१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

 ललितपुर महानगर पालिकाले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ।

सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख चिरी बाबु महर्जनले शनिबार उद्घाटन गरे।निर्धारित समय अघि नै पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीलाई उनले धन्यवाद दिए। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि १८ महिनामा नै पुल निर्माण सम्पन्न भएको हो।

पुल पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै  यो पुलले सुना कोठी, बुङमतीका बासिन्दालाई प्रत्यक्ष लाभ हुने बताए । नगर प्रमुख महर्जनले २०३८ सालमा लेले टिकाभैरबमा आएको बाढीले अहिले पुल बनेको ठाउँ जलमग्न भएको स्मरण गर्दै भने, ‘त्यस्तै किसिमको विपद् आइहाले पनि धान्न सक्ने गरी पुल बनाएका छौँ। ’

महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट सुना कोठी र बुडमति बासीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै अप्रत्यक्ष लाभ महानगरबासी सबैलाई हुने प्रस्ट पारिन। यो पुलले आर्थिक सामाजिक रुपमा स्थानीयलाई समृद्ध बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा वडा नं २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन र वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणाम स्वरूप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । वडा अध्यक्षहरूले कम्पनीको लगनशीलता र इमानदारीप्रति आभार व्यक्त गरे। महानगरका इन्जिनियर प्रदीप पौडेलले पुललाई बलियो बनाउन प्राविधिक रुपमा गरेका काम बारे जानकारी दिए। पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा यो पुल निर्माण सम्पन्न भएको हो। 

अन्य दुई पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा 

ललितपुर महानगरले आफ्नै लगानीमा  निर्माण सुरु गरेको अन्य दुई वटा पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । रानीबँ,कुसुन्ती वडा नं १३ र भैसीँपाटी  वडा नंं २५  जोड्नेछ । त्यसैगरी वडा नं १४ स्थित नखिपोटमा बनेको पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको हो।

ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले यी पुल प्रयोगमा आउन थालेपछि नगरबासीलाई धेरै सजिलो हुने बताए । उनले भने,‘ यी पुल दुरी छोट्याउने, सम्बन्ध बढाउने पुल हुन्।’ नगर प्रमुख महर्जनले पुल प्रयोगमा आउन थालेपछि ट्राफिक जामको समस्या समेत कम हुने बताए। उनले भने, ‘पुल भएपछि मुख्य बाटोको विकल्प समेत तयार हुन्छ। ’ महानगरका इन्जिनियर प्रदीप पौडेलले अबको ६ महिनाभित्र अन्य दुई वटा पुल पनि बनिसक्ने बताए। उनले भने, ‘दुई वर्षभित्र तीन वटा पुल निर्माण सम्पन्न हुनेछन् , यो महानगरको लागि ठुलो उपलब्धि हो। 

सुना कोठी र बङुमती जोड्ने पुलको लम्बाई १५ मिटर र चौडाइ ११ मिटर रहेको छ। यो पुलका लागि करिब ५ करोड बजेट छुट्याइएको छ। महानगरले पक्की पुल बनाउने आफू पहिलो स्थानीय तह भएको दाबी गरेको छ ।  

कुसुन्ती रानीबँ र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाइ १४ मिटर रहेको छ। यो पुल निर्माणका लागि दुई करोड ५४ लाख बजेट विनियोजन गरिएको छ।नखिपाट र भैसीँपाटी जोड्ने पुलको लम्बाई १८ मिटर र चौडाइ १४ मिटर रहेको छ भने करिब ४ करोड बजेट छुट्याइएको छ।

प्रकाशित: १५ असार २०८१ १९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App