२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कालीगण्डकी करिडोर : बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ।

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमि लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिन्छ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमि सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो । चौधवटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख धु्कमार झाले बताए।

“६ वटा खण्डमा ८५ किमि ग्राभेल र ४८ किमि सडक कालोपत्र भएको छ”, उनले भने, “यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएको छ। ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्।”

मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमि, खन्ती–टुकुचे–मार्फा खण्डमा नौ किमि आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ। मुस्ताङको घाँसा–कैकुखोला खण्डमा दुई किमि, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा छ किमि, बेनी–गलेश्वर खण्डमा चार किमि र गलेश्वर–बेगखोला खण्डमा तीन किमि डिबिएसडी प्रविधिको कालोपत्र भएको हो।

मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुङ्गा–बेनी खण्डका विभिन्न ठाउँमा तीन किमि बढी सडक ढलान भएको छ। मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–लस्ती खण्डमा ६ किमि, बेगखोला–तिप्ल्याङ खण्डमा दुई किमि र पोखरेबगर–तातोपानी खण्डमा एक किमि कालोपत्रको तयारी भएको छ।

तेह्र किमि दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा ६ किमि, मार्फा–जोमसोम खण्डमा ६ किमि सडक पनि चालु आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए।

कुल १० अर्ब लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब सात अर्ब खर्च भएको जनाइएको छ। 

प्रकाशित: १ वैशाख २०८१ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App