१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारले चाडबाड लक्षित सुपथ मूल्य पसल असोज ७ गतेबाट सञ्चालन गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले चाडबाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले  सो कुराको जानकारी दिएका हुन  । उनले चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था गरिरहेको बताए। 

मन्त्री भण्डारीले उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढिसकेको पनि जानकारी गराए । उनले बजारमा उच्च मागहरू हुने समयमा मूल्य अस्वाभाविक रुपमा वृद्धि गर्न सक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको पनि जानकारी गराए ।

उनले सूचना र अनुसन्धानका आधारमा बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने संवेदनशील, जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गर्ने धारणा राखे । बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत स्थानीय तहहरूसँगको समन्वयमा रैथाने बाली र स्थानीय उत्पादनको प्रवद्र्धन गर्न ती वस्तुहरूको खरिद गर्ने व्यवस्था मिलाइएको बताए ।

मन्त्री भण्डारीले अहिलेको सरकारसँग जनताको धेरै अपेक्षा रहेको धारणा राखे। अपेक्षा बढी हुनेसँग विरोध, असहमति र मागहरू बढी हुने बताए । जायज पूर्ण मागहरू र जनताका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिने बताए। 

प्रकाशित: २५ भाद्र २०८१ १८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App