१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताएका छन्।

नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उनले नेपाली पोसाकको प्रयोग पहिलो चरणमा सबै मन्त्रीले गर्ने बताए।

वर्तमान सरकार स्वदेशी उत्पादन बढाउने ध्येयका साथ लागेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘हप्तामा दुई दिन नेपाली कोट, पाइन्ट, जुत्ता, टोपी शिरदेखि पाउसम्म राज्यका सबै निकायमा उपभोग गर्ने नीति हामी ल्याउँदै छौँ, पहिला सबै मन्त्री त्यसपछि सांसद र स्थानीय तहका जनप्रतिनिधिले लगाउने छन्।’

उनले नेपाली बजारमा स्वदेशी उत्पादन क्षमताको अध्ययन गरी सोहीअनुसार बजार वृद्धि गरेर राज्यका हरेक निकायमा सो पोसाक लगाउन अनिवार्य गरिने बताए। ‘नेपाली उद्योगको उत्पादनको अवस्था अध्ययन गरेर त्यसपछि उत्पादनमा प्रोत्साहन गरिने छ’, उनले भने।

नेपाली बजारमा निर्यातभन्दा आयात उच्च रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सरकार निर्यात प्रवद्र्धनमा केन्द्रित हुने बताए। सरकारको मुख्य धेय जनतामा उत्पन्न निराशालाई आशामा बदल्नु रहेको उनको भनाइ थियो। सरकारले अघि सारेको उत्पादन वृद्धिका लागि ‘स्टार्ट अप’ नीति कार्यक्रमलाई केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

‘प्रधानमन्त्री नेपाली उत्पादन कार्यक्रम’ आगामी आर्थिक वर्षबाट प्रभावकारी बनाउने गरी अर्को मन्त्रिपरिषद् बैठकबाट कार्यविधि पारित गरेर नेपालका स्वदेशी वस्तु उत्पादनमा अभिप्रेरित गर्न अगाडि बढाइने उनले जानकारी दिए।

नेपाली वस्तुले बजार नपाएको सन्दर्भ उल्लेख गर्दै उनले उद्योग मन्त्रालयबाट निर्यातमुखी व्यवसाय सञ्चालनका लागि आवश्यक तालिम तथा सीप व्यवस्था गरिने बताए। –रासस

प्रकाशित: १६ चैत्र २०८० १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App