सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाउन नसक्दा सोमबार बन्दसत्र सुरु हुन सकेन। सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्र गुटबन्दी नभएको र नहुने दाबी गरे पनि प्रतिनिधि विवाद टुंगो लाग्न नसक्दा सोमबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको हो।
महाधिवेशन प्रतिनिधि बन्दसत्र सुरु हुने प्रतिक्षामा दिनभरि बसिरहे। तर महाधिवेशन प्रतिनिधिको नामावली रुजु तथा प्रतिनिधि परिचयपत्र छपाइ र वितरणमा अपेक्षाभन्दा बढी समय लागेकाले कार्यक्रम सारिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। प्रतिनिधिहरूको विवरण प्रमाणीकरण र कार्ड तयारी काम नसकिएकाले बन्दसत्र मंगलबारबाट सुरु गरिने जानकारी दिँदै उनले भने, ‘प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा कार्ड छपाइ गर्न सोचेभन्दा बढी समय लागेकोले बन्दसत्र आज (सोमबार) सुरु गर्न सकिएन।’
आन्तरिक विवादका कारण मधेस प्रदेशसहितका केही जिल्लामा अधिवेशन नहुँदा प्रतिनिधि टुंगो लाग्न सकेको छैन। प्रवक्ता झाले भने, ‘महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रतिनिधि छनोट र व्यवस्थापन प्रक्रियामा कुनै विवाद नआओस् भन्नेमा प्रतिबद्ध छौं।’ उनले बन्दसत्र स्थगित हुँदा प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरे।
रास्वपाले सोमबार विधानसहितका सबै प्रतिवेदन बन्दसत्रमा पेस गर्दै निर्वाचन प्रक्रिया पनि अघि बढाउने जनाएको थियो। तर बन्दसत्र नै सुरु नभएपछि पार्टी सभापति लामिछाने, प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहसहितका नेताहरू चितवनका विभिन्न स्थानमा भ्रमणमा निस्केका थिए। प्रधानमन्त्री शाह सौराहा, कसरालगायतका क्षेत्र घुमे। उनी शक्तिखोरको एक रिसोर्टमा बस्दै आएका छन्। बन्दसत्र नभए पनि केन्द्रीय समितिमा पर्न चाहनेले प्रतिनिधिसमक्ष उम्मेदवारी प्रस्तुत गरिरहेका छन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हतारमा कार्यक्रम सम्पन्न गर्नुभन्दा कुनै प्रतिनिधि नछुट्ने सुनिश्चितताका साथ प्रक्रिया अघि बढाउन खोज्दा बन्दसत्र एक दिन पर सारिएको बताए। ‘नामावली सूची ढिलो प्राप्त हुँदा तयारीमा केही ढिला भयो’, उनले भने, ‘कोही पनि प्रतिनिधि नछुटुन् भन्नेमा हामी सचेत छौं।’ उनका अनुसार मधेश प्रदेशका ५८३ प्रतिनिधिको सूची सार्वजनिक भइसकेको छ। त्यसपछि थप ८३ जनाको नाम समावेश गर्नुपर्ने सुझाव आए पनि विवरण ढिलो प्राप्त भएकाले प्रक्रिया लम्बिएको उनले बताए।
‘पार्टी भुइँमान्छेसँग जोडिनुपर्छ’
महाधिवेशन प्रतिनिधिहरूले पार्टीले आम नागरिकका समस्या, रोजगारी, किसानका मुद्दा तथा संगठनात्मक एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। चितवनको भरतपुरमा जारी महाधिवेशनका प्रतिनिधिहरूले नागरिकसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय शिक्षा विभाग प्रमुख मिलन पाण्डेले पार्टीका आन्तरिक विषयसँगै राष्ट्रिय मुद्दामाथि पनि गम्भीर बहस हुनुपर्ने आवश्यकता औंल्याए। उनले रास्वपाले आगामी पाँच वा १० वर्ष मात्र नभई दीर्घकालीन रूपमा देशको नेतृत्व गर्न सक्ने क्षमता र दृष्टिकोण प्रस्तुत गर्नुपर्नेमा जोड दिए। ‘पार्टीका आन्तरिक कुरा, दस्ताबेज, विधान र निर्वाचनका विषय स्वाभाविक रूपमा आउँछन्,’ उनले भने, ‘रास्वपाले पाँच वा १० वर्षका लागि मात्रै होइन, २० वर्षभन्दा बढी समय देशको नेतृत्व गर्न सक्ने क्षमता र दृष्टिकोण देखाउनुपर्छ।’
