२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लगानी सम्मेलनमा डेढ सय आयोजना ‘सोकेस’

मुलुकमा विदेशी लगानी भित्र्याउन सरकारले आइतबार र सोमबार लगानी सम्मेलन आयोजना गरेको छ। मुलुकको विकास र समृद्धिका लागि स्वदेशी पुँजीले मात्र अपुग भएपछि सरकारले विदेशी लगानी आकर्षित गर्न बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गरेको हो। लगानी सम्मेलनका लागि डेढ सय आयोजना तयार गरेको लगानी बोर्डले जनाएको छ। सम्मेलनमा करिब १६ सय लगानीकर्ता सहभागी हुने भएका छन्। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी हुँदै छन्। सम्मेलनमा चीन, भारत, संयुक्त राज्य अमेरिका, जापान, संयुक्त अधिराज्य बेलायत, बंगलादेश, संयुक्त अरब इमिरेट्स (युएई), जर्मनी, दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसियालगायतका मुलुकका लगानीकर्ता आएका छन्। लगानी सम्मेलन बारे सरोकारवालाले राखेका धारणाको सम्पादित अंश :

लगानीमैत्री वातावरण छ

वर्षमान पुन, अर्थमन्त्री

लगानी सम्मेलनको यो तेस्रो संस्करण हो। यो विगतको सिकाइबाट सिकेको पाठलाई व्यवहारमा उतार्ने समय हो। हामीले अन्य देशमा भएका यस्तै घटनाहरूको नतिजाको पनि अध्ययन गर्‍यौं, उनीहरूले प्रतिज्ञा गरेको रकमको लगभग ३० प्रतिशत मात्र प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेको देखाउँछ। हाम्रो अवस्थामा, प्राप्ति दर ३५ –४० प्रतिशत छ।

विगतको सिकाइको आधारमा हामीले हालका लगानीकर्तालाई बोलाएका छौं। लगानी गर्न तत्पर विश्वव्यापी क्षेत्रका लगानीकर्ता र नेपाली लगानीकर्ताको सफलताका कथाहरू हामीले सम्मेलनमा प्रस्तुत गरिरहेका छौं।

नेपालमा लगानीमैत्री वातावरण छ। नेपालमा लगानी गर्न र नेपालबाट नाफा फिर्ता गर्न सजिलो छ। विदेशी लगानीकर्ताले राम्रो आम्दानी गरिरहेका छन्। नेपालले जलविद्युत्, सूचना प्रविधि, कृषि, पर्यटन, खानी र खनिजमा उच्च सम्भावनाह प्रदान गर्दछ। हामी विदेशी लगानीकर्तालाई आमन्त्रित गर्न चाहन्छौं।

हामीले विदेशी विशेषज्ञ, नीति निर्माताहरू, बहुपक्षीय दाताहरूलाई बोलाएका छौं। सम्मेलनबाट अधिकतम लाभ लिनुपर्छ। सम्मेलनले सरकारलाई विभिन्न मोर्चाबाट सुझाव पनि प्राप्त हुने छ। यसले आवश्यक सुधारका लागि कानुन बनाउन सहयोग पुग्ने छ।

सरकारी नीति र व्यवस्थापकीय पक्षका आधारमा सुधारसहित वैध लगानी प्रवद्र्धन गर्न सरकार तत्पर छ भन्ने सन्देश लगानी सम्मेलनले दिनेछ। हामी लगानी आमन्त्रित गर्न केही परियोजनाहरू प्रदर्शन गर्छौं। हामी नयाँ परियोजनाहरूको मोडालिटीमा छलफल गर्न प्लेटफर्महरू प्रदान गर्ने छौं।

विदेशमा भएका राम्रा अभ्यासहरूको जानकारी लिँदा हामीले हाम्रा राम्रा अभ्यासहरू प्रस्तुत गर्नेछौं। सम्मेलनमा सरकारी र निजी क्षेत्रका आयोजनाहरू प्रस्तुत गर्छौं। कतिपयमा नयाँ लगानी र कतिपयमा थप लगानी गर्नुपर्ने आयोजना छन्। लगानीकर्ताको रुचिअनुसार छलफल हुनेछ। लगानीकर्तालाई आकर्षित गर्न हामी यसलाई भविष्यमा प्रक्रियाको रूपमा निरन्तर अगाडि बढाउनेछौं।

