नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक जना घाइते भएका छन् भने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार माइतीघर र बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका कार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर सिंहदरबारतर्फ अघि बढेपछि तनाव उत्पन्न भएको हो।
एमालेका २३ वटै जनसंगठनले माइतीघरमा शनिबार अपराह्नदेखि सुरु गरेको विरोध प्रदर्शन उग्र बन्दै गएको थियो। प्रदर्शनकारीहरूले माइतीघरको प्रहरी ब्यारिकेड तोड्नुका साथै बबरमहलको मूल सडकमै टायर बालेर प्रदर्शन गरेका थिए।
सोही क्रममा आक्रोशित भिडले एउटा निजी गाडीको सिसा समेत फुटाएको छ। प्रदर्शनकारी माइतीघरबाट नयाँ बानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो।
बाटो अवरुद्ध भएपछि प्रदर्शनकारीको एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढेको थियो। निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई रोक्न प्रहरीले लाठीचार्ज गर्यो।
लाठी प्रहारबाट काठमाडौं महानगरपालिका-१ निवासी एमाले कार्यकर्ता युवराज ओली घाइते भएका छन्। युवराजको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा प्रवेश गरेका ७ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको बताए।
उनका अनुसार बबरमहलबाट ४ र सिंहदरबार प्रवेश गर्ने मुख्य गेट आसपासबाट ३ जनालाई पक्राउ गरी परिसरको हिरासतमा राखिएको छ।
यता, एमाले सचिव महेश बस्नेतले झडप र गिरफ्तारीको घटनाबारे सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सरकारले देशलाई गृहयुद्धतर्फ धकेल्न खोजेको दाबी गरेका छन्।
उनले घाइते युवराज ओलीको टाउकोमा पाँच टाँका लगाइएको बताए। बस्नेतले प्रश्न गरेका छन्, ‘के देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन-कुन मोडेलतर्फ लैजाँदैछ ? हिजो सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन् ?’
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन भएको भन्दै त्यसबेलाका प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
यसैको विरोधमा एमालेले अहिले देशव्यापी प्रदर्शनलाई तीव्र पारेको छ।
प्रकाशित: १४ चैत्र २०८२ १७:५७ शनिबार




