४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यार्थीलाई अनधिकृत पुस्तक बेच्ने पसललाई ५० हजार जरिवाना

नेपालगन्जमा अनधिकृत रुपमा पुस्तक बिक्री गर्ने पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला अनुगमन टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२ बसपार्क रोडमा रहेको गौतम बुक्स सप्लायर्समा छापा मारेर ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई पीडित उपभोक्ताले फोन गरेर मौखिक रुपमा उजुरी गरेपछि अनुगमन गर्न टोली त्यहाँ पुगेको थियो। अनुगमनका क्रममा अनुमति प्राप्त नै नगरी पाठ्यपुस्तक बिक्री गर्ने सप्लायर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले जानकारी दिए।

निर्धारित सर्त पूरा गरेर सूचीकृत बिक्रेताको रुपमा अनुमति पाएका बिक्रेताले मात्र सरकारी पाठ्य पुस्तक बिक्री, वितरण गर्न पाउने व्यवस्था रहेको छ।

गौतम बुक्स सप्लायर्सले सो सर्त मात्र होइन, बिक्री गरिने पुस्तकको मूल्य सबैले देख्ने स्थानमा अनिवार्य टाँसेर राख्नु पर्ने दोस्रो सर्तको पनि बेवास्ता गरेको पाइएकाले जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए।

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रबाट उत्पादन र वितरण भइरहेको सरकारी विद्यालयका पाठ्य पुस्तकमा क्रेता तथा उपभोक्ताले अनिवार्य रुपमा थाहा पाउनुपर्ने बिक्री मूल्य जस्तो महत्त्वपूर्ण जानकारी समेत उल्लेख गरिएको छैन।

बिक्रेताले भनेको मूल्यलाई नै स्वीकार गर्नुपर्ने बाध्यतामा अभिभावक छन्। यस्तो व्यवस्थाबाट अभिभावक ठगिने सम्भावना उच्च रहकाले यस्तो संवेदनशील विषयलाई आफूले गृह मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रलाई मौखिक रुपमा अवगत गराइसकेको प्रजिअ पोखरेलले बताएका छन्।

‘निजी क्षेत्रका उत्पादनमा बिक्री मूल्य अनिवार्य उल्लेख भएको हुनुपर्ने तर सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले उत्पादन गरेको पाठ्य पुस्तकमा मूल्य उल्लेख नगरे पनि हुने व्यवस्था शैक्षिक उपभोक्ताको हितमा नरहेकाले बेलैमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ,’ उनले भने।

प्रकाशित: १८ वैशाख २०८१ २०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App