सम्मेलन कुनै राजनीतिक दलको स्वामित्वमा छैन । पूर्व अर्थमन्त्रीहरू जुनसुकै राजनीतिक दलका भए पनि प्यानलमा राखेका छौं। स्वदेशी लगानी र सरकारी खर्चमा समेत वृद्धि हुने गरी पुँजीको खाडल पूर्ति गर्ने गरी सम्मेलनमार्फत विदेशी लगानी बढाउने लक्ष्य राखेका छौं। हामीले जलविद्युत् उत्पादनको दीर्घकालीन भिजन बनाएका छौं। लगानीमैत्री वातावरण र थप रोजगारी सिर्जनाका लागि सधैं तत्पर छौं।

विगतका सरकारहरूले बनाएका राम्रा अभ्यासलाई हामी परिवर्तन गर्दैनौं। सरकारले नेपाली अर्थतन्त्रको क्रेडिट रेटिङ सुरु गरेको छ। यसले विदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरणका लागि सरकारले गरेको पहलमा पनि थप पारदर्शिता सुनिश्चित गर्नेछ। लगानीसम्बन्धी नीतिलाई सहज बनाउन र लगानीको मात्रामा लचिलोपन र कम्पनी दर्ता प्रक्रियामा हुने प्रक्रियागत झन्झटलाई कम गर्न तत्पर छौं।

एफडिआई जहाँबाट आए पनि सरकारले उचित व्यवहार गर्ने छ। लगानी बोर्ड नेपाल, उद्योग मन्त्रालयलगायत विभिन्न सरकारी निकायले लगानीकर्तासँग समन्वय गर्ने गरेका छन्। नीतिगत दृष्टिले उनीहरूलाई सहज बनाउन अर्थ मन्त्रालयले मुख्य भूमिका निर्वाह गर्छ। राजस्वसम्बन्धी नीति र लगानीमैत्री कर नीतिका सन्दर्भमा निकायहरूसँग समन्वय गर्न अर्थ मन्त्रालय प्रतिबद्ध छ।

 

भरपर्दो लगानीको गन्तव्य

सुशील भट्ट, प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड

ठूला लगानीकर्ता मात्र नभई सम्भाव्य साना तथा मझौला उद्योगी व्यवसायीहरूको पनि पहिचान गरी सम्मेलनमा सहभागी गराएका छौं। सम्मेलनमा निजी लगानीको पारस्थितिक प्रणालीसँग जोडिएका सबै क्षेत्रहरूको आवद्धता हुने गरी सहभागिता सुनिश्चित गरिएको छ। बैंक तथा वित्तीय क्षेत्र, अन्तर्राष्ट्रिय लगानीकर्ता, विकास साझेदार तथा दातृ निकायलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहन्छ।

लगानीको वातावरण सुधार हुने सन्देशसँगै सम्मेलनको समग्र व्यवस्थापन पक्ष र परियोजना ‘सोकेस’ लगायतका कुरामा गम्भीर भएर काम गरेका छौं। सम्मेलनको मूलभूत उद्देश्य हामीले गरेका सुधारका काम, तिनको सम्भावित बजारको अवस्थाबारे जानकारी दिने र लगानीकर्ताको सुझाव लिने पनि हो।

लगानीको प्रचुर सम्भावना भएका र रूपान्तरणका संवाहक क्षेत्रका रूपमा हामीले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायत क्षेत्रलाई भनिरहेका छौं। ती क्षेत्रको सम्भावनालाई तथ्य–तथ्यांकमा आधारित भएर लगानीकर्तालाई जानकारी गराउनका लागि पनि ‘प्रि–इभेन्ट्स’ आवश्यक थिए। सँगसँगै हाम्रा नीति, ऐन, नियम, कार्यविधिहरूले निर्दिष्ट गरेका प्रावधान, त्यसको विधि प्रक्रिया र विद्यमान आर्थिक ऐनले लगानीकर्तालाई दिने सेवा सुविधाका कुरालाई लिपिबद्ध गरेर हामीले क्षेत्रगत प्रोफाइल बनाएका छौं।

पहिलो लगानी सम्मेलनका क्रममा नेपाल लगानीका लागि सम्भाव्य गन्तव्य हो भन्ने सन्देश दिएका थियौं भने दोस्रो सम्मेलनमार्फत उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिन सफल भयौं। अहिले कोभिड महामारीलगायत विभिन्न कारणले सिर्जित आर्थिक एवम् वित्तीय समस्यापछि लगानीको वातावरण बनाउन हामीले गरेका काम तथा अथक प्रयासबारे लगानीकर्तालाई जानकारी दिन्छौं। लगानी र त्यसको सफल नतिजाको अवस्थाको जानकारी पनि लगानीकर्तालाई हुन्छ।

