१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आयल निगमद्वारा मध्यरातसम्म पेट्रोल बिक्री, आज बजार सहज बन्दै

नेपाल आयल निगमले सोमबार मध्यरातसम्म डिजेल र पेट्रोल वितरण गरे पछि मंगलबार बिहानदेखि बजार पेट्रोलियम पदार्थ सहज बन्दै गएको छ।

आन्दोलनरत टयांकर चालक र नेपाल आयल निगमबिच सम्झौता भएपछि चालकले सोमबारबाटै ढुवानी सुरु गरे पछि बजार सहज बन्दै गएको हो।

नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालयले सोमबार रातीसम्म पेट्रोल, डिजेल बिक्री गरेको निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले बताए। ‘चालकसँग सम्झौता भए पछि राती अबेरसम्म पेट्रोलियम पदार्थ सप्लाई ग¥यौं, कार्यकारी निर्देशक भट्टले भने, ‘आज बिहानदेखि बजार सहज बन्दै गएको छ।’

बजारको अभाव हटाउनका लागि सोमबार रातीसम्म १५ सय किलोलिटर पेट्रोल र १७ सय २४ किलोमिटर डिजेल बजारमा पठाएको नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटका प्रमुख अशोक शाहले बताए। ‘पेट्रोल पम्पले मागे जति पेट्रोल, डिजेल राती ११ बजेसम्म डिपो खोलेर दियौँ,’ शाहले भने, ‘अहिले बजार सहज बन्दै गएको छ।’ सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा सोमबार दोब्बर बढी बिक्री भएको छ।

चालकले इन्धन ढुवान नगरे पछि पम्पमा डिजेल र पेट्रोल नहुँदा सोमबार दिनभर उपत्यकामा अभाव भयो। उपभोक्ता घण्टौँ लाइन बस्न बाध्य भएका  थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको रोहबरमा नेपाल आयल निगम र आन्दोलनरत चालकबिच वार्तापछि सम्झौता भएर आन्दोलन फिर्ता भए पनि सहज बनेको हो।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेर आन्दोलनमा उत्रिएका थिए। चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलब व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

त्यसैगरी, सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने, चालक तथा सहचालकको प्रत्येक तीन महिनामा सुरक्षा सतर्कता सम्बन्धी तालिम व्यवस्थापन गर्नुपर्ने माग अघि सार्दै आएका छन्।

प्रकाशित: ४ असार २०८१ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App