१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटकीय सिजनः ढिला सुरु भयो, छिटो सकियो

<br>

पर्यटन क्षेत्रमा ‘सेप्टेम्बर–नोभेम्बर’ मुख्य सिजन मानिन्छ । सेप्टेम्बर प्रारम्भबाटै सुरु हुने सिजन उकालो लाग्दै जाँदा अक्टोवर–नोभेम्बर मा ‘पीक’ मा पुग्ने गर्दथ्यो। डिसेम्बर दोश्रो सातादेखि ओरालो लाग्ने गरेको सिजन अर्काेवर्षको फेब्रुअरीपछि बल्ल उकालो लाग्न थाल्थ्यो। तर, यो पटक पर्यटक आगमनको त्यो आकार खस्किँदै जाँदा नोभेम्बरको अन्तिम सातादेखि नै पर्यटन क्षेत्र सुस्ताउन थालेको पर्यटन क्षेत्रको गुनासो छ।  

व्यावसायीका अनुसार यतिबेला पोखरा क्षेत्रको पर्यटन क्षेत्र सुस्ताइसकेको छ। ‘खासमा यति छिटै नै पर्यटन क्षेत्र सुस्ताउने बेला भएको होईन। अघिल्ला वर्षको अभ्यास हेर्ने हो भने अझै केहीदिन पर्यटक आगमन उकालै लाग्दो अवस्थामा रहन्थ्यो। तर, यो वर्ष भने त्यो अवस्था रहेन नोभेम्बर तेश्रो सातापछि पर्यटन क्षेत्र सुस्ताउन थालेको हो,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘यो पटक सिजन लागेको अनुभूत खासै गर्नै पाइएन। अघिल्ला वर्ष तीनमहिना चल्ने पर्यटकीय सिजन यो पटक बढीमा एकमहिना मात्र चम्कियो, बाँकी समय सुस्ताएरै सकियो।’

पराजुलीका अनुसार यो सिजनमा आन्तरिक पर्यटक पनि आएनन भने विदेशी पाहुनाको आगमन पनि सोचे जस्तो हुन सकेन। ‘यो पटक सिजन पनि ढिला सुरु भयो, घट्न पनि छिटो गरि थाल्यो,’ उनले भने, ‘आन्तरिक र बाह्य पर्यटक पर्याप्त मात्रामा नदेखि यो पटक सिजन सकिन थाल्यो।’ उनका अनुसार अघिल्ला वर्षको अभ्यास हेर्ने हो भने डिसेम्बर दोश्रो सातापछि बल्ल सिजन सकिन थालेको अनुभुत हुनेमा यो पटक तीनसाता अघि नै पर्यटन क्षेत्र सुस्ताएको उनले बताए।

‘नोभेम्बर तेश्रो सातादेखि यो पटकको सिजन सकियो। सुरु हुँदा पनि सेप्टेम्बर दोश्रो साता लागेको थियो,’ उनले भने, ‘ढिला गरि सिजन सुरु भयो, छिटो गरि सकियो।’

पराजुलीका अनुसार यो सिजनको पीक समयमा पोखराको पर्यटन क्षेत्रको अकुपेन्सी करिब ७० प्रतिशत हाराहारीमा उक्लियो। त्यो पनि अक्टोवर मध्यदेखि नोभेम्बर मध्यसम्म रहेको थियो। ‘करिब एकमहिना मात्र सिजनको अनुभव भयो। त्यो बेला ७० प्रतिशत हाराहारीमा अकुपेन्सी उक्लियो। तर, अहिले त ओरालो लागि सकेको छ,’ उनले भने, ‘लामो समय आगमन हुन नसक्दा सिजन महिनादिन भन्दा बढी टिक्नै सकेन।’ अहिले पोखराका होटलको अकुपेन्सी करिब ४० प्रतिशतमा झरिसकेको छ।  

‘४० प्रतिशतमा ओर्लेको अकुपेन्सी तत्काल उकालो लाग्न सक्दैन,’ उनले भने, ‘यो पटक आन्तरिक पाहुना पनि पोखरा आउन सकेनन। विदेशीलाई पनि विभिन्न अप्ठेरा आइपरे।’ 

