१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

निजी क्षेत्रको मनोबल बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल बढाउन नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार पुनलाई भेटेर विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताए।

पुनसँगको भेटवार्तामा अध्यक्ष ढकालले विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना शहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनर्कर्जा सुविधा विस्तार गर्नुपर्ने बताए।

सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन, उनले भने, ‘त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ।’

उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुन समक्ष आग्रह गरे। ढकालले अर्थमन्त्रीलाई कोभिडको समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भैसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए।

अध्यक्ष ढकालले मन्त्री पुनलाई निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने धारणा राखे। निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए।

अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने जानकारी दिए।

भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताए। उनले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने कुरामा आफ्नो प्रतिबध्दता रहेको बताए।

मन्त्री पुनले कुनै समुदायप्रति अपराधी जस्तो व्यवहार नगरिने बताए। निजी क्षेत्रमाथि धरपकड भैरहेको अध्यक्ष ढकालको प्रश्नमा मन्त्री पुनले पहिले अनुसन्धान पूरा नगरी थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायहरूसँग पनि समन्वय गरिने प्रतिवद्धता जनाए।

गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न नहुने उनको जिकिर थियो। 

प्रकाशित: २५ फाल्गुन २०८० ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App