२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गर्मी बढेसँगै रात्रिकालीन व्यापार गर्न पाउनुपर्ने माग

फाइल तस्वीर

गर्मी बढेसँगै रौतहटका व्यवसायीले राति अबेरसम्म पनि व्यापार गर्न पाउनुपर्ने माग गरेका छन्। रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालको नेतृत्वमा बुधबार रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसहित भेट्न गएको व्यवसायीको टोलीले राति साढे दश बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।

व्यापार व्यवसाय धराशयी बन्दै गएको तथा दिउँसो अत्यधिक गर्मी भएर सर्वसाधारण घरबाट बाहिर निस्कन पनि मुस्किल भएको र राजस्व पनि निकै कम उठिरहेको सबै सन्दर्भलाई विचार गरेर राति साढे दश बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने माग आफूहरूले गरेको अध्यक्ष जयसवालले बताएका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर व्यासायीहरूले आफ्नो पीडा पनि सुनाएका छन्। व्यवसायीहरूले प्रजिअ रेग्मीलाई लिखित रूपमा बुझाएको ज्ञापनपत्रमा मुलुकमा रहेका व्यापार व्यवसायमा निकै कमी आइरहँदा आर्थिक संकटमा पर्दै गएको कुरा उल्लेख गर्दै रौतहट सदरमुकाम गौरमा रहेका मदिरा पसल तथा होटल व्यवसायलाई आठ बजेसम्म खुला राख्ने प्रावधानलाई परिवर्तन गर्दै १०.३० बजेसम्म खुला राख्नुपर्ने माग गरेका छन्।

गर्मी मौसममा आठ बजेपछि मात्रै ग्राहक आउने गरेको हुँदा व्यवसायीहरू पीडित बन्दै गएको अवस्थालाई मध्यनजर राख्दै राजस्व बढाउन तथा व्यवसायीहरूको व्यापार सञ्चालनका निमित्त साढे १० बजेसम्म पसलहरू खुला राख्नुपर्ने व्यवस्थापन गराउनका लागि प्रजिअ रेग्मीसँग संघले आग्रह गरेको हो।

व्यवसायीका समस्या राख्नुका साथै ज्ञापनपत्र बुझाउने टोलीमा व्यवसायी रितेश अग्रवाल, रवि गोपाली, जितेन्द्र साह, अमित केसरी लगायतको सहभागिता रहेको थियो। पर्साको वीरगन्जमा रात्रिबजारको अवधारणा आइसकेको र त्यसबाट व्यवसायीका साथै उपभोक्ताहरू पनि लाभान्वित भएको र राजस्व संकलनमा पनि सहयोग पुगेको हुँदा गौर बजारलाई पनि राति साढे दश बजेसम्म सञ्चालन गर्ने वातावरण बनाइदिन आग्रह गरिएको व्यवसायीको दाबी छ।

प्रकाशित: १३ वैशाख २०८१ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App