गत असोज दोस्रो साताको अविरल झरीपछि मेची पहाडको ‘लाइफ लाइन’ मेची राजमार्गको राजदुवाली मास्तिरको भाग पहिरोले चुँडायो। झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म आउ–जाउ गर्ने सवारीका साधन ठप्प भए। न कुनै भरपर्दाे वैकल्पिक सडक थियो, न आउ–जाउको अरू कुनै माध्यम। दसैंको मुखमा मेची राजमार्ग छिनेपछि हजारौं यात्रुले सास्ती पाए।
यो अनुमानित र सम्भावित जोखिम नै थियो, कसैका लागि नौलो थिएन। किनकि, दशकदेखि कुन बेला ठूलो पानी पर्ला र यो सडक बगेर जाला भन्ने त्रास सबैजसोलाई थियो। करिब दुई सय मिटर राजमार्गमा दर्जनौं ठाउँ धाँजा फाटेको, बर्सेनि दबिने गरेको र मर्मतमा सात करोड रुपैयाँभन्दा बढी खर्चिंदा पनि हालत थियो जस्ताको तस्तै। सुध्रिनुको साटो झन्–झन् बिग्रिरहेको। तर, यतिसम्म हुँदा पनि सडक अड्याउने उपयुक्त प्राविधिक आइडिया फुरेन कसैलाई, बेलैमा यसको विकल्प खोजिएन। र, खोजिएको विकल्प सधैं गुनासो पोखिरहेका उपभोक्तालाई थुम्थुम्याउने ‘ललीपप’ मात्रै बन्यो।
जब, राजमार्ग चटक्क चुँडिएर साना–ठूला सवारीका साधन मात्र होइन, मानिस पैदल हिँड्नसमेत नसक्ने भयो, तब मेची राजमार्गको विकल्प भन्दै आधा दर्जन सडक चहारिए। कतिपय वैकल्पिक सडकमा धमाधम एक्स्काभेटर लगाएर गाडी गुडाउने बनाइयो। एकाएक विकल्पमा धेरै सडक तयारसमेत बनाइए। तर, ती कुनै पनि सडक भरपर्दा थिएनन्, झ्यार्र पानी आउनेबित्तिकै ठप्प भइहाल्ने। सडक अलि राम्रो भएका ठाउँमा बीचमा खोलो पर्थ्यो, त्यहाँ पुल थिएन। केही दिन राजदुवालीमा दिन–रात मर्मत गरियो। ३० मिटरजति नयाँ ट्र्याकसमेत खोलेर राजमार्ग एकतर्फी चालु गरियो। संयोगले त्यसयता पानी परेको छैन अहिलेसम्म। र, त्यही स्थानबाट सवारीका साधन पार गरिरहेका छन्।
राजमार्ग चुँडिएका बेला रमिता हेर्न नेतादेखि कर्मचारी, सरोकारवालालगायत सबै भेला भए। फिल्डमै पुगेका जिल्लाका अगुवा जनप्रतिनिधि र नेताहरूले समेत यो मार्गलाई स्थायी बनाउन वा वैकल्पिक सडक बनाउन सकेसम्म पहल गर्ने प्रतिबद्धतासमेत गरे। मिडियामा ‘भाइरल’ बने उनीहरू। तर, बर्खा लाग्न आँटिसक्दा न कतैबाट थप बजेट आउन सकेको छ, न अब झ्यार्र पानी पर्दा इलाममा कताबाट गाडी आउँछ भन्ने प्रश्नको जवाफ नै छ कसैसँग।
यो ठाउँमा जोखिम यस्तो छ कि, अब यो सडक बगेर जान ठूलो पानी पर्नु पर्दैन। दर्जनौं धाँजा फाटेको र पहिरोले क्षतविक्षत भइसकेको यो खण्डमा अब सानोतिनो पानी परिसक्दा राजमार्ग नराम्रोसँग क्षति हुने सम्भावना आँखाअघि छ। अब राजदुवालीछेउमा पुन: पहिरो जाने हो भने मर्मत गर्न पनि निकै नै जटिल हुने स्वयं इन्जिनियर नै बताइरहेका छन्। पानी पर्ने बित्तिकै गत असोजकै नियति दोहोरिने पक्का झैं छ। र, सम्भावित जोखिम टार्न त्यति बेला खोजिएका वैकल्पिक सडक कुनैले पनि काम दिनेवाला छैनन्। किनभने, वैकल्पिक भनिएका सबै सडक कच्ची छन्, साँघुरा छन्। तीमध्येको फराकिलो सडकको बीचमा खोलो पर्छ, त्यसमा पुल छैन।
अब बर्खा लाग्न केही महिना मात्र बाँकी छ। यति ठूलो जोखिम सधैं देखेर पनि स्थानीय जनप्रतिनिधि, नेता–कार्यकर्ता, सम्बन्धित सरोकारवाला मौन झैं छन्। चिन्ता छ त स्थानीय उपभोक्तालाई, जसले यो राजमार्ग अवरुद्ध भइहाले सबैभन्दा ठूलो सास्ती खेप्नुपर्छ। उनीहरू दिनहुँ सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट ‘अब बर्खामा इलाममा कतैबाट गाडी आउन नसक्ने’ चिन्ता व्यक्त गरिरहेका छन्।