अब नेपाल उपयुक्त मात्र नभई भरपर्दो लगानीको गन्तव्य पनि हो भन्ने सन्देश दिनु छ। हामीले गरेका सुधारका प्रयासबारे लगानीकर्तालाई जानकारी दिने, विभिन्न विषयगत सत्रहरूमा क्षेत्रगत जानकारी गराउने र राय सुझाव पनि लिने अभिप्रायका साथ लगानी सम्मेलनको कार्यक्रम, ढाँचा र कार्यतालिका तय भएको छ।

प्रिइभेन्ट्सहरूमा नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो भन्ने बुझाउन सफल भएका छौं। हामीले लगानी बोर्डको कार्यक्षेत्रभित्र पर्ने ठूला लगानीकर्ताको मात्र नभई साना लगानीकर्ता पनि उत्तिकै महत्व दिएका छौं।

निजीक्षेत्रको लगानीको पारिस्थितिक प्रणालीमा साना आयोजना र लगानीकर्ताको महत्व पनि उत्तिकै छ । स्वरोजगार हुने मात्र नभई गुणस्तरीय रोजगारी सिर्जनामा पनि साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका रहन्छ। लगानी सम्मेलन राष्ट्रिय उत्सव हो। लगानी सम्मेलनका लागि निजी क्षेत्रका छाता संगठनहरूलाई सहआयोजक बनाइएको छ।

विगतमा प्रतिवद्धता आएका लगानीकर्तालाई खोज्ने काम पनि हामीले गरिहेका छौं। विगतमा केही कारणले बाहिरिएका वा नेपालमा लगानी भित्र्याउन चाहेका लगानीकर्तालाई के कति कारणले उनीहरू आउन सकेनन् भनेर पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्ने नीति लिइएको छ। 

विगतमा लगानीकर्ताले खोजेको विषय हामीले दिन नसकेका थियौं होला अथवा दुई पक्षको रुचि नमिलेको अवस्थामा लगानी नगरेका लगानीकर्तालाई फकाउने र दुवै पक्षको आपसी सहमतिमा लगानी भिœयाउने वातावरण अंगीकार गर्नेतर्फ हामी लाग्छौं। –(राससलाई दिइएको अन्तरवार्ताबाट)  

नेपालमा लगानीको अवसर

चन्द्रप्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

लगानी सम्मेलनको नारा ‘उदीयमान नेपाल’ ले हाम्रो राष्ट्रिय दृष्टिकोण झल्काउँछ। नेपालमा पर्यटन, पूर्वाधार, ऊर्जा, कृषि र प्रविधि लगायतका क्षेत्रमा लगानी गर्ने अवसर छ। रणनीतिक रूपमा नेपालमा अतुलनीय लगानीको अवसर रहेको छ। दुई शक्तिशाली अर्थतन्त्र चीन र भारतको निकटता, २.७ अर्बभन्दा बढी मानिसको बजार आकार भएकाले नेपालका लागि विशाल बजार छ।

नेपालमा नवीकरणीय ऊर्जामा ठूलो अवसर छ। भारतसँग दश हजार मेगावाट ऊर्जा बिक्री गर्न भर्खरै ऊर्जा व्यापार सम्झौता र बंगला देशसँगको दीर्घकालीन ऊर्जा व्यापार सम्झौता भएको छ। नेपालमा उत्पादन भएको जलविद्युत्को भारत, बंगलादेश र अन्य दक्षिण एसियाली देशहरूमा व्यापारको अपार सम्भावना रहेको छ।

पर्यटनमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले विश्वभरका पर्यटकलाई स्वागत गर्न विमानस्थल, सडक, केबलकार, पार्क, होटल र रिसोर्टलगायतका आधुनिक पूर्वाधारको पर्खाइमा छ।

भारत र चीनबाट बढ्दो आउट बाउन्ड पर्यटनले नेपालको सुन्दर हिमाल र हिउँले ढाकिएको हिमालको अवसर प्रदान गरेको छ। आइसिटी लगानीका लागि अर्को आशाजनक क्षेत्र हो। प्रचुर मात्रामा र युवा जनशक्ति, र जीवन्त उद्यमशीलताको भावनाको साथ, नेपाल आइसिटी व्यवसाय र नवप्रवर्तनको लागि फस्टाउँदै गरेको हबको रूपमा उभरिरहेको छ।

