२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

काठमाडौं महानगरको पुँजीगत खर्चमा सुधार, यद्यपि ४२.३५ प्रतिशत मात्रै

चार वर्षअघि आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं महानगरपालिकाले पुँजीगत खर्च २१ प्रतिशत मात्रै थियो। पुँजीगत खर्चलाई साधारण अर्थमा ‘विकास बजेट’ भनेर पनि बुझिन्छ।

महानगरले योजनाबद्ध काम गर्न नसक्दा राजधानी सहरमा पुँजीगत खर्च गर्न नसकिरहेको झल्को उक्त खर्चदरले देखाउँछ।

उक्त अवस्थालाई सुधार गर्न महानगरलाई हम्मेहम्मे नै परिरहेको आँकडाहरूले देखाउँदै आएका छन्। अघिल्लो आव ०७९/८०मा महानगरको पुँजीगत खर्च २६ प्रतिशतसम्म पुगेको थियो।

चालु आव ०८०/०८१ मा भने महानगरको पुँजीगत खर्चदारले १६ प्रतिशतभन्दा बढी उल्लेख्य सुधार गर्दै ४२ प्रतिशतसम्म पुगेको छ। महानगरले चालु आव पुँजीगत खर्चमा उल्लेख्य वृद्धि गरेको छ।

महानगरका अनुसार चालु आवमा १५ अर्ब १० करोड १० लाख रकम पुँजीगततर्फ विनियोजन भएको थियो। जसमध्ये छ अर्ब ३९ करोड ६१ लाख खर्च भएको छ। जुन ४२ दशमलव ३५ प्रतिशत हुन आउँछ ।

कुल खर्च पाँच वर्ष यताकै उच्च 

यस्तै महानगरको कुल खर्च पनि पाँच वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। महानगरले चालु आवमा विनियोजन गरेको कुल बजेट २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी खर्च गरेको छ। जुन ५१ प्रतिशत भन्दा बढी हुन आउँछ।

अघिल्लो आव ०७९/८० मा कुल विनियोजित २२ अर्ब ८३ करोड बजेटमध्ये नौ अर्ब १८ करोड मात्रै खर्च गरेको थियो। जुन ४० दशमलव ४ प्रतिशत मात्रै हो।

यस्तै ०७८/७९ मा १६ अर्ब ५२ करोडमध्ये ४४ दशमलव ३ प्रतिशत ९७ अर्ब ३१ करोड०, ०७७/७८ मा १५ अर्ब ५६ करोड १५ लाखमध्ये ३६ दशमलव ७ प्रतिशत ९५ अर्ब ७००,  ०७६/७७ मा १२ अर्ब ९८ करोडमध्ये ४९ दशमलव ७ प्रतिशत (६ अर्ब ४५ करोड) मात्रै खर्च भएको थियो । 

चालु खर्च घट्दै 

यस्तै महानगरले पुँजीगत खर्च बढाउँदै लैजादा प्रशासनिक खर्चतर्फ हुने चालु खर्च भने घटाउँदै लगेको छ। पाँच वर्षअघि २०७६/७७ मा महानगरको चालु खर्च ७७ प्रतिशत थियो भने, चालु आवमा चालु खर्च दर ६४ प्रतिशतमा झारेको छ।

यस वर्ष कुल विनियोजित नौ अर्ब पाँच करोड चालुतर्फको बजेटमध्ये पाँच अर्ब ८३ करोड अर्थात ६४ दशमलव ४ प्रतिशत खर्च भएको छ। 

यस्तै महानगरले ०७७÷७८  मा ६४ प्रतिशत, ०७८÷७९ मा ६५ प्रतिशत, ०७९/८० मा ६४ प्रतिशत चालुतर्फको बजेट खर्च गरेको थियो। 

‘योजनाबद्ध कामले पुँजीगत खर्च बढ्यो’

महानगरका प्रवक्ता नवीन मानन्धर पुँजीगत खर्च बढ्नुमा योजनाबद्ध कार्यक्रम कार्यान्वयन गर्दा सफलता प्राप्त भएको बताउँछन्। ‘नीति तथा कार्यक्रम तय गर्दादेखि नै कार्यान्वयन गर्न सकिने र नसकिने भनेर प्राथमिकीकरण गरेर काम थालियो,’ उनले भने,‘त्यसकै कारण पनि प्रगति हासिल गर्न सहज भयो।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार पनि योजनाबद्ध कार्यक्रम सञ्चालन तथा व्यवस्थापनले पुँजीगत खर्च बढाएको दाबी गर्छन्। ‘हामीले कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न योजनाबद्ध काम गरिरहेका छौँ। यस्तै कामको वातावरण बनाउन सहजीकरण पनि गरियो,’ उनले भने,‘समग्र कर्मचारीको खर्च गर्ने क्षमतामा तुलनात्मक रुपमा अभिवृद्धि गर्न पनि प्रयास भएको छ। सामूहिक प्रयासले यो नतिजा आएको हो।’

आगामी बजेट कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पनि महानगर तत्पर रहेको  परियारले बताए। उनले भने, ‘आगामी आर्थिक वर्षमा बृहत् समीक्षा, यथार्थपरक बजेट तर्जुमा, वार्षिक कार्य योजना र अनुगमन योजना तर्जुमा र सोको प्रभावकारी कार्यान्वयनसहित काम गछौं। अहिलेका सिकाई संस्थागत गरेर अघि बढ्छौँ।’ 

प्रकाशित: २७ असार २०८१ १४:१५ बिहीबार

#Mayor Balen Saha #Kathmandu Metropolitan Bugget #Sunita Dangol #Safalata Bhandari