इलामका अगुवा गोपाल नेपाल सामाजिक सञ्जालमै नेपाल सरकारका यातायात मन्त्रीलाई सम्बोधन गरी लेख्छन् र इलाम, पाँचथर तथा ताप्लेजुङबाट निर्वाचित सांसदलाई समेत बोधार्थ दिन्छन्, ‘बर्खा सुरु हुनासाथ मेची राजमार्गको अवस्था के होला? बाटो बन्द भएपछि हतार–हतार के–के न गरेजस्तो गरेर सामाजिक सञ्जाल भर्नुभन्दा बेलैमा लागौं। यसलाई लैनो गाई नबनाऔं।’ स्थानीय उपभोक्ता सोम बानियाँ भन्छन्, ‘अब एक झर पानी परिसक्दा झापा र इलामको यातायात सम्बन्ध टुट्छ, यतातिर कसैको ध्यान गएको देखिँदैन। नेतालाई त जति बेला पनि सत्ता कसको हातमा पर्छ भन्नेमात्रै चिन्ता देखिन्छ।’
अर्का उपभोक्ता रोहन राई मेची राजमार्गको स्थायी विकल्प नखोजे इलाम, पाँचथर र ताप्लेजुङका उपभोक्ताले सधैं दु:ख पाउने बताउँछन्। ‘हाम्रो नाङ्गो आँखाले देख्दा राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्गको दुई सय मिटरजति खण्ड अर्बाैं रकम खर्च गर्दा पनि काम दिँदैन,’ उनी भन्छन्, ‘तर, किन काम नलाग्ने, कहिल्यै सुधार्न नसकिने ठाउँमा सरकार करोडौं रुपैयाँ मर्मतका नाममा बगाइरहेको छ? प्राविधिकका आँखा किन यसैमा बजेट बगाउनमात्रै खोजिरहेका छन्? नेता र सडक कार्यालयले चाहेको भए अहिलेसम्म यहाँ भएको खर्चले अर्काे वैकल्पिक सडक नै बनिसक्थ्यो होला त!’
बेलैमा उपयुक्त विकल्प नखोज्ने हो भने मेची पहाड केही समयपछि यातायात सम्पर्कविहीन बन्दैछ। कि उपयुक्त उपायसहित मेची राजमार्ग मर्मत गर्नुपर्छ, कि वैकल्पिक सडकलाई बाह्रैमास साना र ठूला सवारी साधन चल्ने बनाउनुपर्छ। तर, यी दुवै उपाय पुन: सडक अवरुद्ध नहुँदासम्म निष्कर्षमा पुग्ने सम्भावना देखिएको छैन। बर्खा लाग्न आँटिसक्दा सरकारी ‘प्रक्रिया’ पूरा गर्दागर्दै पुन: राजमार्ग क्षतविक्षत हुने खतरा त्यत्तिकै छ। कार्यान्वयनकर्ता सरकारी निकाय कहिले नेता (सरकार) ले बजेट पठाइदेलान् भनेर पर्खिरहेछन्, नेताहरू सरकारी कार्यालयतिर औंला सोझ्याउँदै छन्।
राजमार्ग मर्मतको प्राविधिक काम गर्ने डिभिजन सडक कार्यालयलाई पनि थाहा छ– अब पानी परिसक्दा मेची राजमार्ग असोजको भन्दा बढी क्षति हुनेछ। डिभिजन प्रमुख पवन भट्टराई मेची राजमार्ग मर्मत र सम्भावित जोखिमबाट बच्न वैकल्पिक सडकका लागि बजेट व्यवस्था गर्नुपर्ने बताउँछन्। ‘हामीले मेची राजमार्ग वैकल्पिक सडक मर्मत गर्न सबै लागत स्टिमेट तयार गरी सडक विभागमा पेस गरिसकेका छौं,’ उनले भने, ‘समयमै पुग्दो बजेट आउने हो भने काम गर्न सकिन्छ, नत्र आउँदो बर्खामा मेची राजमार्ग अवरुद्ध हुने सम्भावना धेरै नै छ। हामीलाई समेत त्रास छ।’
प्रमुख भट्टराई भत्किएको भए पनि मेची राजमार्गलाई अहिले नै छाडिहाल्ने अवस्था नरहेको बताउँछन्। ‘राजदुवालीमा मेची राजमार्ग निकै जोखिमपूर्ण छ,’ उनी भन्छन्, ‘तर, राजमार्ग सारिहाल्ने अवस्था छैन। हामीले सार्न पनि सक्दैनौं, मन्त्रिपरिषद्कै निर्णय चाहिन्छ। यसैलाई मर्मत पनि गर्दै गर्नुपर्छ, वैकल्पिक पनि बनाउनुपर्छ भनेर लागिरहेका छौं।’
