नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या आएको ट्रेड युनियनहरूले बताएका छन्।
सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै ट्रेड युनियनका प्रतिनिधिहरूले यस्तो कुरा बताएका हुन्। नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेश गर्दा नेपाली श्रम बजारमा जटिल अवस्थामा पुगेको दाबी ट्रेड युनियनहरूले गरेका छन्। ट्रेड युनियनहरूले नेपाली श्रम बजार अनौपचारिकतातिर जाँदा श्रम बजारमा विविध खालका समस्याहरू उत्पन्न भएको कारण श्रम बजार कमजोर हुँदै गएको बताए।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्ष योगेन्द्रकुमार कुँवरले पछिल्लो समय बाहिरबाट मजदुरहरू ल्याउने कारणले गर्दा रोजगार क्षेत्रमा समस्या आएको बताए। उनले नेपाली श्रम बजार अनौपचारिकरण हुँदै गएको पनि उल्लेख गरे । उनले पछिल्लो श्रम बजारमा देखिएका समस्याका कारण ट्रेड युनियनहरूको लागि डरलाग्दो परिस्थिति बनेको बताए । उनले श्रम ऐनमा भएका व्यवस्थाहरूलाई गलत व्याख्या गरेर रोजगारदाताहरूले करार गर्दा पनि सरकार मूकदर्शक भएर बस्ने काम गरेको आरोप लगाए । उनले ट्रेड युनियनको उपस्थिति पनि कमजोर बन्दै गएको बताए।उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ट्रेड युनियन आन्दोलन कमजोर हुँदै गएको दाबी गरे। उनले विश्वको नेतृत्व विगहाउसहरु र कम्पनीहरूले नियन्त्रणमा लिँदा सरकारहरु नै ठुला रोजगारदाताहरूको चङ्गुलमा डुबेको उल्लेख गरे।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा ट्रेड युनियन आन्दोलन अहिलेसम्म मजदुरको पक्षमा भएका कामले सकारात्मक रुपमा अगाडी बढेको बताए। उनले ट्रेड युनियन आन्दोलनबाट श्रमिक वर्गको हक हित र सामाजिक सुरक्षा क्षेत्रमा सकारात्मक सुधार गरेको बताए ।
उनले ट्रेड युनियन आन्दोलनबाट भएका उपलब्धिहरू सकारात्मक रहेको बताए। उनले सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने अपेक्षा रहेको बताए।उनले मन्त्री परिवर्तन हुँदा सामाजिक सुरक्षा कोषका कर्मचारी र सञ्चालक परिवर्तन हुने व्यवस्था राख्न नहुने ट्रेड युनियनको माग रहेको बताए ।
प्रकाशित: १० मंसिर २०८१ १९:०५ सोमबार