२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यावसायिक क्षेत्रमा ‘चेक बाउन्स’ को पिरलो

आर्थिक वर्ष २०७९/०८० मा कास्की प्रहरीमा चेक अनादर (बाउन्स) का मात्र ५१७ वटा मुद्दा दर्ता भए। चालु आर्थिक वर्ष (२०८०/०८१) को १० महिनामा यो संख्या ७१७ पुगिसकेको छ। चालु आर्थिक वर्ष सकिन अझै केही समय बाँकी रहेकाले चेक बाउन्सका मुद्दा अझ बढ्ने पक्काजस्तै रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाका अनुसार कास्की प्रहरीले चेक बाउन्स कसुरमा अघिल्लो आर्थिक वर्षमा २९४ जना तथा चालु आर्थिक वर्षमा २२९ जना अभियुक्तलाई पक्राउ गरी कानुनी प्रक्रिया समेत चलाइसकेको छ।

प्रहरीले चेक बाउन्सबारे परेका ठाडो उजुरीको संख्या भने यसमा गणना गरेको छैन। एसपी थापाका अनुसार ठाडो उजुरीका संख्या अझ बढी छन्। ठाडो उजुरीसमेत गणना गर्दा चालु आर्थिक वर्षको अहिलेसम्म चेक बाउन्सका मात्र आठ हजार मुद्दा पुुग्छन्। ठाडो उजुरीका मुद्दा धेरै नै मिलिसकेको प्रहरीको भनाइ छ। ‘प्रहरीमा पर्ने उजुरीमध्ये ४० प्रतिशत संख्या चेक बाउन्सका हुने गरेका छन,’ एसपी थापाले भने, ‘चेक बाउन्सका मुद्दा डरलाग्दो गरी थपिएका छन्। दिनहुँ संख्या थपिन्छन्।’

उनका अनुसार चेक बाउन्सका दिनकै २५ वटाभन्दा बढी उजुरी प्रहरी कहाँ आउँछन्, ती सबै दर्ता र अनुसन्धान गर्ने जनशक्ति पनि प्रहरीसँग छैन। ‘मुद्दा दर्ता गरेपछि फाइल तयार पार्नुपर्छ, अनुसन्धान गर्नुपर्छ,’ पोखरा उद्योग वाणिज्य संघले गरेको बढ्दो चेक अनादर (बाउन्स) र यसले निम्त्याएका समस्या एवं समाधानका उपायबारे विज्ञसहितको अन्तरक्रियामा एसपी थापाले भने। उनका अनुसार एक वर्षयता चेक बाउन्सको हकमा कानुनले नै मिलापत्र गर्न सक्ने अवसर प्रदान गरेको छ।

‘हामीले सुरुमा चेक बाउन्सको हकमा ठाडो उजुरी लिन्छौं, पीडकलाई बोलाउँछाैं, त्यसरी बोलाउँदा उहाँ (पीडक) आएको खण्डमा मिलापत्र हुँदै पनि आएको छ। मिलापत्र नहुने मुद्दा चाहिँ अगाडि बढ्छ,’ उनले भने।

उनका अनुसार प्रहरीकहाँ आउने धेरैजसो चेक बाउन्सका मुद्दा घरजग्गा, गाडी, वैदेशिक रोजगारसँग सम्बन्धित छन्। सहकारीको चेकका समस्या र मिटरब्याजी पनि उस्तै डरलाग्दो रहेको उनले सुनाए। त्यसो त, व्यापारिक कारोबारमा चेक बाउन्स हुने क्रम बढेको उनले बताए।

‘मिटरब्याजीले सुरुमै ५० लाख रूपैयाँ दियो भने एक करोड रूपैयाँको चेक लिँदो रहेछ। सहकारीले पनि धितो नखोज्ने तर सुरुमै ब्याजसमेत जोडेर चेक लिएर राख्ने गरेको पाइयो,’ उनले भने, ‘जग्गाको हकमा चाहिँ जग्गा पास गर्ने बेला मालपोतमा जति थैली देखायो, त्यति पैसा दिने र बाँकीको चेक दिने गरेको पाइयो।’

