैलाई सोच आएन । अहिले सबै जमिन हरियो छ । जमिनवाला सबैले बाली लगाएका छन् । तर, गाउँले भन्दा उनी फरक तरिकाले खेती गरिरहेका छन् । अरुले गहुँ लगाउँदा कबडियाले बेमौसमी मकै र तरकारी लगाएका छन् । गहुँ बालीभन्दा मकैबाट दोब्बर आम्दानी हुने भएपछि बेमौसमी मकै लगाएको उनी बताउँछन् ।

१० कट्ठा जमिनमा मकै खेती गरेका छन् । यसमा उनले करिब १० हजार रुपैया लगानी लगाएका छन् । खेतबारी आफ्नै हो । कात्तिकमा लगाएको मकै चैतदेखि बजार जाने उनको भनाइ छ । बेमौसमी मकै भएकाले बोटमै एक खोयाको १० रुपैयाँ पर्छ । यसबाट करिब दुईदेखि अढाई लाख रुपैयाँसम्म आम्दानी हुने भन्दै उनले भने, ‘यही जग्गामा गहँु लगाएको भए मुस्किलले तीन क्विन्टल बराबर उब्जनी हुन्थ्यो । तर, मकै चाहिँ १० क्विन्टल जति उत्पादन हुन्छ ।’

मकै खेतीबाट मनग्ये आम्दानी गर्ने कबडिया यसमै खुसी छन् । चैतमा मकै धेरै माग हुँदा मागअनुसार पु¥याउनै नसकिने उनी बताउँछन् । ४०÷६४ हाइब्रेट नामक मकै उनले लगाएका छन् । मकैमा अहिलेसम्म कुनै रोग नदेखिएकाले उत्पादन सोचे जस्तै हुने उनको विश्वास छ । मकै र तरकारीबाट राम्रो आम्दानी गरेपछि उनलाई दैनिक पर्ने आर्थिक समस्या समाधान गर्न धेरै मुस्किल हुँदैन । उनले भने, ‘मेहेनत गर्नुपर्छ आम्दानी हुन्छ । जसमा धैर्यता र लगनशीलता चाहिन्छ ।’ सुरुमा आफूले बेमौसमी मकै उत्पादन गर्न थालेपछि गाउँका धेरैले यही गर्न थालेको उनी बताउँछन् । यसमा उनलाई झन खुसी लाग्छ ।

उनीसँगै रुविना राईले पनि यहाँ मकै खेती गरेकी छिन् । गहुँबाट भन्दा बेमौसमी मकै लगाउँदा आम्दानी धेरै हुने हुँदा मकै लगाएको उनले बताइन् । मकै लगाएपछि फेरि धान लगाउने उनी बताउँछिन । ‘पहिला गहुँ लगाउँदा घरमा खाने अन्न मात्र हुन्थ्यो,’ उनले भनिन्, ‘बेमौसमी मकै लगाउँदा केही आम्दानी पनि भएको छ ।’ हरियो मकै पनि बिक्री हुने र अन्य बालीको तुलनामा आम्दानी पनि बढी हुने भएकाले व्यावसायिक मकै खेती गरेको उनले बताइन् ।

सामान्यतया मकै हिउँद बर्षा तथा वसन्त मौसममा लगाउन सकिन्छ । हिउँदे मकै भदौ, असोजमा र वसन्ते मकै फागुन, चैतमा तथा बर्षे मकै वैशाख महिनामा तराई तथा भित्री मधेसमा लगाउन उपयुक्त हुन्छ । उच्च पहाडमा फाल्गुन, चैततिर र मध्य पहाडमा वैशाख जेठतिर मकै लगाउन सकिन्छ ।

 

प्रकाशित: ५ फाल्गुन २०८१ १९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App