१० पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

बिवाईडी बेलुन महोत्सवः फेवासिरानमा बेलुनको रमझम

पोखरामा मंगलबार सुरु भएको पहिलो बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव। तस्बिरः नागरिक

साहसिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित पोखरामा मंगलबारदेखि बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव आयोजना गरिएको हो। फेवातालको सिरान क्षेत्र पामेको फराकिलो फाँटमा आयोजित महोत्सवमा विभिन्न १५ वटा मुलुकका पाइलटले बेलुन उडाएका छन्।

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे। बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो। बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको आकासमा सयर गराउँदै आएको छ। योपटक भने पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको हो। महोत्सवमा सहभागि पाइलटले बेलुन उडान गर्दा पामे क्षेत्र निकै नै रोमाञ्चक बनेको थियो।  

पोखरा पर्यटन परिषद् (पिटिसी) र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा सुरु भएको महोसव पुस १७ गतेसम्म चल्ने आयोकले बताएको छ। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पोखरा पर्यटनको राजधानी भएकोले पर्यटनका विविध गतिविधि आवश्यक रहेको बताए। साहसिक पर्यटनको गन्तव्यको रुपमा पोखरालाई चिनाउन यस्ता गतिविधि आवश्यक रहेको उनले बताए।  

बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेका अनुसार नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल र अस्टे«लियाका पाइलट पोखरा आएका छन्। विभिन्न स्वरुपमा सजिएका बेलुन बिहानैको समयमा फेवाको पामेको आकाशमा उड्दा त्यहाँको क्षेत्र नै रोमाञ्चक देखिएको थियो। मंगलबार बिहानैबाट बेलुन उडान सुरु भएको थियो।  

अध्यक्ष बाडेका अनुसार पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो। नेपालका समेत गरि १७ वटा बेलुन पोखराको आकाशमा यो अवधिमा बिहान र बेलुकीको समयमा एकैपटक उडान भर्ने उनले बताए। बिहान र बेलुकीको समयमा बेलुन उडान हुनेछ भने दिउँसो र बेलुकी अबेर मनोरञ्जनात्मक गतिविधि पनि हुने उनले बताए। महोत्सवका लागि भनेर कलाकार समेत पोखरा आएका छन्।  

‘पोखराको आकाशमा एकैपटक १७ वटा बेलुन उडाएर बेलुनमय बनाएका छौ। पोखरामा भएको यो महोत्सवका कारण पाहुनालाई पोखरासम्म तान्न सहयोग पुग्नेछ,’ बाडेले भने। सुर्याेदय र सुर्यास्तका बेला पारेर बिहान र बेलुकीको समयमा बेलुन उडान गरेर पोखराको फेवाताल, अन्नपूर्ण हिमाल श्रृंखला र वरिपरिका गाउँको सुन्दर दृष्य अवलोकन गर्न पाइने उनले बताए। त्यससँगै नाइट बेलुन ग्लो मार्फत रातको समयमा आकाशमा झिलिमिलि गर्दै संगीत पस्कने उनले बताए।  

पहिलो पटक पोखरामा सुरु भएको यो महोत्सव सबैका लागि नौलो भएको उनले बताए। यसले पोखरामा पर्यटन प्रवद्र्धन गर्न सघाउने अपेक्षा रहेको पनि बाडेले बताए। क्रिसमस र अंग्रेजी नयाँवर्षको अवसर पारेर यो अवधिमा महोत्सव आयोजना गर्दा पोखरामा थप आन्तरिक पाहुना भित्रिने अध्यक्ष बाडेले बताए। हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्छन्।  

पामेको आकाशमा बेलुन उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म मात्र उड्न पाउनेगरि सीमा तोकिदिएको छ। अरुबेला ब्यावसायिक उडानका बेला बेलुन नेपालले यो आकाशमा नौहजार फिटसम्म उड्न पाउँछन। तर, यो बेला एकैपटक धेरै संख्यामा उडान गर्ने भएकोले उचाई ५ हजार फिटमा सीमित गरिएको छ।  

प्राधिकरणका पोखरास्थित प्रबन्धक योगेन्द्र कुँवरले बेलुनको उडानका लागि नौ दिन अवधिका लागि पामेको आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारि गरिएको बताए। पामेको आकाश प्याराग्लाईडिङको अवतरण क्षेत्र पर्ने, हेलिकप्टर र पश्चिमतर्फबाट आउने जहाजको हवाई रुट पर्ने भएकोले पनि नोटाम जारि गरिएको उनले बताए।

अध्यक्ष बाडेका अनुसार बेलुनमा सयर गर्दा नेपालीले प्रतिव्यक्ति ११ हजार शुल्क तिर्नुपर्छ। त्यस्तै सार्क मुलुक र चीनका पर्यटकले प्रतिव्यक्ति १ सय २० र अरु मुलुकका विदेशीले १ सय ५० अमेरिकी डलर शुल्क तिर्नुपर्छ। बेलुनको उचाईमा पुगेपछि उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा सहर, फेवाताल सहितका फेवातालको सिरान क्षेत्रको पञ्चासे क्षेत्र समेत अवलोकन गर्न पाइने भएकोले यो उडान निकै नै आकर्षण पनि रहेको उनले बताए।  

उनका अनुसार महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म बेलुन उडान हुनेछ । चिसो मौसममा बेलुन उडान सहज हुने भएकोले बिहानी र बेलुकीको समय उपयुक्त हुने उनले सुनाए । क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरामा हुने सडक महोत्सवमा पर्याप्त पाहुना आउने भएकोले पनि बेलुन उडानको प्रर्वद्धन हुने पनि उनले बताए ।  

परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका पर्यटक भित्रिने नयाँ बहाना बेलुन महोत्सव भएको बताए। पोखरामा यतिबेला विभिन्न कार्यक्रम हुँदै गर्दा बेलुन महोत्सव सबैका लागि नौलो रहेको उनले बताए। पोखरामा आगामि साता सडक महोत्सव हुँदै गर्दा पोखरामा आन्तरिक र बाह्य पर्यटक भित्रिने अपेक्षा रहेको उनले बताए ।  

परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पर्यटनको राजधानी भएको र पहिलो पटक महोत्सव हुँदै गर्दा कतिपय पर्यटकका लागि नौलो प्रडक्ट भएको बताए। ‘विश्वमा बेलुन उडान हुने देशमा नेपाल पनि थपिएको थियो। यो महोत्सवमार्फत अन्तर्राष्ट्रिय जगतमा पोखराकोपहिचान अझ फराकिलो बनेको छ,’ उनले भने।  

प्रकाशित: ९ पुस २०८१ १७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App