पाँच वर्षअघिसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका– ५ थकारी थुंगाकी ३४ वर्षीया तिलकुमारी खुम्चाहा मगरको आम्दानीको स्रोत परम्परागत खेती मात्र थियो। उनी अमरिसो र खुर्सानी सामान्य रूपमा खेती गर्थिन्। यी खेतीबाट प्राप्त आम्दानीले उनलाई जीविका चलाउन मुस्किल पथ्र्यो।
पाँच वर्षअघि गाउँपालिकामार्फत हेफर नामक गैरसरकारी संस्थाबाट ५० प्रतिशत अनुदानमा उनले चारवटा बाख्रा पाइन्। बाख्राखोर व्यवस्थित बनाउन उनलाई थप अनुदान पनि मिल्यो।
हरेक वर्ष बाख्रा थपिँदै गए। अहिले उनको फार्ममा ५५ वटा बाख्रा छन्। बाख्रापालनबाट उनको प्रतिवर्ष एक लाखदेखि अढाई लाखसम्म आम्दानी हुन्छ। यो उनको सिधा आम्दानी मात्र हो। बाख्राको मलबाट छुट्टै आम्दानी हुने उनी बताउँछिन्।
बाख्रापालन थाल्नुअघि तिलकुमारीका पति सुनबहादुर वैदेशिक रोजगारीमा जान्थे। बाख्रापालनकै कारण उनको परिवारमा आर्थिक परिवर्तन आयो। बाख्रा बेचेकै कमाइले घर चलेपछि पति विदेश जान छाडे। घर खर्चपछि बचेको पैसा बैंकमा जम्मा गरेको उनले सुनाइन्। मल बेचेर पनि पैसा मिल्ने गरेको उनले बताइन्।
हुप्सेकोट–४ रम्सी रिपालकी ३८ वर्षीय पार्वती थापा मगरले पनि व्यावसायिक रूपमा बाख्रा पाल्दै आएकी छन्। पाँच वर्षअघि उनको आम्दानीको स्रोतमा अदुवा खेती थियो। केही बाख्रा परम्परागत तरिकाले पालेकी थिइन्। त्यतिबेलाको आम्दानीले घरखर्च धान्दैनथ्यो। घरखर्च नचलेकै कारण पति वैदेशिक रोगजारीमा जान बाध्य थिए।
पाँच वर्षदेखि व्यावसायिक रूपमा बाख्रा पालन गरेपछि उनको परिवारमा मनग्गे आम्दानी हुन थालेको छ। वर्षमा चार÷पाँच लाख रूपैयाँ आम्दानी बाख्रा बेचेरै हुन्छ। बाख्राको मल बेचेर पनि थप आम्दानी हुन्छ। बाख्रापालनबाट हुने आम्दानीबाटै छोराछोरीले राम्रो स्कुलमा पढ्न पाएका छन्। बचेको पैसा बैंकमा जम्मा गर्ने परिस्थिति बनेको पनि मगरले सु्नाइन। बाख्रा व्यवसाय फस्टाएपछि उनका पति पनि विदेश जान छाडेका छन्।
पाँच वर्षअघिसम्म पाल्पाको काजीपौवाकी ३६ वर्षीय पार्वती गन्धर्वको आम्दानीको स्रोत खासै केही थिएन। उनले वर्षभरिमा बढीमा दुइटासम्म बंगुर पाल्थिन्। परिवार पतिको कमाइको भरमा चलेको थियो।
पाँच वर्षअघि हेफरले बंगुरको खोर बनाउन ४० हजार रूपैैयाँ दियो। त्यो पैसाले उनले व्यवस्थित खोर बनाइन्, बर्सेनि बंगुरका पाठा थप्दै गइन्। अहिले उनको फार्ममा आठवटा बंगुर रहिरहन्छन्। वर्षमा कम्तीमा आठदसवटा बिक्री गर्छिन्।
बंगुर बेचेबापत वर्षमा ४ देखि ५ लाख रूपैयाँ आम्दानी हुन्छ। उनी अहिले आर्थिक रूपमा आत्मनिर्भर बनिसकेकी छन्। यो आम्दानीबाट दुईवटा छोरी पढाउने, घरखर्च गर्ने गरेकी उनले पहिलापहिला लागेको ऋण पनि तिरिसकेकी छन्। ‘अब व्यवसायलाई अझ ठुलो बनाएर आम्दानी बढाई रकम बचाउनुपर्छ,’ उनले भनिन्।
यही योजनाका साथ उनी अघि बढिरहेकी छन्। गन्धर्वका अनुसार अहिले उनका जेठानी–देउरानीले पनि बंगुरपालन व्यवसाय गरिरहेका छन्। उनीहरूले पनि पार्वतीकै सरह आम्दानी गर्दै आएका छन्। ‘सबै मिलेर एकैथरी व्यवसाय गरेका छौं,’ पार्वतीले भनिन्, ‘मनग्गे आम्दानी भएको छ।’