मेची राजमार्गको राजदुवालीका लागि वैकल्पिक सडक धेरै छन् तर कतै बजेट अभावले मर्मत रोकिएका छन्, कतै लागेको ठेक्काको काम ज्यादै सुस्त गतिमा छ। ठूला सवारी साधनसमेत चल्नसक्ने केचना–कञ्चनजंघा मार्गमा कालोपत्रेसम्मका ठेक्का लागेका छन्। तर, कामको गति कछुवा गतिमा छ। यतिसम्म कि, नेता र जनप्रतिनिधि नै प्रत्यक्ष संलग्न भएका निर्माण कम्पनीले जिम्मा लिएको ठेक्काको म्याद पटक–पटक सकिँदा पनि ४० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन।
त्यतिमात्र होइन, यही मार्गको बीचमा पर्ने पुवाखोलामा पुल छैन। पुल कहिले बन्ला भन्नेसम्म कसैलाई थाहा छैन। पुल नहुँदा बर्खामा गाडी पार हुने अवस्था रहँदैन। पुलका लागि तीन करोड ६० लाख रुपैयाँको लगत स्टिमेट डिभिजनले सडक विभागमा पेस गरिसकेको छ। तर, बजेटको टुंगो छैन।
वैकल्पिक भनिएको सिमल गोलाई–माइबेनी–तिल्केनी मार्ग १२ किलोमिटरको छ। सडक साँघुरो भएकाले ठूला सवारी साधन चल्ने अवस्था छैन। बीचमा पर्ने जोगमाई खोलामा पुल पनि छैन। चालु वर्ष संघीय सरकारले यो वैकल्पिक सडकलाई एक करोड रुपैयाँ विनियोजन गरेको छ। अहिले कामका लागि ठेक्का पनि लागेको छ। तर, यो सडकका लागि विनियोजित रकम ‘कनिका’झैं अपुग छ।
‘बाटो साँघुरो छ, साँघुरो स्थानमा दुई सवारी साधन साइड लाग्ने, विभिन्न स्थानमा तारजाली, पर्खाल, माटो कटिङलगायत काम गर्न ठेक्का लागेको छ,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘यो सडक अलि भरपर्दाे बनाउन कम्तीमा छ करोड रुपैयाँ लाग्छ, कार्यालयले विभागमा प्रस्ताव पठाएको छ तर हाम्रो फाइल विभागमा कता अल्झिएको छ भन्ने पत्तो छैन।’ यही सडकको जोगमाई खोलामा पुल हाल्न पनि डिभिजनले लगत स्टिमेट पठाइसकेको छ। ‘पुवाखोलामा बेवारिसे भइरहेको बेली ब्रिज यहाँ जडान गर्ने योजना छ तर तीन करोड रुपैयाँजति खर्च हुने अनुमान छ,’ उनले भने, ‘तर, यो कार्यक्रम पनि आइसकेको छैन।’
मेची राजमार्गको राजदुवाली खण्डमा केही समयअघि भौगर्भिक अध्ययनसमेत भएको थियो। जमिनभित्रबाट पानी बगिरहेकाले हरेक वर्ष जमिन दबिएर जाने समस्या रहेको अध्ययनले देखाएको थियो। ‘अब नयाँ प्रविधिअनुसार यो राजमार्ग मर्मत गर्न करिब पाँच करोड रुपैयाँको बजेट अनुमान गरेका छौं,’ प्रमुख भट्टराईले भने, ‘डा.मधुसुदन आचार्य नेतृत्वको विज्ञ टोलीले पुन: यो स्थानको स्थलगत अवलोकन पनि गरिसकेको छ। अब कहिले यसले निष्कर्ष पाउला भन्ने चाहिँ यकिन छैन।’
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत यहाँको स्थलगत अध्ययन गरेका छन्। उनले बजेट तथा कार्यक्रम पारित भइसकेको अवस्थामा मेची राजमार्गको समस्या आइलागेकाले तत्काललाई राजमार्ग बनाउन बजेट नभएको बताए। ‘असारमै बजेट आइसकेको तर यो समस्या असोजमा आएकाले अहिले बजेट व्यवस्था गर्न प्राविधिक समस्या भएको छ,’ उनले नागरिकन्युजसँग भने, ‘हामीले डिभिजन कार्यालयबाट आएको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौं, मर्मतसम्भारलगायत विभिन्न कोषबाट खर्च गर्नेगरी बजेट व्यवस्था गर्ने प्रयास पनि भइरहेको छ। अर्थ मन्त्रालयबाट चाहिँ रेस्पोन्स आएको छैन।’
उनले विभिन्न उपाय गरेर भए पनि आउँदो बर्खाअघि नै मेची राजमार्ग मर्मत वा त्यसको विकल्प खोज्ने प्रयास भइरहेको जबाफ दिए। ‘मैले पनि मेची राजमार्गको अवस्था प्रत्यक्ष देखेको छु,’ उनले भने, ‘अहिलेसम्म बजेट निश्चित भएको छैन, हामी सकेसम्म बर्खाअघि नै कुनै उपाय लगाउने प्रयासमै छौं।’
प्रकाशित: ३ माघ २०८१ ०६:५५ बिहीबार