१६ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण

पहाडै पहाडले घेरिएको बागलुङको बरेङ गाउँपालिकाले किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ। विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले हुँदै सल्यान जोडेको छ। ग्रामीण चक्रपथले दर्जनौं गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन्।

चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पुर्‍याएको छ। चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पुर्‍याउनसमेत सहज हुने भएको छ।

गाउँपालिकाले सात करोडको लगानीमा सो चक्रपथ निर्माण गरेको हो । चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पुर्‍याउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उनको भनाइ छ।

चक्रपथले धेरै गाउँ जोडेको हुँदा कुनै पनि नागरिक सडकको पहुँचभन्दा बाहिर नरहेको अध्यक्ष शर्मा बताउँछन्। ग्रामीण क्षेत्रमा चक्रपथ निर्माण चुनौतीपूर्ण भए पनि आफूहरूले ठूलै लगानी गरेर सम्पन्न गरेको उनको भनाइ छ। अब चक्रपथको स्तरोन्नति गरिने उनले बताए।

‘लामो समय मेहनत गरेर चक्रपथ निर्माण गरिएको छ, यसले पालिकाभित्रका धेरै गाउँबस्तीलाई जोड्ने हुँदा हजारौं नागरिक लाभान्वित हुने छन्, यसबाट किसानले बढी लाभ लिने छन्’, अध्यक्ष शर्माले भने, ‘यो सडक गाउँपालिकाको गौरवको आयोजना हो। हरेक वर्ष हाम्रो प्राथमिकतामा पर्छ, सडक खुलेपछि कृषि उपज बजारीकरण गर्न सहज भएको छ।’

स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताए। यसअघि पालिकाको केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा अहिले ४५ मिनेटमै पुग्न सकिने उनले बताए।  

प्रकाशित: ११ जेष्ठ २०८१ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App