पशुपालनबाट आर्थिक रूपमा आत्मनिर्भर हुने उल्लिखित तीन महिला मात्र छैनन्, हुप्सेकोट गाउँपालिकाका सबैजसो महिलाको आम्दानीको मुख्य स्रोत नै बाख्रापालन हो। त्यो गाउँमा १० वटादेखि सयौं संख्यामा बाख्रा पाल्नेहरू रहेको गाउँपालिका सदस्य शोभा मल्ल बताउँछिन्।
गाउँमा सबैजसो बाख्रा फार्म महिलाको नेतृत्वमा सञ्चालन भइरहेको मल्लले जानकारी दिइन्। वडा सदस्य मल्लको आफ्नै बाख्रापालन व्यवसाय पनि छ। आमा समूहमार्फत बाख्राका पाठा उपहार पाएपछि गाउँमा थालिएको व्यावसायिक बाख्रा पालन अहिले प्रायः सबैको आर्थिक भरोसा बनेको छ। फार्मबाट बाख्रा किनबेच गर्ने काम सहकारीमार्फत हुने हुँदा अप्ठेरो पनि नरहेको किसानहरू बताउँछन्।
सन् १९९७ देखि हेफर इन्टरनेसनल नामक गैरसरकारी संस्थाले नेपालका विभिन्न जिल्लामा महिला सशक्तीकरण कार्यक्रममार्फत पशुपालन, कृषि तथा अन्य व्यवसायको तालिम दिनुका साथै नेतृत्व विकासको कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सोही परियोजनाअन्तर्गत नेपालका ५० जिल्लामा महिलाहरूलाई आवश्यकताअनुसार पशुपालन, कृषिजस्ता क्षेत्रमा कार्यक्रम दिने क्रममा हुप्सेकोट गाउँदेखि विभिन्न गाउँमा यस्ता कार्यक्रम सञ्चालन भएका छन्। यो कार्यक्रमले उत्पादन, बजार र बचत व्यवस्थापनका लागि सहरजीकरण गरी महिलालाई आर्थिक रूपमा आत्मनिर्भरतातर्फ उन्मुख गराइरहेको हेफरका कम्युनिकेसन तथा नलेज (सूचना तथा ज्ञान) प्रबन्धक प्रवीण गुरुङले बताए।
यस्ता कार्यक्रमले गाउँ तहका सीप र साधन उपयोग गरी महिलाहरूमा आर्थिक तथा सामाजिक सशक्तीकरण गर्न सम्भव बनाएको गुरुङको भनाइ छ।
यही मोडालिटीअनुसार हेफरले नेपालमा दुध डेरी व्यवसायमा महिलाहरूको सहभागिताका लागि तालिम तथा सहजीकरण गर्ने आगामी योजना बनाएको गुरुङले बताए। ‘अभियानको एउटै उद्देश्य महिलालाई चुलाचौकोबाट बाहिर निकालेर आर्थिक तथा सामाजिक रूपमा सशक्तीकरण गर्नु हो,’ उनले भने। महिलाहरूको व्यावसायिक कृषि र पशुपालनमा सहभागिता बढ्दै गएपछि वैदेशिक रोजगारीमा गएका पतिसमेत स्वदेश फर्केर पत्नीकै व्यवसायलाई सघाइरहेको गुरुङले बताए।
सरकारले विभिन्न परियोजनामार्फत महिलाहरूका बीचमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरेको भए पनि पर्याप्त नहुनुले अपेक्षित परिवर्तन ल्याउन नसकेको कृषि मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्कीले बताए।
कृषि तथा पशुपालन नेपालको अर्थतन्त्रको मूल आधार भएको र यो क्षेत्रमा महिलाको ठुलो योगदान रहेको सचिव कार्की बताउँछन्। विभिन्न परियोजनामार्फत कार्यक्रम छरिएर जानु, कृषि क्षेत्रमा सरकारले ३ प्रतिशत मात्र बजेट छुट्याउनुजस्ता कमजोरी रहेकाले अपेक्षित विकास भने हुन नसकेको उनको भनाइ छ।
कार्कीका अनुसार युवाहरू वैदेशिक रोजगारीमा जानु र पत्नी बजारमा आएर बच्चा पढाउने क्रमले कृषि तथा पशुपालन क्षेत्रमा महिलाको योगदान बढ्न सकेको छैन।
कृषि उत्पादनको बजार व्यवस्थापन र पशुको बिमाको व्यवस्था नहुनुले पनि यो क्षेत्रमा सहभागिता बढाउन सकिएको छैन। तर कृषक तथा पशुव्यवसायीलाई स्थानीय सरकारबाटै प्रोत्साहन र बिमाको व्यवस्था हुने हो भने नेपालको ६० प्रतिशत कृषिमा आधारित जनसंंख्या थप आत्मनिर्भर हुने कार्कीको दाबी छ।
प्रकाशित: २० फाल्गुन २०८० ०६:५९ आइतबार