सशस्त्र प्रहरीमा चार जना डिआइजी (प्रहरी नायब महानिरीक्षक) हरू जागिरको अवधि २५ वर्ष पूरा नहुँदै अवकाशको मुखमा पुगेका छन्। डिआइजी भएको चार वर्ष पूरा हुन लाग्दा उनीहरूले जागिर सुरु गरेको अवधि २४ वर्ष मात्रै पूरा भएको छ।
सशस्त्र प्रहरी नियमावली २०७१ ले उनीहरूको एक वर्ष पदावधि थप गर्ने व्यवस्थाअनुसार सशस्त्र प्रहरी मुख्यालयले एक वर्ष पदावधि थप गर्ने प्रस्ताव पठाइसकेको छ। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डिआइजीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ। सोहीअनुसार प्रस्ताव पठाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।
२०५६ असार ३ गते डिआइजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ प्रहरी निरीक्षकबाट भर्ना भएका थिए। डिआइजी शम्भु सुवेदी उनीहरूभन्दा अघि भर्ना भएका हुन्। सशस्त्र प्रहरी बल स्थापना भएपछि चारैजना सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन्। मुलुक द्वन्द्वकालमा हुँदा उनीहरूकै टोलीले विभिन्न परिस्थितिको सामना गरेको थियो। डिआइजी गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको प्रमुख छन्। ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशका प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशका प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोसी प्रदेशका प्रमुख छन्। सुवेदी हाल अमेरिका भ्रमणमा छन्।
२०८१ पुस २३ मा पदावधि पूरा गरेर अवकाश हुन लागेका उनीहरूको म्याद थपका लागि गृह मन्त्रालयमा प्रस्ताव गइसकेको छ। गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले उनीहरूको म्याद थपका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी गरेका छन्। ‘सम्भवतः यही आउने मन्त्रिपरिषद्मा उनीहरूको म्याद थपको प्रस्ताव जानेछु,’ मन्त्रालय स्रोतले भन्यो।
सशस्त्र प्रहरी नियमावलीअनुसार डिआइजीको पदावधि चार वर्षको हुन्छ। एक वर्ष थप्न सकिने कानुनी व्यवस्थाअनुसार उनीहरूलाई घर जानबाट रोक्न र पूरा समय सरकारी सेवामा रहने वातावरण बनाउन म्याद थप गर्ने प्रस्ताव मन्त्रालयमा गएको सशस्त्र मुख्यालयले जनाएको छ। ‘सशस्त्र प्रहरीको प्रस्तावित ऐनमा ३० वर्षे सेवावधि हटाइएको छ।
अहिलेको प्रावधानले पनि उनीहरूको सेवावधि पुगेको छैन, अझै पाँच वर्ष सेवा गर्न पाउँछन्, सरकारले उनीहरूमाथि ठुलो लगानी गरेको छ, अहिले नै उनीहरूलाई घर पठाउने कुरा हुँदैन, निजामती, सेना र नेपाल प्रहरी सबैतिरको प्रावधानलाई ख्याल गरेर नै उनीहरूको म्याद थपको प्रस्ताव गरिएको हो,’ सशस्त्र मुख्यालय स्रोतले भन्यो।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डिआइजीको चार वर्ष अवधि पूरा गरेर अवकाशमा हुन लागे ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने उल्लेख छ। त्यसको प्रस्ताव सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) ले गर्ने प्रावधान छ। गृहसचिव गोकर्णमणि देवाडीले चार डिआइजीको एक वर्ष पदावधि थप गर्ने प्रस्ताव आएको स्वीकार गरेका छन्। ‘नियमावलीअनुसार सशस्त्रका चार डिआइजीको एक वर्ष म्याद थप गर्ने प्रस्ताव मन्त्रालयमा आएको छ,’ गृहसचिव दुवाडीले भने।
गृह मन्त्रालय स्रोतका अनुसार पुस २३ अघि नै उनीहरूको म्याद थप हुनेछ। यसअघि उपत्यकास्थित नम्बर–९ पशुपति वाहिनीमा कार्यरत डिआइजी किशोर प्रधानको म्याद थप गरिएको थियो। उनी थप गरिएको एक वर्ष पनि नबिताउँदै माघ १० मा अनिवार्य अवकाशमा जान लागेका छन्। एआइजीको दरबन्दी थप नहुँदा उनी घर जान लागेका हुन्। सशस्त्र प्रहरीमा अहिले सिसं १ बाट डिआइजीहरूको जागिर अवधि २१ वर्ष पुगेको छ। उनीहरू डिआइजी भएको दुई वर्ष भइसकेको छ। सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन्। उनीहरूभन्दा केही पछि दीपक अधिकारी पनि डिआइजी भएका छन्।
छोटो अवधिमै डिआइजी हुँदा सशस्त्रमा एक वर्षे म्याद थपको प्रावधान बेलाबखत चर्चामा आउने गरेको छ। अहिलेकै प्रावधान रहे सिसं १ लाई पनि अबको दुई वर्ष यही समस्या आउनेछ। यद्यपि प्रस्तावित सशस्त्र प्रहरी ऐनमा डिआइजीको पदावधि पाँच वर्ष राखिएको छ। नयाँ ऐन संसद्बाट पारित भए सशस्त्र प्रहरीका अहिलेको जस्तो समस्या केही हदसम्म हट्ने बताइएको छ।
चार महिनादेखि दुई डिआइजी रिक्त
सशस्त्रमा २०८१ भदौ १६ देखि दुई डिआइजीको दरबन्दी रिक्त भएको छ। त्यसका लागि अहिलेसम्म बढुवा प्रक्रिया अघि बढाइएको छैन। ३० वर्षे सेवा अवधि पूरा गरेर अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाशमा गएपछि दुईवटा दरबन्दी रिक्त भएको थियो। बढुवाका लागि सशस्त्रको पहिलो ब्याच (सिसं १) का मनीष थापा र कृष्ण ढकाल यसका स्वाभाविक हकदार छन्। तर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले पनि बढुवाका लागि इच्छा देखाएका छन्। सिसं २ का कुँवरले इच्छा गरे पनि अवरोध भएको बताइएको छ। कुँवर अघिल्लो ब्याचलाई उछिनेर बढुवाको लबिङमा लागेपछि डिआइजी बढुवा अलपत्र परेको सशस्त्रका अधिकृतहरू बताउँछन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा भानुका बहिनी–ज्वाइँ हुन्।
प्रकाशित: १४ पुस २०८१ ०६:२२ आइतबार