१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुलुकको समग्र अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको सात महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले मुलुकको अर्थतन्त्र सबल हुँदै गएको देखाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा विदेशी विनियम सञ्चितिमा पनि उल्लेखनीय सुधार देखिएको छ। २०८० को असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब विदेशी विनियम सञ्चिति रहेकोमा चालु आवको सात महिना माघ मसान्तसम्मको अवधिमा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब रूपैयाँ पुगेको छ।

नेपाली रकममा मात्रै नभएर अमेरिकी डलरमा पनि विदेशी विनियम सञ्चिति बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तसम्ममा १४.२ प्रतिशतले वृद्घि भई दुई खर्ब २१ अर्ब दुई करोड कायम भएको छ।

चालु आवको सात महिनामा विदेशी विनियम सञ्चिति मात्रै नभएर रेमिट्यान्स पनि सुधारको संकेत देखिएको छ। चालु आवको सात महिनामा २१.६ प्रतिशतले वृद्धि भई आठ खर्ब ३९ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकका अनुसार चालु आवको सात महिनामा चालु खाता एवम् शोधनान्तर स्थिति अवधिमा चालु खाता एक खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार चालु आवको सात महिनाको अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २४ करोडले बचतमा रहेको छ। आर्थिक वर्ष २०८०÷८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखाएको छ।

मूल्यवृद्धि घट्यो

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको सात महिना र चालु आवको सात महिनामा उपभोक्ता मूल्यमा मूल्यवृद्धि दुई प्रतिशतले घटेको देखाएको छ। राष्ट्र बैंकका अनुसार २०८० माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो। 

प्रकाशित: २८ फाल्गुन २०८० ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App