१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाटै चयन हुने

 नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाटै चयन हुने भएको छ। यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो।

सो विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेपछि अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पद निर्वाचनबाट चयन हुने भएको जानकारी दिए।

उनले यसअघि पनि यसैबमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरू गठन गरी काम गरिएको भए पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुने गरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले बताए ।

ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने बाचा गरेका थिए। यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रूपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिको अर्काे कार्यकालपछि लागु हुने बताइएको छ। संशोधित नयाँ विधानमा दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था  गरिएको छ ।

महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी मंसिर मसान्तभित्र महासंघको विशेष साधारणसभाले पारित गर्ने जनाइएको छ ।

प्रकाशित: २५ असार २०८१ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App