२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एबिसी पदयात्रामा पाहुना खचाखच

अन्नपूर्ण बेस क्याम्प (एबिसी) पदमार्गको प्रवेशद्वार मानिने घान्द्रुकभन्दा माथि आधार शिविरसम्म अहिले स्वदेशी तथा विदेशी पाहुनाको भीडभाड छ। घान्द्रुकसम्म आन्तरिक पाहुनाको भीडभाड छ भने आधार शिविर क्षेत्रमा विदेशी पाहुनाको बाहुल्य रहेको त्यहाँका व्यवसायीले बताएका छन्।  

एबिसी पदमार्ग क्षेत्रका होटलको अकुपेन्सी अनुपात ९० प्रतिशत हाराहारी रहेको उनीहरूले बताएका छन्। ‘यो पदयात्राको सिजन पनि हो। त्यसैले अहिले पाहुनाको घुइँचो लागेको छ। आन्तरिक र बाह्य दुवै खालका पाहुना अहिले आएका छन्,’ घान्द्रुकका पर्यटन व्यवसायी किसम गुरुङले भने, ‘घान्द्रुकसम्म आन्तरिक पाहुनाको घुँइचो छ।

आधारशिविरमा भने विदेशी पाहुना बढी छन्।’ अहिले घान्द्रुकका सबैजसो होटलमा पाहुना रहेको उनले बताए। ‘घान्द्रुकका होटलको अकुपेन्सी करिब सतप्रतिशत छ,’ उनले भने, ‘आन्तरिक पर्यटकले घान्द्रुकलाई पूर्ण रूपमा साथ दिएका छन्।’

पदयात्रामा खचाखच पर्यटक पुगिरहँदा पोखराका होटलको अकुपेन्सी भने ५० प्रतिशत हाराहारीमा रहेको व्यवसायीले बताए। ‘यो बेलाको अकुपेन्सी कम्तिमा ७० प्रतिशत हुनुपर्ने हो तर छैन। अहिले पोखराका होटलको अकुपेन्सी अनुपात बढीमा ५० प्रतिशत मात्र हो। त्यो पनि एकनासको छैन,’ माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईले भने, ‘पोखरामा होटल थपिँदै गएका छन्। 

त्यही भएर पाहुना पनि बाँडिएका छन्। पाहुना बाँडिएकाले पनि सबैलाई पर्याप्त हुन सकेको छैन। पदयात्रामा भने सीमित होटल हुने गरेका छन्। ती होटलमा बस्नुको विकल्प पाहुनालाई हुँदैन, त्यसैले सानो संख्याले पनि पाहुनाको भीडभाड देखाउँछ।’  

अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्ने माछापुछ«े आधारशिविर (एमबिसी) का व्यवसायी दिलीप गुरुङका अनुसार मंगलबार बेलुकी अन्नपूर्ण आधारशिविरमा मात्र कम्तिमा तीन सय जना पाहुना थिए। तीमध्ये ५० जनाजति आन्तरिक र बाँकी विदेशी थिए। 

‘विदेशीमा पनि अहिले कोरियन, चिनियाँ र मलेसियन पाहुना बढी छन्। आन्तरिक पनि थपिएका छन्। अझै युरोपियन मुलुकका पाहुना पनि थपिँदा यो भिडभाड अझ बढ्नेछ,’ उनले भने, ‘आधारशिविरका होटलको अकुपेन्सी करिब शतप्रतिशत नै रहेको छ। यो सिजनमा पाहुना अभाव भएको थाहा छैन।’  

उनका अनुसार युरोपियन मूलका पाहुना आउन थाल्ने हो अबका केही दिनपछि त्यहाँको भीडभाड अझै बढ्नेछ। किनभने सिजन भर्खर सुरु भएको छ। अझै दुई महिना जति पाहुना आउने समय बाँकी नै छ। माछापुछ«े आधारशिविरमा फिस्टेल गेष्टहाउस चलाएका गुरुङले बुधबार बिहान कम्तिमा एकसय जनालाई खाना खुवाएको समेत बताए। ‘यो बेला हामीलाई निकै व्यस्त बनाएको छ। अहिले व्यस्त हुने समय पनि हो। अघिल्ला केही महिना सुनसान अवस्थामा रहेको पदमार्ग अहिले भरिभराउ छ,’ उनले भने।  

मोटरबाटोले सिधै गन्तव्यसम्म

केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रामा जाने अधिकांश पाहुनाले पोखरालाई अन्तिम बसाइको गन्तव्य बनाउँथे। पोखरामा बास बसेर बिहानै पदयात्राका लागि निस्कन्थे। पदयात्रा सकेर फर्किंदा पनि पोखरालाई नै अन्तिम बसोबासस्थल बनाउँथे र भोलिपल्ट गन्तव्यतर्फ लाग्थे तर अहिले पाहुनाको यात्रा शैली बदलिएको छ। अहिले आन्तरिक तथा विदेशी पाहुनाले पोखरालाई सुरुवाती र अन्तिम गन्तव्य नै नबनाइ पदयात्रा पूरा गर्ने गरेका छन्।

प्रकाशित: ११ चैत्र २०८० ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App