महाधिवेशनबाट उठेका मुद्दा केन्द्रीय समितिको अजेन्डा बन्नुपर्ने र ती अजेन्डा सरकारको कामसँग जोडिनुपर्ने पाण्डेले भनाइ थियो। उनले रोजगारी सिर्जनालगायत जनसरोकारका विभिन्न विषयलाई पार्टीको केन्द्रीय अजेन्डा बनाउनुपर्ने बताए। ‘महाधिवेशनबाट उठेका विषयहरूलाई पार्टीको केन्द्रीय समितिले राष्ट्रिय अजेन्डाका रूपमा अघि बढाउनुपर्छ र त्यसमाथि बहस गर्नुपर्छ,’ उनले भने।
पाण्डेले पार्टीभित्र विभिन्न समूह र पृष्ठभूमिका व्यक्तिहरूको सहभागिताबाट प्राप्त जनमतलाई एकताको सन्देशमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। ‘विभिन्न समूह र व्यक्तिहरू जोडिएर रास्वपालाई व्यापक मत आएको हो। त्यसैले महाधिवेशनले एकताको सन्देश दिनुपर्छ,’ उनले भने, ‘आम नागरिक र मतदातालाई पार्टीको बलियो आधार र एकताको अनुभूति दिन सक्नुपर्छ।’
इलामबाट आएका महाधिवेशन प्रतिनिधि दिनेश महतले पार्टीको नीति तथा कार्यक्रम किसानसँग प्रत्यक्ष जोडिनुपर्ने धारणा राखे। उनले किसान र श्रमजीवी वर्गका समस्यालाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने बताउँदै चुनावका बेला नागरिकलाई गरिएको प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिए। ‘रास्वपाको नीति किसानसँग जोडिनुपर्छ। भुइँमान्छेको आवाजसँग जोडिनुपर्छ,’ उनले भने, ‘गफले होइन, साँच्चिकै नीति बनाएर किसानको पक्षमा लाग्नुपर्छ।’
निर्वाचनका क्रममा नागरिकले राखेको विश्वासलाई पार्टीले व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो। ‘आगामी पाँच वर्षमा के गर्ने भन्ने विषयमा बोलेका कुरामा उत्तरदायी भएर रास्वपाले काम गर्छ भन्नेमा आशावादी छु। हामी शुभेच्छुक मात्र होइनौं, परेको बेला पार्टीलाई खबरदारी पनि गर्छौं,’ उनले भने। महतले इलामका चिया किसानको समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराए। ‘हामीले चियाको बजारीकरण समस्याका विषयमा दमदार रूपमा कुरा उठाएका छौं,’ उनले भने, ‘सरकार पनि जिम्मेवार भएर इलामको चियाको विषयमा बोल्नुपर्छ।’
सांसद तथा महाधिवेशन प्रतिनिधि रञ्जु दर्शनाले महाधिवेशनलाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने बताइन्। उनले संगठनलाई सरकार र जनताबिचको सेतुका रूपमा विकास गर्नुपर्ने र पार्टीलाई अझ विश्वासिलो बनाउने रणनीतिमा केन्द्रित हुनुपर्ने धारणा राखिन्। ‘महाधिवेशन हाम्रो उत्सव हो। संगठनलाई कसरी बलियो बनाउने र सरकार तथा जनताबिचको सेतुका रूपमा कसरी विकास गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ,’ निर्वाचनमा प्राप्त सफलता मात्रै पर्याप्त नभएको उल्लेख गर्दै उनले थपिन्, ‘त्यही पुरानो विश्वासमा नागरिकले पटकपटक मत दिन्छन् भन्ने हुँदैन। त्यसैले यो महाधिवेशन संगठनलाई अझ मजबुत बनाउने महाधिवेशन हुनुपर्छ।’
रोल्पाबाट महाधिवेशन प्रतिनिधि बनेर आएकी भीमा बन्जडाले समावेशिता र क्षेत्रीय अधिकारका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताइन्। ‘जनताको म्यान्डेट नै रास्वपाको म्यान्डेट हुनुपर्छ। कर्णालीले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुहुँदैन भन्ने लडाइँमा हामी छौं।’ महाधिवेशन प्रतिनिधि हिमेश पन्तले पार्टीले लोकतान्त्रिक राजनीतिक संस्कृतिको उदाहरण प्रस्तुत गर्नुपर्ने बताए। ‘पुरानाको खुट्टा तान्ने राजनीति धेरै देखियो। अब सभ्य र सुसंस्कृत तरिकाले राजनीति गर्नुपर्छ,’ उनले भने, ‘पार्टीभित्र विधि र विधानको पालना अझ बलियो हुनुपर्छ।’ महाधिवेशनमा चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्।
प्रकाशित: ९ असार २०८३ ०७:०१ मंगलबार





