प्राचिन कपिलवस्तुको पहिचानकारु रहेको बुद्धकालीन धानकारुपमा रहेको कालानमक धान लोप हुने अवस्थामा पुगेको छ ।
लगानी अनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरुले लगाउन छाड्दै गएपछि यो धान लोप हुने अवस्थामा पुगेको हो । सहज बजरीकरणको समस्या तथा सिचाई र सिहार सुसार बढी गर्नुपर्ने र रोग तथा कीराको प्रकोप बढी देखिने भएकाले कृषिकहरुले यसको साटो हाईब्रीड धानतर्फ आकर्षित भएका छन् ।
भिआईपीदेखि पर्यटकहरुको रोजाई भए पनि लागत अनुसार कम उत्पादन भएपछि कृषकहरु कालानमक धानको साटो अन्य धान लगाउन थालेका छन । मसिनो र बास्नादारको सूचीमा पर्ने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो ।
अहिले बजारमा हाईब्रेड र रैथाने दुबै खालको कालानमक पाईन्छ । सेतो रंगको कालानमक पनि रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस्तै यसै प्रजाति अन्तर्गत गोपालभोग समेत रहेको छ । बास्नादार यो धान बास्मतीभन्दा उत्कृष्ट मानिन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्ने कृषि ज्ञान केन्द्रका अर्थविद् महेन्द्र ओझा बताउँछन् । ‘यो उत्कृष्ट धान हो, यसको स्वाद नै बेग्लै हुन्छ’, ओझा भन्छन् । यो चामलमा फाईबर आईरन लगायतका भिटामिन पाईन्छ ।
प्राचीन कपिलवस्तुको मुख्य खेती मानिन्छ, कालानमक । विगतमा कपिलवस्तु, रुपन्देही तथा नवलपरासीमा यसको खेती हुन्थ्यो । तर, अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे । त्यसो गर्दा कपिलवस्तुसहित रूपन्देहीको दक्षिणी क्षेत्रमा कालानमकको खेती शून्यप्रायः भयो । यसको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महँगो परेको जनाइएको छ ।
यो धान असारमा रोपेपछि मंसिरको अन्तिम साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । ६ महिनामा तयार हुने भएकाले यसमा रोग संक्रमणको जोखिम हुन्छ । अन्य धान असोज–कात्तिकमा भित्राउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको मायादेबी गाउपालिकाको बलुहवाका कृषक आदित्य प्रसाद चौधरीले बताए । उनले भने, ‘धान ढिलो पाक्दा तोरी र गहुँ लगाउने किसानलाई मार पर्ने गर्छ ।’
९ हेक्टर कालानमक धान खती गरेको चौधरीको भनाइ छ । यसवर्ष ६ हेक्टरमा लोकल जातको कालानमक उत्पादन गरेका यशोधरा गाउँपालिका वडा नम्बर ६ रंगपुरका कृषक त्रियुगी नारायण जैसवालले बुद्धकालीन धानको संरक्षणमा सरकारले खासै चासो नदिएको भन्दै गुनासो गरे । त्यति बेलाको रैथाने बीउ अहिले पनि पाइने गरेकोले यसको संरक्षण गरी ब्रान्डीङ गर्नु पर्ने उनले बताए ।
कपिलवस्तु कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले पतेराले चुसेर बालामा चामल पस्नै नदिन समस्या रहेकाले यो धान उत्पादन चुनौतीपूर्ण हुने बताउँछन् । यो धान उत्पादन बढाउन कपिलवस्तुमा प्रवर्द्धनात्मक कार्यक्रम नै लागू गरिएको छ । मसिना तथा वास्नादार धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको पौडेल बताउछन् । उनका अनुसार यसको उत्पादन बढाएर मसिनो धान आयात प्रतिस्थापन गर्ने योजना छ ।
कालानमकको बोट अग्लो हुन्छ । बाला काला हुन्छन् । अग्लो बोट भएकाले ढल्ने सम्भावना बढी हुन्छ । यसको उत्पादनमा मेहनत बढी हुँदा किसान अन्य प्रजातिमा लागेको जनाइएको छ । उत्पादकत्व कम छ । अर्थविद् ओझा अनुसार अन्य धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन हुँदा यो धान डेढ मेट्रिक टन मात्रै उत्पादन हुन्छ ।
चामल बिक्रीमा भने किसानलाई बराबरी लाभ हुन्छ । अन्य धानको चामलको मूल्य ५० रुपैयाँदेखि ६० रुपैयाँ छ । कालानमक ३ गुणा बढी मूल्यमा बिक्री हुन्छ । अहिले बजारमा यसको मुल्य प्रति केजी १ सय ६० देखि १ सय ८० छ । ३ वर्षअघि बुद्धकालीन समयमा असर पुर्णिमाका दिन तिलौराकोट दरबारबाहिर धान मंगलत्सव मनाएर कालानमक धान समेत लगाइएको थियो । लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष भिक्षु मत्तेयले स्थानीय भाषमा बजरंग धान अन्र्गत कालानमक धान प्राचिन कपिलवस्तुको प्रचिन रैथाने धान रहेको बताए ।
बढी पानी चाहिने र रोग तथा कीराको प्रकोप लाग्ने भएकाले कृषकहरुले बिस्तारै यो धान लगाउन छाडदै गएको उनी बताउछन । उनले प्राचिन कपिलवस्तुको शानकारुपमा रहेको कालानमक धानलाई प्रबद्र्धन गर्नु पर्ने उनले बताए । कालानमकको बिशिष्ठ बिशेषताका कारण नेपाल कृषि अनुसंधान परिषद नाकले ५ बर्ष अघि सुद्धोदन नामको उन्नत जातको धानको बीउ समेत विकास गरेको छ । तर त्यस बारे कृषकलाई त्यति जानकारी नै छैन । कालानमक नेपालकै रैथाने भएकाले यसको बीउ बचाउन नार्कले नै ध्यान दिनुपर्ने अर्थबिद ओझा बताउँछन् । ‘अहिले पुरानै कालानमक लोप भइसक्यो कि जस्तो छ’, उनी भन्छन्, ‘यसलाई जोगाउन नार्कले चासो दिनुपर्छ ।’
कपिलवस्तु, रुपन्देही क्षेत्रमा करिब ५ सय हेक्टरमा यसको खेती भइरहेको जनाइएको छ । जस मध्ये कपिलवस्तुमा ढेड सय हेक्टर कालानमक र ५० हेक्टर गोपालभोग लागाईने गरिन्छ ।
प्रकाशित: १७ पुस २०८१ १७:४० बुधबार