जुम्लाको सिंजा गाउँपालिका-६ का महिलालाई यति बेला गाउँमै आलु बिक्री गर्न भ्याइ नभ्याइ छ। समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु बिक्री गर्ने काममा उनीहरू व्यस्त देखिन्छन्।
महादेव जनसेवा कृषि उत्पादक कृषक समूहले गत वर्षदेखि दुई हेक्टर क्षेत्रफलमा आलु लगाएको हो। उक्त क्षेत्रलाई गाउँपालिकाले आलुको पकेट क्षेत्र निर्धारण गरेको छ। अन्य क्षेत्रभन्दा सिंजा गाउँपालिका-६ वडामा पर्ने माजखर्क भन्ने ठाउँमा आलु उत्पादन बढी हुन्छ। आलु खेतीलाई बढी प्राथमिकता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिन्छ। त्यसैले पनि जुम्लाको स्थानीय जातको आलु खरिद गर्ने ग्राहकहरूको दिनभर गाउँघरमा चहलपहल देखिन्छ।
आलु उत्पादन बढाउने, आयर्जन गरी ग्रामीण क्षेत्रका महिलाहरूको आम्दानी स्राेत वृद्धि गर्ने उद्देश्य रहकाे समूहका काेषाध्यक्ष बेलकाैरा बुढाले बताइन्। अहिलेसम्म दुई लाख ३१ हजार रुपैयाँका आलु बिक्री गर्याैं। आजभोलि आलु बिक्री गर्ने कार्यमा महिला व्यस्त रहेको उनी बताउँछिन्। 'बिहान घरको काम सकेर दिनभर गाउँमै दिदीबहिनीसँग आलु खन्ने र बिक्री गर्ने काममा व्यस्त रहन्छौं,' उनले भनिन्।

अहिले ७७ क्वीन्टल आलु बिक्री भइसकेको छ। समूहले गाउँबाटै प्रतिकिलो ३० रुपैयाँमा आलु बिक्री गर्दै आएको कृषि समूहकी सचिव जाेवना बुढाले बताइन्। उनका अनुसार गत वर्ष १ सय ४ क्वीन्टल आलु उत्पादन भएको थियो। उक्त आलुबाट तीन लाख १२ हजार रुपैयाँ आम्दानी गरेको उनले सुनाइन्।
महादेव जनसेवा कृषि उत्पादक कृषि समूहले लगाएको आलुको उत्पादन अवलोकन गर्ने मानिसहरूको भिड पनि लाग्ने गर्छ। 'समूहमा ५१ सेयर सदस्यहरू मिलेर सामूहिक आलु खेती गरेका छन्। अन्य खेतीभन्दा आलुखेतीतर्फ निकै आकर्षित पनि छन्,‘ उनले उनले भनिन्। उनका अनुसार यहाँ आलुको बजारीकरणको समस्या छैन।
यहाँकाे आलु स्थानीय नराकाेट बजार सुर्खेत, नेपालगन्ज र जुम्ला पुग्छ।आलु पकेट क्षेत्रमा सिंजा गाउँपालिका अन्तर्गतकाे कृषि शाखाले गत वर्ष तीन र चालू आर्थिक वर्षमा दुई लाख २४ हजार रकम सहयोग गरेको वडाध्यक्ष लालबहादुर बुढाले बताए। वडालाई कृषिमा अगाडि बढाउने प्रयत्नका साथ उक्त समूहलाई व्यवसायमा हौसला बढाउन विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो।
प्रकाशित: ९ पुस २०८१ १२:१० मंगलबार