१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

साझा यातायातले एकैसाथ सञ्चालनमा ल्यायो ४० विद्युतीय बस

साझा सहकारी संस्था लिमिटेडले एकैसाथ पहिलो पटक काठमाडौं उपत्यकाभित्र ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। 

सरकारी स्वामित्वको साझाले मंगलबार एक कार्यक्रमका बिच ४० वटा विद्युतीय बस सञ्चालन र २४ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।

२४ वटा विद्युतीय चार्जिङ स्टेसनले १.१ मेगावाट विद्युत् खपत हुने साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले बताए। तत्कालीन प्रधानमन्त्री  केपी ओलीका पालामा साझा यातायातलाई विद्युतीय बस सञ्चालनका लागि ३ अर्ब रुपैयाँ रकम छुट्टाइएको थियो। उक्त सरकारी लगानी एकैसाथ खर्चिनुभन्दा तीन भागमा छुट्टाएर खर्च गर्ने साझाले निर्णय गरेको  थियो।

त्यसमध्ये पहिलो चरणमा ४० वटा विद्युतीय बस र २४ चार्जिङ डिपो सञ्चालनमा ल्याएको दीक्षितले बताए। सञ्चालनमा ल्याएका विद्युतीय बस ९ मिटरका छन् भने ५० जनासम्म यात्रुको क्षमता छ।

साझाका विद्युतीय बस पहिलो चरणमा काठमाडौं उपत्यकाका भित्री र बाहिरी सडकहरूमा गुडाइने उनले बताए। विद्युतीय बस चार्ज गर्न साझाको काउन्टर रहेको रानी जगदम्बा भवन पुलचोकमा राखिएको छ। त्यहाँ नेपाल विद्युत् प्राधिकरणका दुई वटा चार्जिङ प्वाइन्टहरू समेत साझा यातायातले प्रयोग गर्ने गरी स्थापना भएका छन्।

त्यस्तै, साझा यातायातले अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १२ मिटरवाला विद्युतीय बस खरिदका लागि प्रक्रिया समेत अघि बढाएको दीक्षितले बताए।

विद्युतीय बस तथा चार्जिङ प्वाइन्टको उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले औपचारिक रुपमा उद्घाटन समेत गरेका थिए।

सो अवसरमा मन्त्री महासेठले विगत ४ वर्षअघि केपी ओली सरकारले अघि बढाएको साझामार्फत विद्युतीय बस सञ्चालनको योजनाले मूर्त रूप लिएको बताए। स्वच्छ वातावरण र व्यापार घाटा कम गर्न विद्युतीय परिवहन अहिलेको आवश्यकता रहेको उनले बताए।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोलको तुलनामा विद्युतीय सवारी सञ्चालनको लागत १० गुणा सस्तो पर्ने बताए।

साझा यातायातले मास ट्रान्सपोटेसनमा विद्युतीय सवारीलाई बढवा दिएकाले छिट्टै नाफामा जाने उनले बताए। त्यस्तै, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सुरुवात देखि नै महानगरले साझालाई सहयोग गर्दै आएको बताए। उनले ललितपुरभित्र सघन बस सो सञ्चालनका गर्नका लागि साझा यातायातलाई रकम उपलब्ध गराइसकेको उनले बताए।

प्रकाशित: २७ चैत्र २०८० १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App