१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

<br>

नियमित संचालनमा आएको झन्डै दुइवर्ष पछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडानको तयारी थालेको हो। आगामी जनवरी पहिलो सातासम्म उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।  

तालिका तयार भएपनि उडान हुने दिन भने यकिन भईसकेको छैन। प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार हिमालयले पोखरा–ल्हासा उडानका लागि प्राधिकरणमा तालिका पेस गरिसकेको छ। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको झन्डै दुइवर्षपछि बल्ल अन्तर्राष्ट्रिय उडानको तयारी भएको हो। पोखराबाट हुन लागेको यो उडानले निरन्तरता पाउन सके त्यसले पोखरा क्षेत्रमा थप चिनियाँ पर्यटक भित्र्याउन सघाउ पुग्ने अपेक्षा छ,’ उनले भने।  

भुलका अनुसार हिमालयले १ सय ४४ सिट क्षमताको एयरबस ए–३१९ मार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासास्थित ल्हासा गोंग्गार अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको तयारी थालेको छ। ‘हाम्रोतर्फबाट सबै तयारी पुरा छ। चीनको सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना (सिएएसी)ले अनुमति दिनासाथ उडान सुरु हुनेछ,’ उनले भने, ‘नेपालतर्फ कुनै समस्या छैन।’  

उनका अनुसार हिमालयको यो जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबारका दिन काठमाडौं–ल्हासा–पोखरा उडान गर्नेछ। पोखरामा रात्रीबिसान गरेको जहाजले भोलिपल्ट मंगलबार पोखरा–ल्हासा–काठमाडौं उडान गर्नेछ। उनका अनुसार हिमालयले काठमाडौं–ल्हासा सातामा तिनदिन (सोमबार, बुधबार र शुक्रबार) उडानका लागि अनुमति पाएपनि यात्रु अभावमा एउटा उडानमा झरेको थियो। त्यो पनि नियमित थिएन। तर अब नयाँ उडान तालिका स्वीकृत भएपछि त्यही अनुसार उडान हुने उनले बताए। त्यसबाहेक हिमालयले बुधबार र शुक्रबार काठमाडौं–ल्हासा–काठमाडौं उडानको स्वीकृति पनि पाएको छ।  

मर्मतसम्भारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय कटौती भएपछि प्राधिकरणले हिमालय र नेपाल एयरलाईन्सलाई पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि आग्रह गरेको थियो। यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पनि हुन थालेकोले त्यसैको अवसर पारेर पोखरालाई चीनसँग हवाई माध्यमबाट जोड्नेगरि तयारी भएको पनि उनले सुनाए। ‘सेड्युल फ्लाईट’ भएकोले दुईपक्षीय हवाई सेवाको सम्झौता बमोजिम हुने भएकोले उडानको दिन निश्चित गर्नका लागि सिएएसीले अनुमति दिनुपर्छ,’ उनले भने।  

हालका लागि स्वीकृत भएको तालिका अनुसार उडान भर्दाको अवस्थामा पोखरासँगको उडानले काठमाडौं, ल्हासा र पोखराका तीन सहरलाई हवाई माध्यमबाट जोड्न सकिने उनले बताए।

‘चिनियाँ पर्यटक आउजाउका हिसाबले यो रुट निकै नै प्रभावकारी हुने ठानेका छौ। हालका लागि सातामा एउटा मात्र पूर्ण उडान देखिएपनि भविस्यमा संख्या बढाउन सकिन्छ,’ उनले भने, ‘बजारीकरण गरेर पर्यटक भित्र्याउने हो भने उडान नियमित हुन सक्नेछ। त्यसका लागि पोखरा क्षेत्रले विशेष ध्यान दिनुपर्छ।’

हिमालयले पोखराबाट ल्हासा उडान गरेको खण्डमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडानको सुरुवात हुनेछ। संचालनमा आएको दुइवर्ष पुग्नै लाग्दा अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक बाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन। तीनसाता अघि पोखरामा भएको तेश्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडका सहभागि सहित कुन्मिङ नगरका पाहुना लिएर सिचुआन एयरलाइन्सको जहाज पोखरा आएको थियो। अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सबैगरि ९ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन्।  

‘अंग्रेजी नयाँवर्ष २०२३’ को पहिलो दिन पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको थियो। त्यसपछि सन् २०२३ मा सबैगरि ७ वटा मात्र उडान भएका थिए। विमानस्थल संचालनको पहिलो दिन हिमालयन एयरलाइन्सले डेमो उडान गरेको थियो। त्यसपछि सिचुआनले नै २०२३ जनवरी २१ मा पोखराका लागि पहिलो उडान गरेको थियो। गतवर्ष सेप्टेम्बर ९ मा  भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ड्रुक एयरको जहाज पोखरा अवतरण गरेको थियो।

अघिल्लो नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चिनका दुइवटा कार्गाे जहाज पोखरा ओर्लिएका थिए। ती बाहेक हिमालयन एयरलाइन्सले अरु तीनवटा उडान पोखराका लागि गरेको थियो। सन् २०२३ मा पोखराका लागि जम्मा सातवटा अन्तर्राष्ट्रिय उडान भएका थिए।  

प्रकाशित: १३ मंसिर २०८१ १८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App