१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्थलमार्गको सकसले हवाई यात्रामा चाप, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १९घण्टा चलाइयो

पोखराका एकदिनका हवाई यात्रु ४२ सय

केही दिन अघि हवाई उडान अवरुद्ध हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रु। फाइल तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७ देखि बेलुकी ९ बजे (१४ घण्टा) सम्म नियमित चल्छ। अन्तर्राष्ट्रिय विमानस्थल भएपनि अहिलेसम्म आन्तरिक उडानमै सीमित छ। आन्तरिक उडानमै सीमित रहेकोले राती ९ बजेपछि खासै उडान हुने गरेका थिएनन्। हवाई कम्पनिले पनि राती अबेरका लागि उडान तालिका राखेका छैनन्। बिहान पनि ७ बजेपछि मात्र पोखराबाट पहिलो जहाज काठमाडौंका लागि उड्छ।  

नियमित रुपमा दिनमा १४ घण्टा संचालनमा रहेको विमानस्थल सोमबार भने १९ घण्टा चल्यो। पछिल्लो समयको वर्षा र त्यसले निम्त्याएको विपदले गर्दा स्थलमार्गको यात्रा अनिश्चित छ। वर्षाका कारणले तीनदिनसम्म रोकिएका हवाई उडान पनि सोमबार बिहानैदेखि सुचारु भएका थिए। रोकिएको हवाइ यात्रा खुल्नु तथा स्थलमार्गको यात्रा अनिश्चित र असुरक्षित बन्दै जाँदा अहिले हवाइमार्गमा अहिले यात्रु चाप अधिक छ।  

यहीबेला पर्यटकीय सिजन पनि परेकोले विदेशी पाहुना पनि बढिरहेका छन्। त्यसबाहेक दसैंका लागि राजधानीबाट घर फर्किनेको पनि उत्तिकै भीडभाड छ। स्थलमार्गको असहजताका कारण हवाई यात्रु थपिँदा अहिले हवाई उडानमा पनि भीडभाड छ। चाहिएको बेला टिकट पाउन पनि मुस्किल हुन्छ। काठमाडौं–पोखराका सबैजसो उडानमा अहिले यात्रु खचाखच रहेको हवाई कम्पनिले बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले सोमबार विमानस्थल १९ घण्टा संचालन भएको बताईन। उनका अनुसार वर्षाले अवरुद्ध उडान सुचारु भएको र हवाई उडानमा चाप थपिँदै जाँदा सोमबार निकै अबेरसम्म उडान भएको उनले बताईन। ‘स्थलमार्गमा यात्रा अवरुद्ध भईरहेको छ। तीनदिनसम्म अवरुद्ध भएका उडान सोमबार एकैपटक खुलेका थिए। सबैतिरको हवाई चाप काठमाडौंको आकाशमा बढ्दा गन्तव्यसम्मको उडान समय पछाडि धकेलिने क्रममा मंगलबार बिहान २ बजेसम्म उडान चलिरहे,’ उनले भनिन, ‘निर्धारित उडान समय घन्टौ पछाडि धकेलिँदै जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार बिहानसम्म संचालनमा रह्यो। हवाइ उडानमा चाप पर्दा यो अवस्था आएको हो।’

अरुबेला सामान्य अवस्थामा बेलुकी ९ बजे नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने गरेको भएपनि सोमबारका उडान सक्नेगरि मंगलबार बिहान २ बजेसम्म विमानस्थल संचालनमा रहेको उनले बताईन।

‘विपद्को बेला भएकोले उडान तालिका रहँदा रहँदै विमानस्थल बेलुकी नै बन्द गर्नु भएन। हामीले अनुमति लिएरै तोकिएका सबै उडान सक्नेगरि बिहानसम्म संचालन गर्यौ। तोकिएका सबै उडान सम्पन्न भए,’ उनले भनिन, ‘हामी सबैको दायित्व पनि हो। बेलुकी नै विमानस्थल बन्द गरेको भए यात्रुलाई झनै सकस हुन्थ्यो। कम्तिमा सबै यात्रु गन्तव्यमा आउजाउ गर्न सकेका छन्।’

सुवेदीका अनुसार सोमबार करिब ४२ सय यात्रु पोखराबाट आउजाउ गरेका थिए। अहिले काठमाडौं–पोखरा रुटमा बुद्धले दिनमा १७, यतीले १० र श्री एयरलाइन्सले ४ गरि दिनमा ३१ (एकतर्फी) उडान हुन्छन। त्यस्तै बुद्धले पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज पनि दिनमा एकएक उडान गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानको संख्या ३४ रहेको विमानस्थलले बताएको छ। पोखरा–जोमसोम भने पोखराकै पुरानो विमानस्थलबाट संचालन हुन्छ।

