१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

गाइड बिना गएका थिए अन्नपूर्ण क्षेत्रमा स्पेनी जोडी

चेकपोष्ट नहुँदा पर्यटकको मनलाग्दीः व्यावसायी

अन्नपूर्ण क्षेत्रको घोरेपानी पदयात्रामा निस्केका दुइजना स्पेनी नागरिक चारदिनदेखि बेपत्ता छन्। प्रहरीले उनै स्पेनी पर्यटक हराएको क्षेत्रमा खोजी गर्दै जाँदा मंगलबार दिउँसो कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगास्थित भुरुङदी खोलामा एकजना पुरुषको शव पनि फेला पारेको छ।  

प्रहरीले विदेशी जस्ता देखिने ती पुरुष हराएकै पर्यटक हुन् वा होईनन् भन्ने अझै पनि यकिन गर्न सकेको छैन। तर, प्रहरीको आशंकामा फेला परेको शव उनै हराएका स्पेनी नागरिकको हो। प्रहरीले बुधबार पनि उक्त क्षेत्रमा खोजि गरिरहेको छ।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले पुरुषको शव बेपत्ता स्पेनी नागरिकको हुलियासँग मिल्दोजुल्दो भएपनि डिएनए परीक्षण गरेर मात्र यकिन हुने बताए। स्पेनी पुरुषकै शव पक्का भइहालेको खण्डमा पनि महिलाबारे अझै बेखबर रहेको शर्माले बताए।  

‘हाम्रो अनुमानमा मंगलबार फेला परेको पुरुषको शव उनै बेपत्ता स्पेनी नागरिकको हो। तर, यकिन गर्न थप अनुसन्धान गर्नुपर्छ। हराएकी महिलाबारे भने थप विवरण फेला पार्न सकिएको छैन,’ उनले भने, ‘उनीहरुको खोजी अझै पनि जारी छ।’

प्रहरीका अनुसार स्पेनी नागरिकद्वय वर्ष ३७ का एरिक सोलेर कासानोभास र वर्ष ३२ की मेर्सी मोलास जुन्का को पासपोर्ट र लत्ताकपडा सहित फेला परेको झोलाको आधारमा उनीहरु त्यस क्षेत्रमा हराएका छन्। पदमार्गमा फेला परेको झोलाको आधारमा त्यही क्षेत्रमा खोजी भईरहेको शर्माले जानकारी दिए।  

पर्यटन बोर्डले सन् २०२३ अप्रिल १ देखि पदयात्रा क्षेत्रमा ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको थियो। यो व्यवस्था अनुसार नेपालमा विदेशी पर्यटकले पदयात्रामा जाँदा अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड वा सहयोगी लिएर मात्र जानुपर्ने बाध्यकारी हुन्थ्यो। तर, पदमार्गमा हराएका स्पेनी पर्यटक नेपाली सहयोगी वा गाइड बिना गएको पुष्टि भएको छ। सहयोगी वा गाइड बिना जाँदा ती पर्यटक अप्ठेरोमा परेको पदयात्रा व्यावसायीको ठहर छ।  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष पन्थी भन्छन्, ‘नेपाली सहयोगी वा गाइड बिना कोही पनि विदेशी पदयात्रामा जान नपाउने नियम छ। तर, स्पेनी पर्यटकद्वयले त्यो नियम पालना नगरेको पुष्टि भएको छ।’ उनीहरुले सहयोगी वा गाइड बिना जान नपाउने नियमको उल्लंघन गर्दा यो अवस्था आएको पन्थीको भनाई छ।

 ‘एफआईटी बन्द हुनु भनेको विदेशी पर्यटकले अनिवार्य रुपमा गाइड वा सहयोगी लिएर जानुपर्ने र पदयात्रा कम्पनिमार्फत जानुपर्छ भनिएको थियो,’ उनले भने, ‘तर, विदेशी पर्यटकले त्यो नियम उल्लंघन गर्दा बेलाबेला समस्या पर्ने गरेको छ। अहिले स्पेनी पर्यटकले पनि त्यही नियम अटेर गरेका हुन।’  

बोर्डले नेपाल पर्यटन ऐन २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) संचालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १० ‘क’ बमोजिम यो निर्णय लागु गरेको थियो। नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको सुनिश्चितता गर्न यो व्यवस्था लागु गरेको पन्थीले बताए। ‘एक्लाएक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो,’ उनले भने, ‘त्यही समस्या नपरोस भनेर नियम लागु गरिएपनि केही कमजोरीले गर्दा पर्यटकले अटेर गरिररहेका छन्।’  