चेक जारी गरेको मितिले ६ महिनाभित्र तीन पटकसम्म ती चेक साटिएनन् भने त्यसलाई चेक बाउन्स भनिने उनले बताए। सम्बन्धित बैंकले ‘खातामा पर्याप्त रकम नभएको’ भन्ने जानकारीसहित चेक बाउन्सको चिठी दिएपछि प्रहरी कहाँ उजुरी गर्न पाइने प्रावधान छ। उजुरीकर्ताले जुन जिल्लामा चेक बाउन्स भएको हो त्यही जिल्लाको प्रहरीसमक्ष उजुरी दिनुपर्छ।

चेक बाउन्स भएपछि सम्बन्धित व्यक्तिलाई बैंकको कालोसूचीमा राख्ने, चल–अचल सम्पत्ति रोक्का गरी प्रहरीले अनुसन्धान अगाडि बढाउने उनले सुनाए। प्रहरीले आरोपितलाई आपराधिक रेकर्ड सिस्टममा पनि राख्छ। उसले त्यस्ता आरोपितलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अनुसन्धान सकेर प्रहरीले ६ महिनाभित्र त्यो मुद्दा अदालतमा दायर गर्नुपर्छ। ‘बैंकिङ कसुरभित्र १२ वटा जति विषय समेटिएका छन्, चेक बाउन्स त्योमध्ये एउटा हो।

 सामान्यतः चेक बाउन्समा अभियुक्तलाई तारेखमै छाडेर पनि अनुसन्धान गर्न सकिन्छ तर त्यस्ता व्यक्तिले पीडितलाई धम्क्याउने भएकाले हामीले हिरासतमै राखेर अनुसन्धान गर्ने गरेका छौं,’ प्रहरी उपरीक्षक थापाले भने, ‘चेक बाउन्समा जस्तोसुकै अवस्थामा पनि मिलापत्र हुने व्यवस्था भने रहेका छ।’

उनका अनुसार बैंकिङ कसुरमा अनधिकृत रूपमा खाता खोल्ने, रकम भुक्तानि माग गर्ने, पैसा नहुँदा पनि भुक्तानिको लागि चेक काट्ने, विद्युतीय माध्यमबाट अनधिकृत रूपमा भुक्तानि लिने–दिने लगायतका विषय समेटिएका छन्। यस्ता कार्य रोक्नको लागि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ देखि दूरसञ्चार ऐन, सहकारी ऐन, मुलुकी अपराध संहिता, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ लगायतका कानून आकर्षित हुन्छन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले पछिल्लो समय चेक बाउन्सका घटना बढ्दै जाँदा त्यसको मारमा व्यवसायी पनि परेको बताए। बजार सुस्ताउँदा नगद कारोबारभन्दा पनि उधारो चेकको कारोबार बढेको प्रति राज्य संवेदनशील बन्नुपर्ने उनको भनाइ थियो। ‘बजार सुस्ताएको छ। नगदमा कारोबार हुनै छाड्यो। उधारो चेकको भरमा कारोबार गर्दा व्यावसायलाई नै सकस थपियो,’ प्रजापतिले भने, ‘यसले व्यवसायीमाथि चिन्ता थपिएको छ।’

उनले चेक बाउन्स हुँदा कानुनी उपचार कहाँ खोज्ने, प्रहरीकहाँ जाँदा कसरी उजुरी दिने र अदालतमा जाँदा कस्तो प्रक्रिया अपनाउने भन्नेबारे जानकारी दिन आवश्यक रहेको बताए।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले चेक बाउन्सको चपेटामा आम उद्योगी व्यवसायी पर्न थालेको बताए। ‘आर्थिक कारोबार गर्न पनि डराउनुपर्ने अवस्था आएको छ,’ उनले भने ।

व्यवसायीसँगको छलफलमा बैंकर्स एसोसिएसन गण्डकीका संयोजक सूर्यप्रसाद तिवारीले उधारो कारोबार नगर्नु नै चेक बाउन्सबाट बच्ने उपाय भएको बताए। उनले अहिले विद्युतीय भुक्तानी प्रणालीको विकास भएको दृष्टान्त दिँदै तत्काल भुक्तानी माग्न र अनधिकृत काम नगर्न पनि सुझाए।

बैंकिङ कसुरमा कोही व्यक्ति कालोसूचीमा परेपछि उसका सबै आर्थिक कारोबार बन्द हुने, त्यो मुद्दामा सन्तति पनि प्रभावित हुने उनको भनाइ थियो। ‘बैंकले सकेसम्म चेक बाउन्स गराउने खराब व्यक्तिलाई ग्राहक बनाउन पनि खोज्दैन,’ उनले भने।

प्रकाशित: १० जेष्ठ २०८१ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App