४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरामा उडान भर्न बंगलादेशी हवाई कम्पनीको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी एयरलाइन्स कम्पनीले उडान भर्ने चासो देखाएको छ। बंगलादेशको वायुसेवा कम्पनी एयर एस्ट्राले ढाका–पोखरा– ढाका उडानको लागि चासो देखाएको हो।

एयर एस्ट्राले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अवतरण, पार्किङ, नेभिगेसन छुट र भ्याटको सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गर्न चाहने वायुसेवा सञ्चालकलाई उपलब्ध गराइने छुट तथा सुविधाहरूको विवरण उपलब्ध गराइ दिन अनुरोध गरेको छ।

नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई उडान गर्दा छुट प्रदान गर्ने प्रावधानले एस्ट्रा एयरलाइन्सले नेपालमा सञ्चालन सुरु गर्दा बेहोर्नुपर्ने आर्थिक भार कम गर्न मदत गर्ने उल्लेख गर्दै यसले नेपाली यात्रुहरूका साथै विदेशी पर्यटकहरूलाईसमेत बजेट मैत्री हवाई भाडा उपलब्ध गराउन प्रोत्साहित गर्ने उल्लेख गरेको छ।

मन्त्रालयका एक कर्मचारीका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एयर एस्ट्राले ढाका–पोखरा–ढाका उडानका लागि चासो देखाएको हो। एयर एस्ट्रा प्रक्रिया पुर्‍याएर नआएको तर छुट तथा सहुलियतको बारेमा सोधपुछ गरेको उनले बताए । ‘सञ्चार माध्यममा आएजस्तो उडान तयारीको लागि आएको छैन’, उनले भने, ‘उडान गरे कति छुट दिन सकिन्छ भन्ने जस्तो जिज्ञासाको लागि अहिले एयर आस्ट्राले चासो देखाएको छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ वर्षपछि विदेशी एयरलाइन्सले उडानका लागि चासो देखाउँदै के कस्ता छुट तथा सहुलियत उपलब्ध हुन सक्छ भन्दै पर्याप्त छुट तथा सहुलियत अपेक्षा राखेको समेत जनाएको उनले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समयअघि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानमा छुट र सेवा विस्तारका लागि विमानस्थल सञ्चालनसँग जोडिने निकायलाई पत्राचार गरेको थियो। मन्त्रालयले हवाई इन्धनमा छुट, श्रम स्वीकृति तथा मेडिकल, भिसा सेन्टर खेल्न सहजीकरण गर्न विभिन्न तीन मन्त्रालयलाई पत्र लेखेको थियो।

एयर एस्ट्राले जहाज अवतरण, पार्किङ, नेभिगेसन छुट र भ्याट आदिको सन्दर्भमा चासो राख्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गर्न चाहने वायुसेवा सञ्चालकलाई उपलब्ध गराइने कुनै छुट तथा सुविधाहरू के के छन् भनेर चासो देखाएको हो।

तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १८ महिना पुगिसकेको छ। विमानस्थल सञ्चालन भएको डेढ वर्ष बितिसक्दा पनि सरकारले अहिलेसम्म व्यावसायिक अन्तर्राष्ट्रिय हवाई उडान गर्न सकेका छैनन्। गत भदौ २२ गते भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

ड्रुक एयरको जहाजले तीन जना पर्यटक लिएर पोखरा विमानस्थलमा अवतरण गरेको थियो। ड्रुक एयरले फर्कदा पनि विदेशी यात्रु लिएर उडेपछि क्यानले ड्रुकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो व्यवसायिक उडान भनेको थियो। यद्यपि ड्रुकले त्यसपछि कुनै उडान गरेको छैन। ड्रुक एयरको जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने दोस्रो अन्तर्राष्ट्रिय जहाज थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०२३ जनवरी १ तारिखमा भव्य समारोहबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही समारोहमा हिमालय एयरलाइन्सले न्यारोबडी विमानबाट डेमो फ्लाइट गरेको थियो। विमानस्थल सञ्चालनमा आएको डेढ वर्ष बितिसक्दा पनि अझै सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको हो।

यसबीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग ६/७ वटा मात्र अन्तर्राष्ट्रिय उडानहरू भएका छन्। गत वर्षको असार ६ गते चीनको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। गत वर्ष असार ६ गते चीनको फेवातालमा आयोजित ड्रागन बोटरेस फेस्टिभलमा सहभागी हुने आएका ८४ जना चिनियाँ पाहुनालाई लिएर सिचुआनको जहाज पोखरामा अवतरण गरेको थियो। डेमो उडानबाहेक विमानस्थल सञ्चालनमा आएपछि यात्रुसहितको पहिलो अन्तर्राष्ट्रिय अवतरण थियो।

त्यसपछि चिनियाँ कार्गो जहाज र हिमालय एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कहिलेकाहीं विशेष परिस्थितिमा अवतरण भएका छन्। अर्बौं लगानी गरेर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानको डेमो, आपतकालीन र चार्टर्ड उडानका लागि मात्र प्रयोग भइरहेको छ।

सरकारले पोखरा विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई ल्यान्डिङ, पार्किङ र नेभिगेसनमा शत प्रतिशत छुट दिएको छ भने ग्राउन्ड हेन्डलिङमा ५० प्रतिशत छुट दिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रोत्साहन गर्न ल्याएको यस्तो छुट तथा सहुलियतले अहिलेसम्म कुनै अन्तर्रारष्ट्रि हवाई उडान कम्पनीलाई आकर्षित गर्न सकेको छैन्। यसैबीच एयर एस्ट्राले पछिल्लो समय मन्त्रालयसँग छुट तथा सहुलियतको विवरण मागेको छ।

चीनको एक्जिम बैंकबाट ऋण लिएर बनेको पोखरा विमानस्थलबाट व्यावसायिक उडान हुने नसकेका कारण सरकारले चिनियाँ ऋण सहयोगमा बनाएको लगानी मात्रै खेर गइरहेको छ। पोखरामा चीनको ऋण सहयोगमा २१ अर्ब रूपैयाँभन्दा बढी लगानी भएको छ। यो विमानस्थल अन्तर्राष्ट्रिय भए पनि हाल पोखरामा आन्तरिक उडान मात्र भइरहेको छ।

प्रकाशित: ३१ असार २०८१ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App