३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरामा ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक बन्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन हवाई इन्धन भण्डारण ट्यांक। तस्बिर: नागरिक

नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ लाख लिटर (३६ सय किलोलिटर)का हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नयाँ हवाई इन्धन डिपोको आवश्यकता महसुस गरेर हवाई इन्धन भण्डारण निर्माण परियोजना सुरु गरेको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको चाप र हवाई इन्धनको माग पनि बढ्ने भएकाले करिब ६८ करोड रूपैयाँको लागतमा धमाधम इन्धन भण्डारणसहितका संरचना निर्माण गरिरहेको नेपाल आयल निगम हवाई इन्धन भण्डारण निर्माण परियोजना प्रमुख प्रदीप यादवले बताए।

यादवका अनुसार हवाई इन्धन डिपोमा १२–१२ सय किलोलिटरका तीन वटा हवाई इन्धन भण्डारण भर्टिकल टयांकसहित १२–१२ सय किलोलिटरका दुई वटा पानी ट्यांकी पनि निर्माण भइरहेका छन्। डिपोमा सम्भावित आगजनी दुर्घटनाको पूर्व सतर्कताका लागि पानीका ट्यांक निर्माण गरिएको छ। ‘हवाई इन्धन अति संवेदनशील वस्तु भएकाले आवश्यक पूर्वाधार निर्माण भइरहेको छ,’ यादवले भने, ‘अहिलेसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ।’

डिपोमा पम्प हाउस, अफिस भवन, ल्याब लगायतका संरचना निर्माणाधीन अवस्थामा रहेको उनले बताए। हवाई इन्धन अति संवेदनशील वस्तु भएकाले यसको गुणस्तर र सुरक्षामा विशेष ध्यान पुर्‍याउने गरी आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।

परियोजना ठेक्काको काम समानान्तर–रेलिगेयर–भारत ट्यांक्स जेभीले गरेका छन्। डिपोमा अत्याधुनिक प्रविधि प्रयोग गरेर आधुनिक बनाइँदैछ। डिपो फुल अटोमेसनमा सञ्चालन हुने परियोजना प्रमुख यादवले बताए। ‘इन्धनको मापन पूर्ण कम्युटराइज्ड प्रविधिमा हुनेछ,’ यादवले भने, ‘नयाँ प्रविधि प्रयोग गरेर पूर्वाधार निर्माण गरिँदैछ।’

- प्रदीप यादव, नेपाल आयल निगम हवाई इन्धन भण्डारण निर्माण परियोजना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको चाप बढेर हवाई इन्धनको माग पनि बढ्ने भएकाले करिब ६८ करोड रूपैयाँको लागतमा धमाधम इन्धन भण्डारण ट्यांकसहितका संरचना निर्माण भइरहेका छन्।

-प्रदीप यादव

नेपाल आयल निगम हवाई इन्धन भण्डारण निर्माण परियोजना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी हवाई कम्पनीको चाप बढेसँगै हवाई इन्धनको माग पनि बढ्ने अनुमान छ। हवाई इन्धन भण्डारण निर्माण परियोजना अन्तर्गत नयाँ डिपो निर्माण गरेपछि बढ्दो माग अनुसार जहाज कम्पनीलाई हवाई इन्धन उपलब्ध गराउन आयल निगम सक्षम हुनेछ।

व्यवस्थित ढंगले गुणस्तरीय इन्धन उपलब्ध गराउने आयल निगमको दायित्व हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गरेपछि हवाई इन्धन बिक्री थप व्यवस्थित गर्न सहज हुने अपेक्षा गरिएको छ।

नयाँ डिपो नबन्दासम्म अन्तर्राष्ट्रिय विमानस्थलमा घरेलु विमानस्थलकै हवाई इन्धन डिपोबाट डिस्पेन्सरमा ल्याएर बाउजरमा सारेर जहाजमा इन्धन भर्ने काम गरिँदै आएको नेपाल आयल निगम पोखरा हवाई इन्धन डिपोका प्रमुख सुमन पुडासैनीले बताए। ‘नयाँ डिपो निर्माण सम्पन्न नहुँदासम्म पुरानो विमानस्थलबाटै हवाई इन्धन लगेर सेवा दिँदै आएका छौं,’ उनले भने, ‘भण्डारणस्थल बनेपछि धेरै सहज हुनेछ।’

पोखराको घरेलु विमानस्थलमा आयल निगमको हवाई इन्धन भण्डारण क्षमता ६४ हजार (६४ किलोलिटर) मात्र रहेको छ। नागरिक उड्डयन प्राधिकरणसँग जग्गा लिजमा लिएर डिपो निर्माण भइरहेको छ।

पोखराको घरेलु विमानस्थलका उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएपछि अहिले घरेलु विमानस्थलमा रहेको हवाई इन्धन डिपोबाट इन्धन लगेर जहाजलाई उपलब्ध गराइँदै आएको छ। पर्यटकीय नगरी पोखराको विमानस्थलमा अफ सिजनमा दैनिक १० देखि १२ किलोलिटर र सिजनमा दैनिक १५ देखि १८ किलोलिटर हवाई इन्धन खपत हुन्छ।

डिपो परिसरमा अहिले १६–१६ किलोलिटरका चार वटा हवाई इन्धन भण्डारण गर्ने अन्डर ग्राउन्ड टयांक रहेका छन्। पोखरा हवाई इन्धन डिपोमा २७–२७ किलोलिटरका दुई वटा र ११ किलोलिटरको एक गरी तीन वटा रिफ्युलर रहेका छन्। घरेलु विमानस्थलबाट करिब साढे ६ किलोलिटरको दूरीमा छ। नयाँ र पुरानो विमानस्थलको दूरी टाढा रहेकाले पनि इन्धन आपूर्ति व्यवस्थापनमा निगमलाई अहिले कठिनाइ भएको छ। हवाई इन्धन अत्यन्त संवेदशील पदार्थ हो।

नयाँ डिपो सञ्चालनमा आएपछि पुरानो विमानस्थलमा रहेको हवाई इन्धन डिपोबाट मुस्ताङ लगायतका जिल्लामा उडान गर्ने जहाज कम्पनीलाई सेवा दिने निगमको योजना छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल, डिजेल, मट्टितेल, ग्याससहित हवाई इन्धन पनि आयात गरेर बिक्री गर्दै आएको छ। निगमले हवाई जहाजका लागि आवश्यक पर्ने हवाई इन्धन सम्बन्धित विमानस्थलमा भण्डारण गरेर बिक्रीको प्रबन्ध मिलाउँदै आएको छ।

प्रकाशित: १३ श्रावण २०८१ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App