‘यात्रु चाप थाम्न समेत हम्मेहम्मे भएको अवस्था छ। उडान समय धकेलिँदा व्यवस्थापनमा झनै सकस हुन्छ,’ उनले भनिन, ‘तरपनि यात्रुलाई गन्तव्यमा पुर्याउनु दायित्व हो।’ विदेशी पर्यटकको सिजन सुरु भएको र चाँडबाँडका कारण आन्तरिक यात्रु बढि हुँदा सबैजसो रुटका उडानमा हवाईयात्रुको चाप रहेको उनले बताईन।  

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार सोमबार बेलुकीपखको उडान समय पछाडि धकेलिँदै हुँदै जाँदा मंगलबार बिहान २ बजे बल्ल जहाज पोखराबाट काठमाडौंका लागि उडेको थियो। ‘पोखरा मात्र नभई रात्रीकालिन उडान हुने सबैतिरका विमानस्थलमा सोमबार रातभर जसो उडान भईरहे। मंगलबार बिहानसम्म उडान निरन्तर थिए,’ बर्तौलाले भने, ‘यात्रुको चाप पनि उस्तै छ। त्यसबाहेक स्थलमार्गको असुरक्षित यात्राबाट तर्सिएर यात्रुले धमाधम हवाई यात्रा रोजेका छन्।’  उनका अनुसार यतीले अहिले काठमाडौं–पोखरा दिनमा १० वटा उडान गरिरहँदा हवाई टिकट पाउन पनि मुस्किल छ।

‘काठमाडौं–पोखरा त करिब सतप्रतिशत नै अकुपेन्सी छ। पोखरा–काठमाडौंमा बरु केही सिट पाउन सकिन्छ। तर, काठमाडौं–पोखराका लागि यो बेलाका लागि निकै नै बढी टिकट माग छ।’ 

विदेशी पर्यटकको सिजन भएकोले विदेशी पाहुना थपिँदा पनि यो भीडभाड बढेको उनले बताए। ‘राती अबेरसम्म भएपनि उडान गरेर यात्रुलाई गन्तव्यमा पुर्याउने बाध्यता छ । यात्रुले निकै दुख पाएकोले पनि ढिलासम्म भएपनि उडान गरेका हौ,’ उनले भने।  

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि यो बेला यात्रु चाप बढेकोले हवाई टिकट पाउन मुस्किल रहेको बताए। ‘काठमाडौं–पोखरा–काठमाडौं नै हवाई टिकट पाउन मुस्किल छ। यो बेला चाप अधिक छ,’ कर्णले भने, ‘तीनदिनदेखि हवाई सेवा सहित स्थलमार्ग पनि अवरुद्ध भएको अवस्थामा यात्रु जहाँको त्यही रोकिएका थिए। हवाई सेवा सुचारु भएसँगै यात्रुले गन्तव्यमा जान खोज्दा यो अवस्था आएको हो।’ दसैंका कारण काठमाडौंबाट बाहिरिने र विदेशी पर्यटकको सिजन भएकोले पनि यो बेला हवाई उडानमा चाप थपिने उनले बताए। दसैंसम्म हवाई यात्रामा टिकट पाउन मुस्किल रहेको उनले बताए।  

बसलाई भने यात्रु अभाव

पोखरा–काठमाडौं रुटमा केहीदिन अघिसम्म करिब दुइदर्जन पर्यटक बस चल्थे। ती बसमा यात्रु पनि राम्रै थिए। काठमाडौंबाट जाने मात्र नभई काठमाडौंबाट पोखरा आउने यात्रु पनि थपिँदै थिए। तर, राजमार्गमा खसेको पहिरोले सवारी र मानवीय क्षति भएपछि अहिले पर्यटक बसलाई भने यात्रु अभाव रहेको पर्यटन व्यावासायीले बताएका छन्।  

नेपाल एशोसिएनस अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष किशोर दाहालका अनुसार अहिले जसोतसो दिनमा ८÷९ वटा पर्यटक बस मात्र पोखराबाट काठमाडौंका लागि छुटेका छन। ‘यात्रु नै छैनन। तोकिएको बेलामा गन्तव्यमा पुग्न सकिने अवस्था छैन। अत्यावश्यक कामले मात्र हिड्ने हुन। यो बेला कहाँ कतिखेर पहिरो खसेर रोकिनुपर्ने अवस्था आउने भन्ने त्रासले अहिले बसलाई यात्रु अभाव भएको हो,’ दाहालले भने, ‘स्थलमार्ग सहज नभएसम्म यात्रु पाउने अवस्था रहन्न।’ काठमाडौंसम्मको स्थलमार्गको यात्रा अनिश्चित र असुरक्षित हुँदा अहिले गाडी संचालन पनि रोकिएको उनले बताए।  

प्रकाशित: १५ आश्विन २०८१ १७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App