१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कसका लागि बबई सिँचाइ परियोजना ?

राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ कमान्ड क्षेत्रको नहर मर्मत-सम्भारको नाममा किसान सुक्खा मौसममा समेत सिँचाइ सुविधाबाट बञ्चित हुनु परेको छ। लामो समयदेखि पानी नपर्दा मर्कामा परिरहेका किसानलाई बबई सिँचाइले नहरमा पानी नछाड्दा किसान मर्कामा परेका हुन्।

चार दशक अघिदेखि सुरु भएको बबई सिँचाइ आयोजनाबाट खडेरीको मौसममा किसानले पानी नपाउँदा उनीहरू नोक्सानी व्यहोर्न बाध्य भएका छन्। अहिले माछापालक किसानलाई पानीको आवश्यक छ।

सुक्खायाममा भूमिगत मोटरबाट निकालेको पानी पर्याप्त नहुने किसान धनिराम चौधरीले बताए। ‘गर्मीले गर्दा जग्गामा धाँजा फाटेको छ,’ उनले भने, ‘बबई सिँचाइले कहिले पानी छोड्ला भनेर आशा गर्दागर्दै लगानी डुब्ने भयो।’

बर्सेनि बबई नहर भत्किँदा पुनः निर्माण आवश्यक रहेको कार्यालयको भनाइ छ। पूर्वी मूल नहर प्रणालीमा पानी छाड्ने तयारी भइरहेको आयोजना प्रमुख सुशील देवकोटाले बतााए।

उनका अनुसार पश्चिम नहर प्रणालीमा पानी छोडेर सञ्चालन गर्नसमय लाग्छ। हचुवाको भरमा गरिएको डिजाइन र मापदण्डविपरीत नहर निर्माण भएकाले बर्सेनि नहर भत्किने गरेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार नहर भत्केको बहाना बनाएर बबई सिँचाइ आयोजनाले मर्मत-सम्भारको नाममा राज्य कोष दुरूपयोग गरिरहेको आरोप छ।

बबई सिँचाइको मूल नहर गुणस्तरहीन संरचना (स्लाप र स्लोप) भत्किएको स्थानीय दाबी गर्छन्। कार्यालयबाट प्राप्त जानकारी अनुसार ०७१ साउन अन्तिममा पश्चिम नहर प्रणालीमा २० करोड र पूर्वी नहर प्रणालीमा पाँच करोड रूपैयाँ बराबरको क्षति पुगेको थियो।

ठूलो आयोजनाअन्तर्गत पूर्वी सिँचाइको ४ नम्बर शाखाअन्तर्गत बासगढीतर्फ चार सय एक मिटर लामो स्लाप निर्माण भयो। नदीको भेलले भत्किएको भन्दै करोडौंको लगानीमा एक सय ५० मिटर लामो साइफन पुनः निर्माणमा खर्च गरेको देखिन्छ।

२०७२ र ०७३ मा नहर क्षेत्र पूरै डुवानमा परेको थियो। त्यतिबेला पनि नवनिर्मित ढोढरी नहर भत्किएकोे थियो। त्यतिखेर भत्किएको नहर मर्मत-संभार गर्न १४ करोडमा मूल नहर र नहर सुरक्षाको लागि (गाइड बन्ड) निर्माण गरिएको नहर पटक पटक भत्किएको रेकर्डमा उल्लेख छ।

यसैगरी पटक–पटक विभिन्न ठाउँमा भत्किएको नहर पुनः निर्माणमा करोडौं लगानी भइसकेको छ । बबई नदी बहाब बढ्ने बित्तिकै नहर भत्किने र पुनः टेन्डर आह्वान गरेर नहर मर्मत-सम्भार गर्ने खेल विगतदेखि नै भइरहेकोे छ। नहर बनाउने खेलमा टाठाबाठाको संलग्नता रहे पनि वास्तविक किसान बबई सिँचाइ आयोजनाबाट लाभान्वित हुन नसकेको गुनासो गर्छन्।

यसरी बर्सेनि भत्किने र बन्ने खेलमा टाठाबाठा केन्द्रीय स्तरका नेता, कर्मचारी र ठेकेदारको मिलेमतोमा हुने गरेको स्रोतको दाबी छ। यता, सिँचाइको आशामा बसेका किसानका लागि बबई सिँचाइ आयोजना नहर निर्माण कार्य ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात!’ भने झैं भएको गुनासो उपभोक्ता गर्छन्।

प्रकाशित: २० जेष्ठ २०८१ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App