१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरामा सुरु भयो ‘सावर बञ्जी’

पोखराको हेम्जामा बुधबार सुरु भएको सावर बञ्जी। तस्बिरः नागरिक

पानीको फोहरामा रमाउँदै बञ्जी गर्न मिल्ने गरि पोखरामा ‘सावर बञ्जी’ सुरु भएको छ। साहसिक गतिविधिमा रमाउन चाहने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गर्दै ‘सावर बञ्जी’ सुरु गरेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले बताएको छ।

हाइग्राउण्ड एडभेन्चर्स नेपालले पोखरा महानगरपालिका–२५ हेम्जामा बञ्जी संचालन गरिरहेको छ। त्यही बञ्जीमा पूर्वाधार थपेर सावर बञ्जी बनाइएको निर्देशक दिनेश महर्जनले जानकारी दिए। उनका अनुसार सावर बञ्जीमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटक बञ्जीका लागि हाम फालेपछि पानीको फोहरामा रमाउन पाउनेछन्।

क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो। डाँडाको टुप्पोमा टावर खडा गरेर ४५ मिटर लामो पुल आकारको हामफाल्न मिल्ने ठाउँ बनाइएको छ। पुलको टुप्पोबाट ८२ मिटर तल रहेको याम्दी खोलाको किनारमा बनाइएको पानी पोखरीमाथि झुन्डिएर पर्यटकले मनोरञ्जन लिन सक्नेछन्। हाम फालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउने उनले बताए।

यसका लागि आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति ६ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ। यो शुल्कमा भिडियो, फोटो पनि उपलब्ध हुने उनले बताए। ‘पानीको झरनामा रमाएको अनुभव सावर बञ्जीमा लिन पाइन्छ। पानीको फोहरामाथि रमाउने हुँदा भिन्न अनुभव हुनेछ,’ उनले भने, ‘बञ्जी गरेका पर्यटकलाई तलबाट पानीको फोहराले छ्याप्नेछ।’

हाइग्राउण्ड एडभेन्चर्स नेपालले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रडक्टको रुपमा विभिन्न गतिविधि संचालन गर्न थालेको थियो। २०१२ मा जीपलाईन सुरु गरेको कम्पनीले त्यसपछि बञ्जी, स्वीङ र एटिभि लगायतका प्रडक्टमार्फत पाहुनालाई सेवा दिइरहेको उनले बताए। ‘पोखरालाई साहसिक पर्यटकीय गन्तव्य बनाउने गरि हामीले प्रडक्ट बिस्तार गरिरहेका छौ,’ उनले भने, ‘आगामी दिनमा पनि अरु पूर्वाधार थप्ने योजनामा छौ।’

सावर बञ्जी नेपालको पहिलो र एकमात्र हो। यसअघि बञ्जीको रुपमा पर्यटकले साहसिक अनुभव बटुलीसकेको भएपनि सावर बञ्जीका लागि भने पोखराको विकल्प नरहेको उनले बताए। ‘अब भने थप साहसिक अनुभूति लिनेमा हामी ढुक्क छौं। एकदिनमा हामीले करिब ६० जना पर्यटकलाई सावर बञ्जीको अनुभव दिलाउन सक्छौं,’ उनले भने।

हाइग्राउण्ड एडभेन्चर्स नेपालमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी गरेका छन्। कम्पनीले सावर बञ्जी संचालन गर्नका लागि मात्र थप करिब ५० लाख रुपैयाँ लगानी गरेको उनले बताए। यसअघि हाइग्राउण्ड एडभेन्चर्स नेपालले गरेको लगानी करिब ५० करोड रुपैयाँ पुगिसकेको निर्देशक महर्जनले बताए। यसमा जोडीले अंगालो मारेर बञ्जी गर्ने ’टेन्डम बञ्जी’ पनि संचालन हुँदै आएको थियो।

बुधबार सुरु भएको सावर बञ्जी उद्घाटनमा बोल्दै पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पोखराको पर्यटन क्षेत्रमा सावर बञ्जनी नौलो प्रडक्ट भएको बताए। ‘साहसिक पर्यटनको क्षेत्रमा नौलौ प्रडक्ट थपिएको छ। गर्मीको बेला पानीको फोहरामा रमाउन पाउँदा पर्यटक पक्कै खुसी हुनेछन्,’ परिषद् अध्यक्ष श्रेष्ठले भने, ‘साहसिक पर्यटकीय गन्तव्यको रुपमा पोखरालाई चिनाउन यस्ता प्रडक्ट थपिन जरुरी छ।’

प्रकाशित: २८ चैत्र २०८० १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App