२ माघ २०८१ बुधबार
image/svg+xml
अर्थ

कफी नखाए बस्नै नपाइने

स्टारबक्सले उत्तर अमेरिकास्थित आफ्ना क्याफेहरूमा यसअघि बनाइएका कैयौं नियम उल्टाइरहेको छ। तीमध्ये एउटा, क्याफेमा केही पनि नखाई बस्नेहरूलाई अब छिर्नसमेत बन्देज लगाउने भएको छ। स्टारबक्सभित्र छिरिसकेपछि उसले केही न केही किनेर खानैपर्ने र त्यसो नगरे तुरुन्तै टेबुल खाली गरिदिनु पर्ने भएको छ।

यस्ता नियम आउँदो २७ जनवरीदेखि लागु हुने स्टारबक्सले जनाएको छ। यसअघि भने त्यस्तो नियम थिएन। ६ वर्षअघि थाकेर छिरेका जो सुकैका लागि थकाइ मार्ने, कैयौं निजी कामहरू गर्न छुट दिएको थियो। कैयौंले त अफिस जानुभन्दा पनि स्टारबक्समा छिरेर यत्तिकै दिनभरि बिताइदिने गरेका थिए।

यसअघि स्टारबक्समा किनमेल नगर्नेहरूले पनि यहाँका शौचालय प्रयोग गर्न पाउँथे। पछिल्लो समय स्टारबक्समा कफी लगायतका सामानको बिक्री घट्न थालेपछि त्यसलाई कायम राख्न स्टारबक्सले यो रणनीति अपनाएको बिबिसीले लेखेको छ।

विश्वको सबैभन्दा ठूलो कफी चेनका रूपमा चिनिने स्टारबक्सले जारी गरेको यो नियमसँगै नयाँ आचारसंहिता पनि बनाएको छ। कफी हाउसभित्र उसले धूमपान गर्न पनि प्रतिबन्ध लगाएको छ। यहाँ बाहिरबाट ल्याएर रक्सी खान पनि रोक लगाएको छ।

पछिल्लो समय यहाँ समय बिताउन, भेटघाट गर्न मात्र आउनेहरूको संख्या बढेको गुनासो आएपछि यो नियम लागु गरिएको स्टारबक्स प्रवक्ताले बताएका छन्। यसो गर्दा पैसा तिरेर कफी खानेहरूलाई आफूहरूले प्राथमिकता दिन सक्ने प्रवक्ताको भनाइ छ।

‘पैसा तिरेर कफी हाउसमा बस्ने ग्राहकलाई हामीले प्राथमिकता दिन सक्छौं,’ प्रवक्ताले बिबिसीलाई भनेका छन्, ‘आनन्दले कफी पिउनेहरूलाई हामीले ध्यान दिन सकिरहेका थिएनौं। अब यसो गर्दा पर्याप्त ध्यान दिन सकौंला भन्ने हाम्रो धारणा छ।’

यसअघि कैयौं ग्राहकले स्टारबक्सले आफूहरूलाई ध्यान नदिएको, हुलहुज्जत बढी भएको भन्दै व्यापक गुनासो गर्ने गरेका थिए। यो नियमपछि ग्राहक स्टारबक्समा पुनः फर्कने अपेक्षा कम्पनीले गरेको छ।

कुनै व्यक्ति अब स्टारबक्समा केही नकिनी बस्यो भने कम्पनीका कर्मचारीले सिधै तपाईंहरू केही किन्नु हुन्न भने जानु भए हुन्छ भनेर विनम्रतापूर्वक निकाल्न सक्ने छन्। अटेर गर्नेहरूलाई अब कर्मचारीले प्रहरी बोलाउन सक्नेसमेत प्रवक्ताले बताए।

सन् २०१८ मा फिलाडेल्फियास्थित एउटा क्याफेमा क्याफेका कर्मचारी र ग्राहकबीच शौचालयमा निःशुल्क प्रवेश गर्न दिनुपर्ने विवाद भएको थियो। सो विवाद चर्कंदै गएपछि स्टारबक्सले आफ्नो क्याफेले सर्वसाधारणका लागि शौचालयसँगै अन्य सुविधा पनि पाउने बताएको थियो। जसमध्ये दिनभरि क्याफेमा बसे पनि कर्मचारीहरूले कुनै प्रतिक्रिया दिँदैनथे।

अब यो नियम लागु भएपछि स्टारबक्सले आफ्ना ग्राहकलाई एक कफी (चिसो वा तातो) निःशुल्क रिफिल पनि गरिदिने भएको छ।

स्टारबक्सले इजरायल र प्यालेस्टाइन युद्धबारे आफ्ना धारणा सार्वजनिक नगरेको भन्दै आलोचना गरेका थिए। खासगरी स्टारबक्सले सो युद्धमा इजरायलको पक्ष लिने गरेको भन्दै चर्को विरोध भएको थियो। कम्पनीले पछि आफ्नो समर्थन या विरोधको कुनै नीति नरहेको बताए पनि युवापुस्ताले स्टारबक्समा जान बन्द गर्न थालेका थिए। उनीहरूले अरूलाई पनि नजान प्रेरित गर्न थालेका थिए।

पछिल्लो समय स्टारबक्सले आफूले बेच्ने कफीको मूल्यसमेत वृद्धि गरेको थियो। स्टारबक्सका प्रमुख कार्यकारी ब्रायन निकोलले बिक्री बढाउन र ग्राहकको अनुभवलाई सुधार्न मेनु र कफी पसलहरूलाई पुनः डिजाइन गर्ने प्रयास गरिरहेका छन्। यसअघि निकोलले मेक्सिकोको फुड चेन चिपोटललाई नाफामा लगेका थिए। यही सफलताको कथा दोहोर्‍याउलान् भनी उनलाई स्टारबक्सले भित्र्याएको थियो।

स्टारबक्सले पछिल्लो नीति अमेरिका र क्यानडामा मात्र लागु हुने बताएको छ। उत्तर कोरियाबाहेक अन्य ठाउँमा लागु नहुने पनि उसले प्रस्ट पारेको छ।

प्रकाशित: २ माघ २०८१ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App