दक्ष जनशक्तिको माग र उपलब्ध आपूर्तिबीचको महत्वपूर्ण अन्तरलाई ध्यानमा राख्दै प्राविधिक शिक्षामा लगानी नेपालको अर्को आशाजनक क्षेत्र हो। धेरै बेरोजगार युवाहरूले स्वदेश र विदेशमा अवसरहरू खोजिरहेका छन्, प्राविधिक विद्यालयहरू स्थापना गर्नुले दुई महत्वपूर्ण उद्देश्यहरू पूरा गर्नेछ। दक्ष श्रमको घरेलु अभावलाई सम्बोधन गर्ने र दक्ष कामदारहरू विदेश पलायन हुँदा रेमिट्यान्स आप्रवाहलाई बढाउन मदत गर्दछ।

नेपालको अर्थतन्त्र निकै अगाडि बढेको छ। सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा परिणत हुँदैछ। तसर्थ, लगानीको आवश्यकता छ । सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न व्यवसायमैत्री नीति बनाएको छ। १२ कानुन र नीतिको परिमार्जन गरेर लगानीको वातावरण तयार गरेको छ। विदेशी लगानीलाई सहज बनाउन ऐन, कानुन सरलीकृत भएका छन्।

नेपालका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघले भारतको नयाँ दिल्ली, बेइजिङ र दुबईमा भर्खरै सम्पन्न सम्मेलनले लगानीकर्ताको विश्वास बढाउन र नेपालमा लगानी विस्तार गर्न मदत गरेको छ। नेपाली निजी क्षेत्र सबै सम्भावित क्षेत्रहरूमा संयुक्त रूपमा उद्यम गर्न प्रतिबद्ध छौं।

सम्मेलनले आशाको सञ्चार  

राजेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ

लगानी सम्मेलनलाई हामीले उत्साहप्रद तवरले हेरेका छौं। अर्थतन्त्रमा निराशा उत्पन्न भइरहेका बेला यति ठूलो लगानी सम्मेलन आयोजना भएको छ। यसलाई एकदमै सकारात्मक रूपमा लिएका छौं। स्वदेशी उद्योगी व्यवसायीहरूमा बढेको निराशालाई लगानी सम्मेलनले आशाको सञ्चार गर्ने छ भन्ने हाम्रो अपेक्षा छ।

लगानी सम्मेलनबाट विदेशी लगानी ल्याउने सरकारको योजना छ। विदेशी लगानीको सम्भावनाका क्षेत्रहरू धेरै छन्। हाइड्रोपावर, टुरिजम, सर्भिस सेक्टर, आइटी लगायतका क्षेत्रहरू विदेशी लगानी आउनुपर्छ। अन्य थुप्रै क्षेत्रहरूमा एफडिआई ल्याउन सकिन्छ।

विदेशी लगानीकर्ताले लगानीको प्रतिवद्धता गर्नासाथ तुरुन्तै लगानी आउँछ भन्ने होइन्। किनभने प्रोजेक्ट स्थापना गर्न प्रक्रियागत रूपमा ३÷४ वर्ष लाग्छ। प्रतिवद्धताअनुसार लगानी किन आएन भन्ने विषयमा सरकारी निकायबाट पनि ‘फलोअप’ हुनुपर्छ। के कारणले प्रतिवद्धताअनुसार लगानी आएन भनेर ? सोधखोज गर्नु महत्वपूर्ण हुन्छ।

त्यस्तो खालको फलोअप विगतका दुई वटा लगानी सम्मेलनपछि पनि भएनन्। लगानीकर्ता आउँछ, बुझ्छ र फर्केर जान्छ। त्यसपछि कसैले सोध्दा पनि सोध्दैन। लगानीकर्ता अन्य मुलुकमा जान्छन्। किनभने उसलाई जहाँ बढी समस्या समाधानको ‘सोधखोज’ गरेर सहज वातावरण बनाइन्छ, उसले त्यहीँ लगानी गर्न चाहन्छ नि ! त्यसकारण, यी दुई पाटोबाट हामीले सोचविचार गर्नुपर्छ।