उनका अनुसार राजमार्गको आउजाउको झन्झट यो वर्ष पोखराको पर्यटन क्षेत्रका लागि सबैभन्दा ठूलो बाधक रहेको थियो। पोखरा–काठमाडौं, बुटवल–नारायणगढ, नारायणगढ–मुग्लिन राजमार्गको समस्या र जोखिमताले यो वर्ष सिजनको आगमन कमजोर अवस्थामा गुर्जार्नुपरेको उनले सुनाए। ‘पर्यटक हिडडुल गर्ने बेलामा एकाएक राजमार्गमा सकस थपियो। त्यसैको त्रासले भारतीय पाहुना आएनन,’ उनले भने, ‘तेश्रो मुलुकका पर्यटक आगमनमा पनि केही असर परेको थियो।’  

पर्यटक आगमनमा पछिल्लो समय सबैभन्दा बढी बाधक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतसम्भार पनि मुख्य रहेको व्यावसायीले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २३ देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य भईरहेको छ। योसँगै आगामि चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान प्रभावित हुनेछन। विमानस्थलको संचालन अवधि घट्दा पर्यटक आगमन प्रभावित भएको व्यावसायीले बताउँदै आएका छन्।

‘एकमहिना ढिलागरि विमानस्थलको काम सुरु भएको भए यो अवस्था आउने थिएन। आएका पर्यटकलाई पनि फर्किन सकस भयो, आउने तयारीका रहेका पाहुनालाई पनि असर पारेको हो,’ उनले भने, ‘सम्बन्धित निकायमा बस्नेको दूरदर्शिताको कमी, समन्वयको अभावमा यो अवस्था आएको हो। एकमहिना ढिलागरि काम सुरु गरेको भए यो सिजनलाई कुनै प्रभाव पर्ने थिएन।’  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी पनि यो पटक सिजनको खास अनुभूत पर्यटन क्षेत्रले गर्न नपाएको बताउँछन्। ‘यो पटक निकै नै थोरै दिन होटलमा सतप्रतिशत पाहुना राख्न पायौ। खासमा यो सिजनमा अधिक दिन होटल सतप्रतिशत बुकिङ हुनुपर्ने हो, तर, त्यो हुनै पाएन,’ होटल एशियाका संचालक समेत रहेको पन्थीले भने, ‘यो पटक तीनसाता अघि नै पर्यटन क्षेत्रको सिजन कमजोर बनिसकेको छ। डिसेम्बर दोश्रो सातासम्म सिजन टिकाउ हुनुपर्नेमा त्यो हुन सकेन।’  

आन्तरिक पाहुना आउन नपाउँदा यो पटक बढी मार परेको उनले बताए। ‘बरु आगामि सिजन प्रभावित नहोस भन्ने हो। फेब्रुअरीबाट सुरु हुने अर्काे सिजन पनि प्रभावित हुने देखिएको छ,’ पन्थीले भने, ‘पर्यटन क्षेत्र यो पटक नराम्रोसँग सुस्तायो । पर्यटन क्षेत्र धान्नै नसक्नेगरि हम्मेहम्मे अवस्थामा छ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष सोम थापा पनि यो सिजन सोचेजस्तो नभएको बताउँछन्। ‘पर्यटनको मुख्य सिजन यो अवस्थामा ओर्लेला भन्ने सोचेका थिएनौ। तर, यो पटक नराम्रोगरि ओरालो लाग्यो। अब त सिजन नै सकियो,’ थापा भन्छन, ‘सिजन सुरु हुँदा पनि ढिला गरि भयो, सकिँदा पनि छिटो गरि गयो।’  

पर्यटन क्षेत्रलाई योवर्ष प्रकृतिले सबैभन्दा बढी सताएको उनले सुनाए। ‘अहिलेकै अवस्थाका कारण आगामि सिजन पनि प्रभावित हुने सम्भावना छ। किनकी यो सिजन छँदै विमानस्थल बिस्तारको काम थालनी भएको छ। अर्काे सिजनसम्म काम भईरहँदा त्यसले पर्यटक आउजाउमा पक्का प्रभावित पार्नेछ,’ थापाले भने।  

प्रकाशित: १२ मंसिर २०८१ १७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App