२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आर्थिक वृद्धि चार प्रतिशतमा सीमित

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको भए पनि चालु आवको दोस्रो त्रैमासिकमा चार प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ०.७ प्रतिशतले वृद्धि हुने अनुमान छ।

कृषि उत्पादनमा भएको वृद्धि र विदेशी पर्यटक आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले अर्थतन्त्रको धनात्मक वृद्धि भएको जनाएको छ। कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्ष २०८०-८१ को चालु आवको पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ वटामध्ये ६ वटा औद्योगिक क्षेत्रहरूमा आएको संकुचनको प्रभाव कुल गार्हस्थ्य उत्पादनमा देखिएको छ। यसको कारण अर्थतन्त्रमा सामान्य वृद्धि भएको छ।

यस आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ। अतिरिक्त व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको जनाइएको छ। यता विश्व बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित हुनेछ।

निजी क्षेत्रको लगानी न्यून रहेकाले नेपालको आर्थिक वृद्धिदर अपेक्षितरूपमा बढ्न नसकेको विश्व बैंकले सार्वजनिक गरेको कन्ट्री डेभपलमेन्ट अपडेटमा उल्लेख छ। विश्व बैंकका अनुसार सन् २०२५ मा नेपालले ४.६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नसक्ने अनुमान गरेको छ। विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिले उपभोगमा सहयोग पुर्‍याएकाले सो वृद्धिदर हासिल हुने अपेक्षा गरिएको हो।

नेपालका प्रमुख रोजगार गन्तव्य भारत, खाडीका मुलुकहरू र मलेसियाको आर्थिक वृद्धिदर सुस्त रहेकाले विप्रेषण र पर्यटनमा गिरावट आए लक्ष्य हासिल गर्न कठिन हुने विश्लेषण छ। आर्थिक वृद्धिदर हासिल गर्न विभिन्न अन्तर्राष्ट्रिय चुनौतीहरू रहेको जनाएको छ। नेपालको व्यावसायिक वातावरण सुधारको उद्देश्यसहित निजी लगानी आकर्षित गर्न विश्व बैंकले सुझाव दिएको छ।

दक्षिण एसियामा भने आगामी आर्थिक वर्ष ६ प्रतिशत र २०२५ मा ६.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण विश्व बैंकको छ। दक्षिण एसियाली मुलुकहरूमा निजी लगानीमा वृद्धिमा सुस्तता आएको र यस क्षेत्रले तीव्ररूपमा बढ्दो जनसंख्याका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको विश्व बैंकले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०८० ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App