९ असार २०८३ मंगलबार
image/svg+xml
अर्थ

नेपालले आज पहिलो पटक बंगलादेशमा बिजुली पठाउँदै

नेपालबाट पहिलो पटक तेस्रो मुलुकमा बिजुली निर्यात भएको छ। नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको हो। नेपाल विद्युत प्राधिकरणले आजदेखि ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ। 

गत असोजमा भएको सम्झौता बमोजिम नेपालले बंगलादेशमा बिजुली पठाउन लागेको हो।नेपालले भारत हुँदै बिजुली बङ्गलादेश पठाउने छ। बंगलादेशमा बिजुली पठाउन भारतसहित त्रिदेशीय सम्झौता भए अनुसार बिजुली पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

भर्चुअलरुपमा तीनवटै देशका मन्त्रीले निर्यातको आज औपचारिक उद्घाटन गर्ने कार्यतालिका छ। दिउँसो पौने १ बजे नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने एक बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने छन्। 

नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । त्यसअनुसार नेपालले यस वर्षका लागि आज एक दिन मात्रै बिजुली बेच्नेछ भने अर्को वर्षको जुन १५ देखि भने नियमित बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ।

२५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेशलाई बेच्न भारतले सहमति दिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित: ३० कार्तिक २०८१ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App