मनास्लु हिमाल (८,१६३मि) आरोहणका लागि यो बेला आधारशिविरमा आरोहीको भीडभाड रहेको छ। यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लुमा आएको पर्यटन विभागको भनाई छ। आरोहणमा आएका आरोही र उनीहरुका सहयोगीका कारण अहिले मनास्लु आधारशिविरमा अस्थायी बस्ती नै तयार भएको छ।
पर्यटन विभागका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ टिमले स्वीकृति लिएका छन्। ती टिममा २ सय २६ जना पुरुष र ८२ जना महिला छन्। सबैगरि यो वर्ष ३ सय ८ जनाले यो सिजनमा मनास्लु आरोहणका लागि स्वीकृति लिएको विभागको भनाई छ। यो सिजनमा विभिन्न १६ वटा हिमाल आरोहणका लागि विदेशी आरोहीले अनुमति लिएकोमा सबैभन्दा बढी मनास्लुका लागि छन्।
मनास्लु आरोहणका लागि अहिले आधारशिविर (४८०० मि) मा आरोहीको भीडभाड रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का आयोजना प्रमुख सन्तोष शेरचनले बताए । उनका अनुसार आरोहणका लागि आएका आरोही सहित उनीहरुका शेर्पा, सहयोगी, गाइड र भरियाका कारण अहिले आधारशिविरमा भीडभाड रहेको छ।
‘अहिले मनास्लु आधारशिविरमा फरक ‘भिलेज’ तयार भएको छ। विभिन्न रंगीचंगी टेन्ट टाँगेर आरोहणका लागि आएका आरोही र उनीहरुका सहयोगीहरु बसिरहेका छन,’ शेरचनले भने, ‘मनास्लुमा यो सिजनमा अरु सिजनमा भन्दा बढी आरोही हुन्छन्। उनीहरुका सहयोगीका कारण भीडभाड रहन्छ।’ सहयोगीहरु आरोहीको व्यवस्थापनमा खटिन्छन भने आरोहीहरु अभ्यासमा जुटिरहेका हुन्छन।
.jpg)
गोरखाको माथिल्लो भेग सामागाँउदेखि आधारशिविर एकदिनमा आउजाउ गर्न सकिन्छ। स्थानीयले आरोहीसँग गएका सहयोगीलाई सामागाँउ भन्दा माथि जान दिँदैनन। सामागाँउ भन्दा माथिल्लो भेगमा आरोहीको व्यवस्थापनमा स्थानीय खटिन्छन। ‘आरोहीहरु हेलिकप्टरमै पुग्छन। केहीगरि सहयोगीहरु गए भने उनीहरु सामागाउँमै रोकिन्छन। सामागाउ भन्दा माथिल्लो क्षेत्रमा स्थानीयले आरोहीको काममा सघाउँछन, त्यसले स्थानीयलाई लाभ पनि दिएको छ,’ उनले भने, ‘भारी बोक्नदेखि व्यवस्थापनको काममा स्थानीय खटिन्छन। त्यसले उनीहरुको आर्थिक अवस्था पनि बढाएको छ।’
मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै २०७९ सालमा ४ सय ४ जनाले अनुमति लिएका थिए। त्यो संख्या २०८० मा २६ समूहका ३ सय १ जनाले अनुमति लिएका थिए भने यसवर्ष बढेर ३ सय ८ जनाले अनुमति लिएका पर्यटन विभागको तथ्याङकमा उल्लेख छ। अहिले आरोहणसँगै मनास्लु क्षेत्रमा पदयात्री पनि बढिसकेका छन। यो बेला पदयात्राको सिजन पनि भएकोले पदयात्रीहरुको पनि भीड बढिसकेको उनले बताए। अगष्टदेखि अक्टोवरसम्म मनास्लु आरोहणका लागि उपयुक्त सिजन भएकोले यो बेला भीडभाड रहेको शेरचनले बताए।
.jpg)
स्थानीय व्यावसायी वीरवहादुर लामा पनि आरोही र उनीहरुका सहयोगीका कारण यो बेला आधारशिविरमा भीडभाड र चहलपहल बढेको बताउँछन। ‘सामागाउँसम्म मनास्लु क्षेत्रको पदयात्रामा आएका पर्यटक छन्। त्यसभन्दा माथिको आधारशिविरमा भने आरोही र उनीहरुको सहयोगमा खटिएका सहयोगीले भिन्दै बस्ती नै बसालेका छन। बस्तीमा आरोहीसँगै उनीहरुका सहयोगी आरोहणको उपयुक्त मौसम कुरेर बसिरहेका छन,’ लामाले भने, ‘यो बेला मनास्लुमा आरोहणमा आउने धेरै हुन्छन। अरु हिमालतिर अर्काे सिजनमा आउँछन । तर, मनास्लुमा यहीबेला भीडभाड लाग्छ।’
मनास्लुमा सबैभन्दा पहिलो सन् १९५६ मा पहिलो पटक आरोहण पुरा भएको थियो। त्यसपछिको यो अवधिमा अहिलेसम्म करिब ३ हजार जनाले मनास्लु हिमाल आरोहण गरिसकेका छन्। यो सिजनमा २६ जना विदेशीलाई मनास्लु आरोहण सफल बनाउन सकेका स्नोइ होरिजन ट्रेक्स एण्ड एक्सपीडिसनका अध्यक्ष बोधराज भण्डारी मनास्लुमा यो बेला आरोहणका लागि उपयुक्त समय मानिने भएकोले भीडभाड हुने बताउँछन्।
‘योपटकको सिजन सुरु हुनासाथ मौसमले साथ दियो र धमाधम आरोहण भयो। धेरै आरोहण सफल पनि भए,’ भण्डारीले भने, ‘अब भने आरोहणको समय सकिने बेला भएको छ। यो सिजनको अन्तिम समय हुन थालेको छ।’ अगष्ट अन्तिम सातादेखि अक्टोवर पहिलो सातासम्म मनास्लु आरोहणका लागि उपयुक्त समय मानिने उनले बताए। ‘मेरै २६ जनाले यो सिजनमा मनास्लु आरोहण पुरा गरिसकेका छन,’ उनले भने।
प्रकाशित: १० आश्विन २०८१ १४:४० बिहीबार