१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाली पुँजी पलायन हुन दिँदैनौं : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजी पलायन हुन नदिने बताएका छन्।

दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिन लागेको बताए।

उनले भने, ‘नेपालको पुँजी पलायन हुन दिँदैनौं। लगानीको पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिँदै छौं, बाह्य लगानीकर्तालाई पनि आह्वान गरेका छौं, बाह्य पुँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौं।’

मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तीव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताए। उनले लगानीसँग सम्बन्धित कानुन संसदमा छलफलका क्रममा रहेको जानकारी दिए।

लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ संकल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालको स्वाभिमानसित नबाझिने गरी वैदेशिक लगानी भित्र्याइने बताए। उनले नेपालमा पर्यटन, ऊर्जा तथा अन्य स्वदेशी वस्तु प्रयोग गरेर उद्योग सञ्चालनको वातावरण राम्रो रहेको बताए।

जनतामा रहेको निराशा चिर्दै सरकार आशा जगाउँदै ठोस योजनाका साथ अघि बढेको उल्लेख गर्दै मन्त्री भण्डारीले राष्ट्रिय समस्याको पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिए। उत्पादन भएका वस्तुले बजार नपाउँदा र पुँजी चलायमान नहुँदा आर्थिक गतिविधि घटेकामा उनले चिन्ता व्यक्त गरे।

चालु अधिवेशनमा कानुन संशोधन गरेर अहिलेको आर्थिक समस्या समाधान गर्न सरकार लागिपरेको मन्त्री भण्डारीको भनाइ थियो। तीन तहका सरकारबीच समन्वय गरेर सङ्घीय सरकार अघि बढेको उनले बताए। –रासस

प्रकाशित: २३ चैत्र २०८० १८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App