३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

युनाईटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग ‘ब्रेक थ्रु’

५० मेगावाट क्षमताको युनाईटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ गरिएको छ।

करिब ५ हजार ३ सय मिटर सुरुङ मार्गको काम पूरा भएको युनाईटेड मेवा जलविद्युत आयोजनाका प्रोजेक्ट इञ्चार्ज आशिष केदेमले जानकारी दिए। उनका अनुसार सोमवार ४ हजार ८ सय १.२७ मिटर लामो पानी कुद्ने सुरुङ मार्गको काम पूरा भएको छ। 

यसअघि पानी थिग्ग्रयाउने ‘अडिट’सुरुङ मार्ग खनी सकिएको छ। ‘अब सुरुङ मार्गको सहित ब्लाष्टिङ पड्काएर गर्नुपर्ने परियोजनाका काम सकिएका छन्’ केदेमले भने। काम सुरु भएको करिब २५ महिनामा सुरुङ मार्ग सहितका आयोजनाको पूर्वाधारतर्फका अधिकांश काम पूरा भएको र अब सर्किट सहितका कामहरू तीव्र रूपले अघि बढ्ने केदेमले बताए। ताप्लेजुङको मिक्वाखोला र मेरिङदेन गाउँपालिका परियोजनाको प्रभावित क्षेत्र हो।

मिक्वाखोलाको वडा नं १ र ३ आयोजनाको प्रभाव क्षेत्रमा पर्छन्। केदेमका अनुसार परियोजनाको पावर हाउस मेरिङदेन गाउँपालिकाको खाम्लुङमा रहने छ। पानी कुद्ने क्षेत्रमा मेरिङदेनकै थुकिमाबाट सुरुङ खनेर ‘अडिट’सुरुङ भने मेरिङदेनकै लिङतेपमा रहने केदेमले बताए। २०७४ साल साउन १५ गते आयोजनाले विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको थियो। २०८१ साल भित्रै विद्युत् निर्माण कार्य पूरा गरी परीक्षण प्रसारण गर्ने तयारी आयोजनाले लिएको छ।

‘हामी तत्कालै विद्युतमा लगानीका लागि आइपिओ प्रकाशन गर्ने तयारीमा छौँ’केदेमले भने। युनाईटेड मेवा जलविद्युत परियोजनाबाट उत्पादन भएको विद्युत् मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा समाहित हुने छ।

ताप्लेजुङको मेवाखोलाको पानी उपयोग गरी युनाईटेड मेवा जलविद्युत परियोजना निर्माणाधीन छ। यो खोलाबाट १ सय ५८.७ मेगावाट क्षमताका ५ वटा जलविद्युत परियोजना सञ्चालनका लागि अनुमति प्रदान भइसकेको छ। 

प्रकाशित: १ आश्विन २०८१ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App