छुट्टै ‘डेस्क’ खडा गरेर लगानी आकर्षित गर्ने, फलोप र इन्क्वायरी गरिरहने, उनीहरूका आवश्यक कागजात उपलब्ध गराउने, जवाफ दिनेलगायतका काम गर्न लगानी बोर्डलाई परिसंघले यसअघि नै सुझाव दिइसकेको छ। विदेशी लगानीकर्तालाई सरकारले सहजीकरण गरिदिनुपर्छ। उनीहरूको लगानीको सुरक्षा, वित्त नीति, मुनाफा लैजान सहज वातावरण सरकारले बनाइदिनुपर्छ।

त्यस्तै, नीतिगत र राजनीतिक स्थिरता पनि कायम राख्नुपर्छ। हरेक वर्ष बजेटमा ‘पोलिसी’ परिवर्तन गर्दै गएर पनि हुँदैन। व्यक्तिपिच्छै नै कानुनको व्याख्या गर्ने परिपाटी बसेको छ। त्यसमा पनि सुधार हुनुपर्छ। कानुनको व्याख्या आधिकारिक तवरले कसरी एकरूपता ल्याउन सकिन्छ भनेर हामीले सरकारलाई सुझाव पनि दिइसकेका छौं।

परिसंघले नेपालभर ‘मेड इन नेपाल’ भनेर अभियान चलाइरहेका छौं। जसमा सरकारको पनि साथ छ। औद्योगिक विकास रणनीति बनाउनुपर्ने परिसंघले माग गर्दै आएको छ। त्यसका लगि हामीले आत्मनिर्भर हुन सक्ने र आत्मनिर्भरउन्मुख उत्पादनहरूको पहिचान गरेर स्वदेशमै उत्पादन गर्ने वातावरण सिर्जना गर्नुपर्छ। त्यसमा सरकारले नीतिगत रूपमा सहजीकरण र सहुलियत सुविधा दिने वा त्यस्ता वस्तुको भन्सार वृद्धि गरेर भए पनि मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने परिसंघको माग छ।

 

लगानीका लागि आकर्षक गन्तव्य हो नेपाल

कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

लगानी सम्मेलनको दीर्घकालीन प्रभाव हुन्छ। अहिले लगानीको सम्भावना र अवसर देखिइरहेको छ। लगानीकर्तालाई नेपालबारे बुझाउने र लगानीका लागि आकर्षित गर्ने काम लगानी सम्मेलनमार्फत हुने छ। यसको नतिजा दीर्घकालमा देखिन्छ। सम्मेलनमा सोकेसमा राखेका परियोजनाको अवस्था हेरेर लगानीकर्ताले विकासको सम्भावना कति छ भनेर मूल्यांकन गर्छन्।

लगानीकर्ताको जोखिम बहन क्षमतामा ह्रास आएको छ । यस्तो बेलामा लगानीको ठूलो महŒव र आवश्यकता हुन्छ। लगानी नभई रोजगारी सिर्जना हुन सक्दैन। निजी क्षेत्र पनि सहआयोजक हुनु अघिल्ला दुई सम्मेलनभन्दा तेस्रो सम्मेलनको फरकपन हो। सम्मेलनमा लगानी गर्ने प्राथमिकताको क्षेत्रहरू पहिचान गरिसकिएको छ।

सरकारी पक्षबाट मात्र नभई निजी क्षेत्र–निजी क्षेत्र (बिटुबी) मा पनि सहकार्यका लागि सम्मेलन फलदायी हुने विश्वास लिएका छौं । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, अन्य पूर्वाधार क्षेत्र लगानीका उत्कृष्ट क्षेत्रका रूपमा पहिचान भएका छन् । लगानीमैत्री वातावरण बनाउन सरकारले कानुनी सुधार गरेको छ।

सरकारले लगानी सम्मेलनकै समयमा कानुन सुधार गरेर लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बन्दै गएको सन्देश दिन चाहेको देखिन्छ। लगानीमैत्री वातावरण बनाउन तत्पर छाैं भनेर सरकारले प्रतिबद्धता पनि सम्मेलनमार्फत लगानीकर्तालाई गर्ने छ। नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भनेर एउटा आधार तयार पार्ने लक्ष्य मात्र भएकाले यसमा अरू धेरै सकारात्मक पक्षहरू लगानी सम्मेलनपछि बिस्तारै देखिँदै जान्छ। 

