३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

जलवायु र दिगो विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्णः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

चन्द्रागिरि, काठमाडौंमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा बोल्दै ढकालले नेपालको प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताए।

ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रतर्फको संक्रमणलाई बढावा दिन जलवायु वित्तीय व्यवस्थापनको महत्त्वपूर्ण आवश्यकतामा जोड दिए। ढकालले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहलहरू उदाहरणसहित प्रस्तुत गरेका थिए।

विशेष गरी ग्लोबल आईएमई बैंक र ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड बीचको २५ मिलियन डलर सम्झौता, जसले कार्बन उत्सर्जन र ऊर्जा माग घटाउने उद्देश्य राखेका परियोजनाहरूलाई वित्तीय सहायता गर्नेछ।

वित्तपोषणले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता परियोजनाहरूलाई बलियो बनाउनेछ, लघु, साना तथा मझौला उद्योगलाई लाभ पु¥याउने र नेपालको जलवायु प्रतिरोध क्षमता बढाउनेछ।

उनले निजीक्षेत्रले नेपालमा जलवायु मैत्री लगानी विस्तार गरेको बताउँदै जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन तथा अन्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको बताए। ‘जलविद्युत्मा निजी लगानीले एक हजार सात सय ४४ मेगावाट विद्युत् उत्पादन गरेका छन्। विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा परियोजनाहरू बढ्दै गइरहेका छन्, जसले गैरनवीकरणीय स्रोतहरूप्रति  निर्भरता घटाउँदैछ।’

विद्युतीय सवारी साधनमा कम भन्सार शुल्क जस्ता सरकारी नीतिहरूले नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई थप समर्थन गरिरहेका छन्। ढकालले जलवायु मैत्रीपूर्ण लगानीको निरन्तर विस्तार र सशक्त सार्वजनिक–निजी साझेदारीका लागि आह्वान गरेका छन्।

उनले राष्ट्रिय रणनीतिहरूमा जलवायु वित्तीय व्यवस्थापनलाई समावेश गर्ने, अनुदान वित्तपोषण र प्रविधि हस्तान्तरणका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहयोगको महत्त्वलाई जोड दिए। यस किसिमको साझेदारीले नेपालको सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य भेटाउन सहयोग पुग्ने उनले बताए।

ढकालले जलवायु वित्तीय व्यवस्थापनको लागि नेपालको निजीक्षेत्रको प्रतिबद्धता पुनः पुष्टि गर्दै सम्भावित साझेदारहरूलाई जलवायु परिवर्तनको समाधानमा सहकार्य गर्न प्रोत्साहित गरे।

प्रकाशित: ११ जेष्ठ २०८१ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App