१४ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारीमा स्वास्थ्य परीक्षण सिन्डिकेट अन्त्यको माग

नेपाल मेडिकल व्यवसायी संघ (नेमो) ले वैदेशिक रोजगारीमा जाने नेपालीको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट अन्त्य गर्न माग गरेको छ।

संघका महासचिव कृष्णप्रसाद बजगाईंले मलेसियाका लागि श्रमिक पठाउँदा केही व्यवसायीले सिन्डिकेट खडा गरेको आरोप लगाउँदै त्यसको अन्त्य गर्न आग्रह गरे। उनका अनुसार हाल श्रम मन्त्रालयअन्तर्गत दर्ता भई दुई सय १२ वटा स्वास्थ्य संस्था दर्ता भई स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।

सबैलाई समान हक, अधिकार, खुला प्रतिस्पर्धा तथा लगानी सुनिश्चित गर्नुपर्ने संघको माग छ। तीमध्ये ३६ वटा संस्थाले मलेसिया जाने श्रमिकको स्वास्थ परीक्षण गर्ने जिम्मेवारी पाएका छन्।

त्यस्तै १९ वटा स्वास्थ्य संस्थाले गाम्का संस्थाको नाममा काठमाडौं केन्द्रित भएर केन्द्रीकृत प्रणालीमा श्रमिकको पहुँचभन्दा दूरदराजमा राज्यको नीति विपरीत सञ्चालित सिन्डिकेटधारी संस्था तत्काल बन्द गर्नुपर्ने माग व्यवसायीहरूले गरे।

मलेसियाको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक–पटक माग गर्दा समेत वास्ता नगरेको व्यवसायीहरूको गुनासो छ। ‘तत्कालीन अवस्थामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने विषयमा कानुनको धज्जी उडाउँदै अनैतिक साँठगाँठमा नमुना कार्यक्रमको रूपमा ६ महिनाका लागि मात्र भनेर व्यापक असहमति राख्दा राख्दै लागु गरिएको सिन्डिकेट विरुद्धको महाअभियानमा हामी सबै एक ढिक्का भएर लागेका छौं। मलेसिया लगायत अन्य देशहरूमा लगाएको सिन्डिकेट अन्त्य नहुन्जेल लागि रहने प्रण गर्दछौं,’ संघका महासचिव बजगाईंले भने।

गुणस्तरीय सेवाको सुनिश्चितता लागि प्रणालीमा सुधार गर्नुपर्ने उनले बताए। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष परिमार्जित गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा एकरूपता कायम हुने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गरी सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरी एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रूपमा स्वास्थ्य संस्थाहरूमा लागु गर्नुपर्ने संघले माग गरेको छ।

देशको कानुन नै फेरबदल गरेर सिन्डिकेट लगाउन विभिन्न संस्था वा व्यक्तिहरूको मिलोमतोमा रोजगारदाता मुलुकले नै फलाना–फलाना मेडिकल सेन्टरले स्वास्थ्य परीक्षण गर्ने भनेर तोकिएको गुनासो उनले गरे। महासचिव बजगाईंका अनुसार अहिले मलेसिया सरकारले सिन्डिकेट खारेज गरेको सूचना सम्प्रेषण गरी सकेको अवस्था छ। पछिल्लो समय आधिकारिक इमेलमार्फत आफ्ना मातहतका समन्वयकारी संस्थाहरूलाई जानकारी गराइ सकेको छ।

हाम्रो देशमा यो वा त्यो बहानामा मलेसियाबाट प्राप्त सूचनालाई गोप्य राखी जनमानसमा भ्रम सिर्जना गरी रहेका छन्। चाँडै नै मलेसियालगायत अन्य देशको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिन्डिकेट अन्त्य भएको सूचना नेपाल सरकारको आधिकारिक निकायबाट प्रकाशित होस् भन्ने चाहना व्यवसायी संघको छ।

संघका अध्यक्ष तारानाथ अर्यालका अनुसार हाल स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेटका कारण मलेसियाको श्रम बजार नै खोसिन सक्ने अवस्था छ। किनभने रोजगारदाताले जहिले पनि सरल र सहज तरिकाले कामदार लाने प्रक्रिया अपनाउँछन् तर हाम्रो जस्तै देश बलांदेशको आन्तरिक किचलो र सिन्डिकेटका कारण अहिले कामदार लग्न बन्द गरिएको अर्याल बताउँछन्।

‘नेपालको प्रमुख श्रमगन्तव्य देशमध्ये मलेसियामा कामदार पठाउँदा गरिने स्वास्थ्य परीक्षण प्रणाली सिन्डिकेटको उपज नबनोस्,’ उनले भने, ‘साथै रेमिट्यान्सले धानिएको वा ठूलो हिस्सा बोकेको देशमा भोलि बेरोजगार र आर्थिक संकट उत्पन्न हुने अवस्था सिर्जना नहोस्।’

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा बायोमेट्रिक सिस्टम आइरिस्को तत्काल व्यवस्था गर्नुपर्ने संघले बताएको छ। त्यस्तै सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य परीक्षण गर्न अनलाइन नाम दर्तामार्फत मात्र गर्न मिल्ने प्रक्रिया व्यवस्था गर्न, सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंगले निर्धारण गरी एकरूपता कायम गर्नुपर्ने माग गरिएको छ। देशको राज्य सञ्चालन व्यवस्था अनुसार संघीय संरचना तथा विकेन्द्रित सिद्धान्त अनुरूप सबै श्रमिकको पहुँचमा पुग्ने गरी स्वास्थ्य सेवा प्रवाह गर्न संघले आग्रह गरेको छ।

प्रकाशित: १२ पुस २०८१ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App