नेपालमा लगानीका लागि उत्कृष्ट वातावरण बनेको छ भनेर सन्देश दिन सरकारले मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन कन्ट्री रेटिङ) को प्रक्रिया सुरु गरिसकेको छ। विदेशी लगानी भित्र्याउन मुख्य तीनवटा कुरा महत्वपूर्ण हुन्छ। पहिलो सहज प्रवेश (इजी इन्ट्री), दोस्रो सहज निकास (स्मुथ एक्जिट) र तेस्रो लगानीको प्रतिफल फिर्ता लैजान सक्ने वातावरण (प्रोफिट रिपेट्रिएसन) हो।

लगानीकर्ता नाफा कमाउन आउने भएकाले उनीहरूले यहाँ कमाएको नाफा सहज रूपमा आफ्नो देश लैजान वातावरण बनाउनु पर्छ। सम्मेलनमा सरकार र विदेशी लगानीकर्ताबीच मात्र नभई नेपालको निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच पनि विभिन्न सम्झौता र समझदारी हुनेछन्।

विभिन्न देशका लगानीकर्तासँगको सम्बन्ध स्थापना तथा विस्तारका लागि पनि सम्मेलन महत्वपूर्ण हुन्छ। सरकारले लगानी सम्मेलनलाई नै लक्षित गरेर बहुपक्षीय लगानी सम्झौता (बाइलेटरल इन्भेष्टमेन्ट एग्रिमेन्ट–बिइआइए) सँग सम्बन्धित कार्यविधि तयार पारेको छ।

 

लगानीको वातावरण तयार गर्नुपर्छ

शोभा ज्ञवाली, अध्यक्ष, महिला उद्यमी महासंघ नेपाल

यसपालिको लगानी सम्मेलनबाट हामीले धेरै नै आशा राखेका छौं। अनेक संभावना देखेका छौं। हाम्रो देशमा लगानी गर्नका लागि लगानीको वातावरण तयार गर्नुपर्छ। हामी जनता पनि आर्थिक रूपमा कसरी अघि बढ्ने भनेर सोचिरहेका छौं।

नीतिगत स्पष्टता हुन सके हाम्रो कृषि क्षेत्रमा धेरै ठूलो सम्भावना छ। त्यस्तै, जडिबुटीजन्य वस्तुमा पनि उत्तिकै सम्भावना छ। जडिबुटी त नेपालबाट तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ।

त्यस्तै, ह्यान्डिक्रयाफ्ट, जलविद्युत्, ग्रीन इनर्जी, माइक्रो इनर्जीको पनि उत्तिकै सम्भावना छ। हालै म जुम्ला पुगेको बेला त्यहाँका दिदीबहिनी र स्थानीयले माइक्रो हाइड्रो चलाएर बिजुली बालिरहेको देखेको थिएँ। यी र यस्ता क्षेत्रहरूमा लगानी गर्‍यो भने सम्भावना धेरै रहेको छ। भारत र बंगलादेशलाई विद्युत् निर्यात गर्ने सरकारको लक्ष्य छ। लक्ष्य पूर्ति गर्न सक्यौं भने पनि हामीले विदेशी लगानी भित्र्याउन सक्छौं।

खासगरी, इमान्दार र कर्मठ नेपालीलाई साझेदार बनाएर लगानी भित्र्याउन सक्यो भने विदेशी लगानीकर्तालाई कुनै समस्या हुँदैन। हाम्रो परम्परागत कला, कौशल, देखाउँदै ‘पाहुनालाई अतिथि देवो भव’ का रूपमा मानेर काम गर्छौं। त्यसकारण हामीसँग पिपिपी मोडलका विदेशी लगानी ल्याउन सक्यौं भने मुलुक समृद्धिको दिशामा अघि बढ्ने छ।

साना तथा मझौला उद्योगमा ५२ प्रतिशत कर्मशील महिला आवद्ध छन्। महिलामा लगानी गर्दा साना तथा मझौला व्यवसाय पक्कै अघि बढ्ने छ। खासगरी, कृषि, जडिबुटी, कटन, अल्लो, सिल्क, ह्यान्डीक्राप्ट, फलफूलजन्य व्यवसाय र उद्यम गर्ने महिलाहरू पनि यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। त्यसकारण सरकारले व्यवसायमैत्री नीति बनाएको खण्डमा यो सम्मेलन सफल हुनेछ। यो नै अहिलेको उद्यमी महिला दिदीबहिनीको ठूलो अपेक्षा हो।

प्रकाशित: १६ वैशाख २०८१ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App