१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालमा वैदेशिक लगानी भित्राउन अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउनका लागि सहयोग गर्न १९ देशका गैर आवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाई आग्रह गरेका छन्।

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा लुम्बिनी केबलकारको माथिल्लो स्टेसन वसन्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले  वैदेशिक लगानीका लागि नेपालमा अवसरहरू बढिरहेको भन्दै राजदूतहरूको ध्यानाकर्षण गराएका हुन्।

अवैतनिक कन्सुलर कप्र्स नेपाल (एचसिसिएन) का भाइस डीन समेत रहेका अध्यक्ष ढकालले पर्यटन,जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवर्द्धन गरिरहेकाले लगानीकर्ताहरू जुटाउन सामूहिक पहल गर्नु पर्ने समय आएको बताए।

कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसरहरू सृजना भएको पनि अध्यक्ष ढकालको भनाइ थियो।

बुद्धको जन्मस्थल लुम्बिनी पवित्र आध्यात्मिक स्थल सहित यो क्षेत्रको सांस्कृतिक र आर्थिक संवाहकको रूपमा प्रवर्द्धन गर्न समेत अध्यक्ष ढकालले लुम्बिनी कन्केलभ सहयोगी हुने विश्वास व्यक्त गरे। विश्वको जनसंख्याको एक तिहाइ बौद्ध धर्मावलम्बी रहेकाले उनीहरुलाई लुम्बिनी ल्याउन सरकारले विशेष योजना बनाउनुपर्ने ढकालले बताए।

अध्यक्ष ढकालले नेपालमा हिल स्टेसनहरूमा केबलकार सँगै लक्जरी होटेल र क्यासिनोले भारतीय र तेस्रो मुलुकका पर्यटकलाई आकर्षित गर्न सकिने भएकाले आईएमई ग्रुपले सातै प्रदेशमा केबलकार बनाउने क्रममा रहेको बताए। 

निकट भविष्यमा नेपाल सरकार, लगानी बोर्ड र उद्योग वाणिज्य महासङ्घ समेतले आयोजना गर्न गइरहेको लगानी सम्मेलनलाई नेपालमा विदेशी लगानी भित्राउने अवसरको रुपमा सदुपयोग गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका छन्। यो सम्मेलनले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न सरकारलाई दबाब पुग्ने पनि ढकालले औँल्याए। 

सो अवसरमा अवैतनिक कन्सुलर कप्र्स नेपालका डिन विष्णु अग्रवालले भारतीय र अन्य देशका पर्यटकका लागि नेपालका हिल स्टेसनहरूमा पर्यटकीय पूर्वाधारले विदेशी पर्यटक आकर्षित गर्न सक्ने असीमित सम्भावना रहेको बताए। उनले निजी क्षेत्रको लगानीबाट हुने आम्दानीले सरकारलाई पनि प्रतिफल दिने भएकाले निजी क्षेत्रमैत्री नीति र कानून बन्नुपर्ने बताए।

कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैर आवासीय राजदूतहरू सहभागी थिए।

विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन्।

प्रकाशित: ८ चैत्र २०८० १९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App