पन्थीका अनुसार यो नियम लागु हुनुअघि पदयात्रामा जाँदा विदेशी पर्यटकले पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर पदयात्री एक्लाएक्लै पदयात्रामा जाने गरेका थिए। तर, नियम लागु भएसँगै सहयोगी वा गाइड अनिवार्य थियो। ‘अध्यक्ष पन्थी भन्छन्, ‘अहिले एकल रुपमा पदयात्रा गर्न पाइदैन। समूहमा मात्र जान पाइन्छ। त्यो समूह २ जना (एकजना पर्यटक र उनका एकजना गाइड) को पनि हुनसक्छ, जहाँ कम्तिमा एकजना नेपाली सहयोगी अनिवार्य हुन्छ। तर, विदेशी पर्यटकले त्यसलाई अटेर गर्ने गरेका छन्।’ गाइड वा सहयोगीलाई दिनुपर्ने ज्यालाका कारण विदेशी नियम नमान्दै पदयात्रामा जाने गरेको पन्थीको भनाई छ।  

पन्थीका अनुसार विदेशीले नियम अटेर गर्नुमा कारण छ–पदमार्गमा चेकपोष्ट राखिएको छैन। चेकपोष्ट नहुँदा विदेशीले टिम्स छलेर पदयात्रामा जाने गरेका छन्। ‘स्पेनी पर्यटकले वीरेठाँटीमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को चेकपोष्ट आफुलाई इन्ट्री गराए, तर, टिम्सको इन्ट्री गर्ने ठाउँ नहुने भएपछि उनीहरु सहजै उम्किन सके,‘ उनले भने, ‘एक्यापले संरक्षण क्षेत्रको अनुमति मात्र परीक्षण गर्छ। टिम्स चेक गर्ने अधिकार एक्यापलाई छैन।’ टिम्स अनुमति लिनासाथ गाइड वा सहयोगी अनिवार्य लैजानुपर्ने भएपनि ती स्पेनीलाई त्यसलाई छलेर गएको उनले बताए।  

‘टिम्स स्वीकृति लिएर गएको भए साथमा गाइड वा सहयोगी हुन्थे। तर, उनीहरुले टिम्सलाई छल्दा साथमा सहयोगी पाएनन्। जसले गर्दा उनीहरु समस्यामा परे,’ उनले भने, ‘यही टिम्स लिएर गएको भए उनीहरुसँग कोही न कोही साथमा हुन्थ्यो। जसले ती स्पेनी जोडीलाई खोलामा जान वा पौडिनबाट रोक्न सक्थ्यो।’ 

पदयात्रामा रहेका उनीहरु भुरुङदी खोलामा पौडिन वा तस्बिर खिच्न जाँदा चिप्लिएर खोलामा खसेको अनुमान छ। साथमा सहयोगी भएको भए उनीहरु जोगिन सक्ने अवस्था आउने पन्थीको भनाई छ।  

‘टिम्स चेक गर्नका लागि ठाउँठाउँमा चेकपोष्ट रहनुपर्छ। त्यसका लागि पर्यटन बोर्ड र टानबीच सहकार्य हुनुपर्ने भएपनि त्यो हुन नसक्दा पदमार्गमा चेकपोष्ट रहेनन्। चेकपोष्ट नरहेको फाइदा लिएर पर्यटक एक्लाएक्लै पदयात्रामा जाने क्रम रोकिएको छैन,’ पन्थीले भने। पन्थीका अनुसार ती विदेशीले टिम्स त छले नै पदयात्रामा मनलाग्दी गर्दा ज्यानै फाल्नु परेको हो।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी शर्मा पनि पदयात्रामा नेपाली सहयोगी नहुँदा पर्यटक खोलामा पसेको अनुमान गर्छन। ‘साथमा नेपाली गाइड वा सहयोगी हुन्थे भने उनीहरु खोलामा जानबाट रोकिन्थे वा तस्बिर खिच्ने क्रममा होसियार हुनसक्थे। त्यो अज्ञानताले पर्यटक खोलामा बगेको अनुमान छ,’ उनले भने। पदमार्गमा भेटिएका झोलाका आधारमा पर्यटक त्यस ठाउँमा खसेको अनुमान सहित खोजी भईरहेको उनले बताए।  

पर्यटन क्षेत्रका अनुसार नेपालमा पदयात्रा गर्न आउने पर्यटक मध्ये ३० प्रतिशत एफआइटी हुने गरेको अनुमान छ। नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार बढी पर्यटक ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए। 

प्रकाशित: १२ भाद्र २०८१ १८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App