२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरामा सुरु भयो ‘सावर बञ्जी’

पानीको फोहरामा रमाउँदै बञ्जी गर्न मिल्ने गरी पोखरामा ‘सावर बञ्जी’ सुरु भएको छ। साहसिक गतिविधिमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ‘सावर बञ्जी’ सुरु गरिएको हाइग्राउन्ड एड्भेन्चर्स नेपालले बताएको छ।

हाइग्राउन्ड एड्भेन्चर्स नेपालले पोखरा महानगरपालिका–२५ हेम्जामा बञ्जी सञ्चालन गरिरहेको छ। त्यही बञ्जीमा पूर्वाधार थपेर सावर बञ्जी बनाइएको निर्देशक दिनेश महर्जनले जानकारी दिए। उनका अनुसार सावर बञ्जीमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटक बञ्जीका लागि हाम फालेपछि पानीको फोहरामा रमाउन पाउनेछन्।

क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो। डाँडाको ठुप्पोमा टावर खडा गरेर ४५ मिटर लामो पुल आकारको हामफाल्न मिल्ने ठाउँ बनाइएको छ। पुलको टुप्पोबाट ८२ मिटर तल रहेको याम्दी खोलाको किनारमा बनाइएको पानी पोखरीमाथि झुन्डिएर पर्यटकले मनोरञ्जन लिन सक्नेछन्। हाम फालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउने उनले बताए।

यसका लागि आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति ६ हजार पाँच सय रूपैयाँ तिर्नुपर्नेछ। यो शुल्कमा भिडियो र फोटो पनि उपलब्ध हुने उनले बताए। ‘पानीको झरनामा रमाएको अनुभव सावर बञ्जीमा लिन पाइन्छ। पानीको फोहरामाथि रमाउने हुँदा भिन्न अनुभव हुनेछ,’ उनले भने, ‘बञ्जी गरेका पर्यटकलाई तलबाट पानीको फोहराले छ्याप्नेछ।’

बुधबार सुरु भएको सावर बञ्जी उद्घाटनमा बोल्दै पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पोखराको पर्यटन क्षेत्रमा सावर बञ्जी नौलो प्रोडक्ट भएको बताए। ‘साहसिक पर्यटनको क्षेत्रमा नौलो प्रोडक्ट थपिएको छ। गर्मीको बेला पानीको फोहरामा रमाउन पाउँदा पर्यटक पक्कै खुसी हुनेछन्,’ परिषद् अध्यक्ष श्रेष्ठले भने, ‘साहसिक पर्यटकीय गन्तव्यको रूपमा पोखरालाई चिनाउन यस्ता प्रोडक्ट थपिन जरुरी छ।’

प्रकाशित: २ वैशाख २०८१ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App