१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै किसान

कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्।

त्यसमध्यका एक हुन्, कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना। उनी तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन्। रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।  

११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका उनी भन्छन्, “पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु। वर्षमा रु एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु। गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए। यसपटक पनि राम्रै उत्पादन हुने आशा छ।” रानाले थपे,“छ जनाको परिवार छ। तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ। केही बचत पनि हुन्छ।” उनले मौसमअनुसार तरकारी लगाउने गरेका छन्।  

सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए। लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गरेका छन्। “पाँच जनाको परिवार छ। तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ। मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ। पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ”, उनको भनाई छ।  

सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको बताइन्। राना एउटा ‘सिजन’मा एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताउँछिन्। “मैले पाँच कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ। आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ”, उनले भनिन्।  

उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ। यहाँका किसानले आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि गरिरहेका छन्। नेपालमा कमाई छैन भनेर युवा पुस्ता पलायन भइरहेकाे समयमा तरकारी बिक्रीबाट राम्रै आम्दानी गर्ने कृषक प्रेरणाको श्रोत भएका छन्। रासस

प्रकाशित: १३ मंसिर २०८१ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App