३ चैत्र २०८१ आइतबार
image/svg+xml ३:५० पूर्वाह्न
अर्थ

वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौंः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन्।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आगामी जुन (असार) भित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताएका हुन्।  

उनले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गरे। उनले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी ‘ब्लेन्डेड फाइनान्सिङ’ ९मिश्रित लगानी० को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताए।

कार्यकारी निर्देशक घिसिङले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना नेपालको लागि अत्यावश्यक रहेको भन्दै तत्काल बन्न जरुरी रहेको बताए। उनले विश्व बैंक,एडिबी लगायत अन्य विकास साझेदारहरुबाट वित्तीय व्यवस्थापन नभए आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरुबाट नै बन्नसक्ने अवस्था रहेको पनि बताए।

उनले अहिले आयोजनास्थलमा निर्माण पूर्वको तयारी भइरहेको भन्दै आयोजनाको वित्तीय व्यवस्था गरी जतिसक्दो छिट्टो निर्माणमा लैजान जरुरी रहेको बताए। उनले आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको पनि बताए। उनले दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी पूरा भएको पनि जानकारी दिए। 

प्रकाशित: १५ पुस २०८१ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App